मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
श्रवण थापा सर्लाही
२०७७ असोज २८ बुधबार १७:४२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सर्लाहीमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप, दुई डिएसपीसहित चार दर्जन घाइते 

Read Time : > 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ असोज २८ बुधबार १७:४२:००

सर्लाही सदरमुकाम मलंगवामा बुधबार नेपाली कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । 

रामनगर गाउँपालिका– ७, सिसौटका महेन्द्र रामलाई गत २१ असोजमा स्थानीयले कुटपिट गरेको र भोलिपल्ट उपचारको क्रममा उनको निधन भएको थियो ।

कांग्रेस कार्यकर्ता रामको हत्याको अनुसन्धानमा प्रहरीको भूमिका निष्पक्ष नदेखिएको, राजनीतिक दबाबमा पीडितको जाहेरी नलिएको भन्दै प्रदर्शन गर्ने क्रममा झडप भएको हो । 

रामलाई सहिद घोषणा गर्न र हत्यामा संलग्नलाई तत्कालै पक्राउ गरेर मुद्दा दायर गर्नुपर्ने कांग्रेसको माग छ । 

संघीय सांसद अमरेशकुमार सिंहको नेतृत्वमा भएको जुलुस जिल्ला प्रहरी कार्यालय घोराउ गर्न पुगेपछि झडप भएको हो । प्रहरीले शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले जथाभावी लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको कांग्रेसका जिल्ला सभापति नागेन्द्र रायले बताए । 

हात हातमा झाडु र पम्प्लेट बोकेर ठूलो संख्यामा कांग्रेसका नेता–कार्यकर्ता प्रदर्शनमा सहभागी भएका थिए । 

प्रहरीले बल प्रयोग गर्दा दुई दर्जनभन्दा बढी कार्यकर्ता घाइते भएको सांसदसमेत रहेका अमरेश सिंहले बताए । 

‘हामी जिल्ला प्रहरी कार्यालयअगाडि शान्तिपूर्ण अवस्थामा थियौँ,’ उनले भने, ‘प्रहरीले एक्कासि अश्रुग्यास र लाठी बर्सायाे ।’ 

प्रहरीले भने सयौँको संख्यामा आएका प्रदर्शनकारीले एक्कासि कार्यालयमा ढुंगा हानेको बताएको छ । प्रहरीले भिड तितरबितर पार्न लाठीचार्ज र ३२ राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । 

झडपका क्रममा जिल्ला प्रहरी कार्यालयका डिएसपी मदन कुँवर र इलाका प्रहरी कार्यालय बरहथवाका डिएसपी उद्धवसिंह भाटसहित २२ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालयका एसपी सन्तोषसिंह राठौरले जानकारी दिए । कांग्रेस कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर कार्यालयको झ्यालको सिसासमेत फुटेको राठौरको भनाइ छ । 

रामनगर घटनाका शंकास्पद तीनजनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको अवस्थामा कांग्रेसका नेता–कार्यकर्ता प्रहरीमाथि आक्रमणमा उत्रिएको एसपी राठौरको आरोप छ । ‘अनुसन्धान चलिरहको छ,’ उन्ले भने, ‘पटक–पटक व्यक्तिगत रिसइवी साँध्ने उद्देश्यले फलानोलाई मुद्दा चलाउनु भन्दै दबाब दिने र नभएपछि प्रहरीमाथि खनिएका हुन् ।’

घटनाको निष्पक्ष छानबिन नभएको भन्दै परिवारले अहिलेसम्म शव बुझेका छैनन् । हाल मृतक रामको शव वीरगन्जस्थित अस्पतालमा रहेको आफन्तले बताएका छन् ।