मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज २८ बुधबार १०:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानको कोभिड अस्पतालमा अनियमितता भएको भन्दै अख्तियारद्वारा छानबिन सुरु

Read Time : < 1 मिनेट
२०७७ असोज २८ बुधबार १०:४१:००

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको  कोभिड– १९ अस्पतालका भेन्टिलेटरहरू तीन महिना पनि नपुग्दै बिग्रिएर उपचारमा आएका संक्रमितहरूलाई समस्या परेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेको छ ।

संघीय र प्रदेश सरकारको करिब साढे १२ करोड बजेटबाट तयार गरेको कोभिड अस्पतालमा जडान गरिएका १० वटा भेन्टिलेटरमध्ये ६ वटाले काम नगरेर थन्किएपछि  भेन्टिलेटरकै अभावमा संक्रमितको ज्यान गएको  थियो ।

कोरोना महामारीको  वेला कोभिड अस्पतालको औषधि, मेसिन तथा उपकरण खरिदमा व्यापारीसँगको मिलेमतोमा उपकुलपति प्रा.डा ज्ञानेन्द्र गिरीका सल्लाहाकार भनिएका स्वकीय सचिव दिलीप भट्टराईको संलग्नतामा खरिद प्रक्रियाविपरीत कमसल सामान खरिद गरेको आरोप लाग्दै आएको छ । 

कोभिड अस्पताल सञ्चालन भएपछि बिरामीको उपचारलाई प्रभावकारी नबनाएको र उपचारमा संलग्न चिकित्सक, नर्स र कर्मचारीलाई आवश्यक स्वास्थ्य सामग्री र खानपिनको उचित व्यवस्थासमेत नगरेको भन्दै प्रतिष्ठान व्यवस्थापनविरुद्ध चिकित्सकले यसअघि आन्दोलन नै गरेका थिए । 

प्रतिष्ठानमै उपचाररत धरानका एक जनप्रतिनिधिले कोभिड अस्पतालको सेवा सन्तोषजनक नभएको गुनासोसमेत गरेका छन् । धरान– ८ का ५२ वर्षीय पुरुषको भेन्टिलेटर अभावमा एक साताअघि मृत्यु भएको थियो । 

कोभिड अस्पतालमा आर्थिक अनियमितता भएका र नयाँ खरिद गरिएका भेन्टिलेटर तीन महिना नपुग्दै बिग्रिएर काम नलाग्ने भएको गुनासो बाहिर आएपछि स्थलगत निरीक्षण गरी छानबिन अघि बढाइएको अख्तियार अनुसन्धान आयोग इटहरीले जनाएको छ । खरिद प्रक्रिया, सामानको विवरणलगायतका कागजातहरू मागिएको अख्तियारले जनाएको छ । 

यसअघि प्रतिष्ठानलाई करोडौँ रुपैयाँ नोक्सान पुऱ्याएको ठहर भई अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरिएका व्यक्ति चेतन अग्रवालसँग साँठगाठ गरी उपकुलपति ज्ञानेन्द्र गिरीले कमसल उपकरण खरिद गरेको खुलासा भएपछि अख्तियारको टोलीले स्थलगत छानबिन थालेको हो ।