१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज २९ बिहीबार ०९:२९:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपकुलपतिको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी

Read Time : > 1 मिनेट
२०७७ असोज २९ बिहीबार ०९:२९:००

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको उपकुलपति कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । उपकुलपति डा. राजेन्द्रराज वाग्लेले अनियमित तवरले डिन नियुक्ति गरेको भन्दै कर्मचारी कल्याणकारी समाजले अस्पताल प्रशासनमा ताला लगाएको हो । 

सोमबार उपकुलपति डा. वाग्लेले जनस्वास्थ्य संकायको डिन नियुक्त गरेका थिए ।  त्यसको विरोधमा तालाबन्दी गरिएको हाे । अस्पताल प्रशासन, रजिस्ट्रार, उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षदेखि डिनको कार्यालयमा समेत तालाबन्दी गरिएको छ  । 

तालाबन्दीसँगै अस्पतालमा सबै प्रशासनिक कामकाज ठप्प भएका छन् । प्रतिष्ठानमा दुईवटा डिन नियुक्त भइसकेका थिए । उनीहरूलाई जनस्वास्थ्य संकायको जिम्मेवारी दिन सकिने अवस्था हुँदाहुँदै उपकुलपतिले  तेस्रो डिन नियुक्त गरेपछि  कर्मचारी आन्दोलित भएका हुन् ।

उपकुलपति डा. वाग्लेले काठमाडौं सम्पर्क कार्यालयबाट अर्को डिन नियुक्त गरेपछि कर्मचारी आन्दोलित भएका हुन् । मंगलबार कर्मचारी कल्याणकारी समाजले डिन नियुक्ति फिर्ता लिन २४ घन्टे अल्टिमेटम दिएको थियो । उपकुलपति वाग्लेले पछिल्लो चौबीस घन्टामा कुनै प्रतिक्रिया नदिएपछि बाध्य भएर ताला लगाउनुपरेको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामकान्त उपाध्यायले बताए । 

असोज २६ गते काठमाडौं कार्यालयबाटै उपकुलपतिले डिन नियुक्त गरेका थिए । ‘सो कदम फिर्ता लिन २४ घन्टाको अल्टिमेटम दिएका थियाैँ,’ अध्यक्ष उपाध्यायले भने, ‘हाम्रो माग सम्बोधन नभएपछि अस्पताल प्रशासन तथा शैक्षिक प्रशासनमा अनिश्चितकालीन ताला लगाउन बाध्य भयौँ ।’

कर्मचारी समाजले प्रतिष्ठानमा भएकाे डिन नियुक्तिलगायत फर्जी कर्मचारी भर्ना प्रक्रियाको अनियमितताविरुद्धको आन्दोलनमा साथ दिन जुम्लावासीलाई आग्रह गरेको छ । उपकुलपति डा. वाग्ले डिन नियुक्तिका विषयमा जिम्मेवार नभएको आरोपसमेत लगाइएको छ ।

अनियमित तवरले नियुक्त गरिएका स्वास्थ्य संकायका डिनलगायतका सम्पूर्ण फजुल नियुक्ति खारेज गर्नुपर्ने, कर्मचारी कल्याणकारी समाजले यसअघि राखेका मागहरू कार्यान्वयन गर्नुपर्ने  र कोरोना नियन्त्रणमा खटिने सम्पूर्ण चिकित्सक तथा कर्मचारीको जोखिमभत्ता तत्काल उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।  

यति गर्दा पनि मागको सम्बोधन नभएमा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्ने कर्मचारी कल्याणकारी समाजले चेतावनी दिएको छ ।