मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रासस
२०७७ असोज २९ बिहीबार १४:३१:००
Read Time : > 1 मिनेट
विश्व

थाइल्यान्डमा संकटकाल घोषणा, केही प्रभावशाली नेता पक्राउ 

Read Time : > 1 मिनेट
रासस
२०७७ असोज २९ बिहीबार १४:३१:००

थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरुद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर संकटकाल घोषणा गरेको हो। 

शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा संकटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् । विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएको छ । नागरिक अधिकारका लागि भन्दै उनीहरूले बिहीबार बिहानैदेखि प्रदर्शन गरेका थिए ।

प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको स्वीकार गरेको छ । राष्ट्रिय प्रहरी प्रवक्ता यिङग्युस थप्जुमनोङले भने, ‘आन्दोलनकारीले आफ्ना गतिविधिलाई हिंसात्मक बनाएपछि शान्ति तथा सुव्यवस्था कायम गर्न कम्तीमा २२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिई  हिरासतमा राखिएको छ । आवश्यक अनुसन्धानपछि उनीहरूलाई रिहा गरिनेछ ।’
थाइल्यान्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भए पनि प्रदर्शनकारीहरूले राजा महा वाचिरालंकनविरुद्ध नाराबाजी गरेपछि सरकारले शान्ति र सुव्यवस्था कायम गर्न संकटकाल लगाउनुपरेको बताएको छ ।

युवाहरूले प्रजातन्त्रका लागि भनी गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा संकटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीले दाबी गरेका छन् । 

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै प्रदर्शन गरेका थिए भने सरकारले देशमा शान्ति र सुव्यवस्था कायम गर्न संकटकाल लगाउनुपरेको बताएको छ ।

हजारौँ विद्यार्थी तथा सरकारविरोधी कार्यकर्ता बैंककमा भेला भई शाही मोटर गुड्ने मार्ग नै अवरुद्ध पार्ने उद्देश्यले सडकमा उत्रिएर तीन औँला उठाएर  सांकेतिक रूपमा विरोध प्रदर्शन गर्नुका साथै राजा र सरकारका अधिकार कटौतीसमेतको पक्षमा नाराबाजी गरेका थिए । 

प्रदर्शनकारीले नागरिकका अधिकारका लागि बैंककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेका छन् भने सरकारले उनीहरूलाई प्रदर्शनका लागि भेला हुन नदिने रणनीतिस्वरूप संकटकालको घोषणा गरेको हो ।