मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
अजित अधिकारी काठमाडौं
२०७७ असोज २८ बुधबार २१:३६:००
Read Time : > 2 मिनेट
अर्थ डिजिटल संस्करण

देशैभर दसैँ लक्षित बजार अनुगमन तीव्र

Read Time : > 2 मिनेट
अजित अधिकारी, काठमाडौं
२०७७ असोज २८ बुधबार २१:३६:००

नजिकिँदै गएको दसैँमा खाद्य वस्तुमा हुन सक्ने मूल्यवृद्धि, कार्टेलिङ र कृत्रिम अभावलाई नियमन गर्न वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण, जिल्ला प्रशासन कार्यालय, नगरपालिका तथा महानगरपालिकालगायतले अनुगमनलाई तीव्रता दिएका छन् ।

प्रमुख अनुगमनकारी निकाय वाणिज्य विभागले पछिल्लो समय दैनिक ३–४ टोली परिचालन गरी अनुगमन गरिरहेको महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । टोलीले बजार मूल्य संकलन गर्ने, व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, साइनबोर्ड, प्याकेजिङ वस्तुमा लेबललगायतका विषय हेर्ने गरेका छन् । विभागबाट काठमाडौं उपत्यकामा खटिएको टोलीले आइतबार १३ हजार ८ सय ७५ र शुक्रबार १ हजार ७ सय ६० रुपैयाँ मूल्यबराबरको उपभोग्य मिति सकिएको खाद्यान्न नष्ट गरेको जनाएको छ । विभागले अहिले उपत्यकामा दैनिक २०–२१ फर्मको अनुगमन गरिरहेको जनाएको छ । त्यस्तै, विभागमातहतको बाँके कार्यालयले जुम्लाको चन्दननाथ नगरपालिकामा किराना, खाद्यान्न, हार्डवेयर, होटेललगायतमा अनुगमन गरी मिति सकिएका ९० हजार रुपैयाँबराबरको सामग्री नष्ट गरेको जनाएको छ ।

सोही कार्यालयले नेपालगन्ज क्षेत्रमा २२ असोजमा अनुगमन गरी सुकमेल, काजुलगायत मिति सकिएको पाएपछि २० हजार जरिवाना र २० हजारको अखाद्य वस्तु नष्ट गरेको जनाएको छ ।

चाडपर्व नजिकिएपछि प्रत्येक जिल्ला प्रशासन कार्यालयले अनुगमन तीव्र बनाएको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल नेतृत्वको अनुगमन टोलीले २२ असारमा अनुगमन गरेर मिति सकिएका, लेबल प्रस्ट नभएका, दर्ता–नवीकरणमा लापरबाही गरेका ५ फार्मेसीलाई जनही २ लाखका दरले जरिवाना गरिएको थियो । त्यस्तै, अन्य २ फार्मेसीलाई २० हजार जरिवाना र थप २ फार्मेसीको कारोबार रोक्का राखिएको छ ।

त्यस्तै, २३ असोजमा गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्जराज भट्टराईको नेतृत्वमा खाद्य किराना, मोबाइल, मसला, माछामासु पसललगायत २० फर्मको अनुगमन गरी १ लाख २५ हजार रुपैयाँ जरिवाना तिराई १७ वस्तुको गुणस्तर परीक्षण गर्न नमुना संकलन गरेको जनाएको छ ।

उपत्यकामा काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले मिति सकिएका खाद्यान्न जफत गर्ने, तरकारीको मूल्य नियमन गर्ने, गुणस्तरहीन खाद्यान्न जफत गरी परीक्षणका लागि सम्बन्धित निकायमा उपलब्ध गराउने काम गरिरहेको छ । सोमबार गाेंगबुको मित्रनगरमा रहेको एक होटेलमा अव्यवस्थित रूपले मह प्याकेजिङ गर्दै गरेको अवस्थामा महानगरको अनुगमन टोलीले फेला पारेको छ ।

सो टोलीमा रहेका उपभोक्ताकर्मी माधव तिमिल्सिनाका अनुसार प्लास्टिकको बाल्टीमा महको चाका राखेको र त्यसबाटै बट्टामा प्याक गर्दै बजारमा प्रतिकिलो ८ सय रुपैयाँका दरले बिक्री गरेको अवस्थामा फेला पारिएको छ । ‘सो महको गुणस्तर परीक्षण गर्न सम्बन्धित निकायमा पठाउने निर्णय भएको छ । व्यापारीलाई सोध्दा बाराबाट ल्याएको भन्ने जानकारी आएको छ । कारोबारको प्रकृति हेर्दा शंकास्पद देखिएको छ,’ उनले भने ।

खाद्य विभागले राजमार्गका होटेल अनुगमन गर्ने
दसैँमा घर फर्कने यात्रुले खाना, खाजा खाने राजमार्गका होटेलमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन सुरु गर्ने जनाएको छ । विभागका महानिर्देशक उपेन्द्र रायले दसैँमा घर फर्कने उपभोक्ताको चाप बढेसँगै राजमार्गका होटेल, रेस्टुरेन्ट सञ्चालकले पकाउने खानामा लापरबाही गर्ने भएकाले गुणस्तर नियमनका लागि अनुगमन गर्न लागेको बताए ।

‘उपभोक्ताले स्वास्थ्य र ताजा खानेकुरा उपभोग गर्न सकून् भन्ने उद्देश्यले राजमार्ग क्षेत्रका होटेलमा अनुगमन तीव्र पार्न लागेका छौँ,’ उनले भने, ‘विशेष टोली खटाएर वा ६ वटा प्रदेशमा रहेका कार्यालयबाट समेत अनुगमन हुनेछ ।’ त्यस्तै, देशभर रहेका २४ डिभिजन कार्यालयसमेत सक्रिय बनाइएको उनले बताए ।

उनका अनुसार दैनिक तीन टोली खटिएर उपत्यकामा पानी, दूध र पशुपक्षीले उपभोग गर्ने दानाको गुणस्तर नियमन भइरहेको छ । ‘दसैँमा प्रशोधित खानेपानी (जार र बोतल) र दूधको कारोबार बढी हुने भएकाले यी दुवैको स्वच्छता कायम गर्न अनुगमनबाट सक्दो प्रयास भइरहेको छ,’ उनले भने । २८ भदौयता विभागले देशभर ३ सय ९८ वटा खाद्य उद्योग, दाना उद्योग, होटेल तथा रेस्टुरेन्ट, खाद्य पसललगायतको अनुगमन गरी ४ सय ३३ नमुनाको गुणस्तर परीक्षण भइरहेको जनाएको छ ।

विभागमातहतको विराटनगर कार्यालयका प्रमुख राजकुमार रिजालका अनुसार स्थानीयस्तरमा वाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र उपभोक्ता अधिकारकर्मी सम्मिलित टोलीले दैनिकजसो अनुगमन गरिरहेको छ । ‘हामीले पूर्वका खाद्य उद्योगको गुणस्तर पहिचान गर्न अनुगमन गर्ने र नमुना संकलन गरी परीक्षण गर्ने काम गरिरहेका छौँ,’ उनले भने, ‘यसक्रममा सपिङ मल, मिठाई पसल, होटेल तथा रेस्टुरेन्टको नियमित अनुगमन भई कैफियत भेटिए जरिवाना गर्ने र सुधारको निर्देशन दिने काम भइरहेको छ । त्यस्तै, तेल, चामल, दाल, बेकरी उद्योगको उत्पादन परीक्षणका लागि संकलन भइरहेको छ ।’

विभागमातहतको धनगढी कार्यालयले खानेपानी उद्योगविरुद्ध अनुगमन तीव्र पारेको छ । कार्यालय प्रमुख नवराज दाहालका अनुसार सोमबार केही खानेपानी उद्योगको पानी स्वास्थ्यप्रतिकूल पाएपछि उत्पादन रोक्का गरेर कारबाही प्रक्रिया अघि बढाइएको छ ।