मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ २० बिहीबार
  • Thursday, 03 June, 2021
२०७७ असोज २८ बुधबार ०७:३७:००
Read Time : > 2 मिनेट
समाचार प्रिन्ट संस्करण

तिलिचो ताल पुगेपछि ‘संसार जितेको’ अनुभूति

Read Time : > 2 मिनेट
२०७७ असोज २८ बुधबार ०७:३७:००

हिमालको काखैमा रहेको संसारकै बढी उचाइमा रहेको तिलिचो ताल आँखैअगाडि नियाल्न पाउँदा काठमाडौंकी भावना कुँवर पन्थीलाई ‘संसार जितेको’ अनुभूति भयो । उनी पहिलोपटक समुद्री सतहदेखि ४९१९ मिटर उचाइमा रहेको तिलिचो ताल पुगेकी हुन् । 

‘एक टुक्रा नीलो आकाश कसरी हिमालको बीचमा आएर तस्बिरझैँ बस्यो होला अचम्म परेँ,’ उनी भन्छिन्, ‘वरिपरि हिमालले घेरिएको तिलिचो तालको दृश्य प्रकृति नभई कुनै चित्रकारले पोतेको सुन्दर पेन्टिङझैँ लाग्छ । सङ्लो प्रवाहमा फैलिएको हिमतालवरिपरिको कञ्चन कहानी शब्दमा वर्णन गरिसाध्य छैन ।’ नयाँ पत्रिकामा तिलिचो तालबारे समाचार पढेपछि कहिले जाउँजस्तो लागेको उनले सुनाइन् । ‘तिलिचो तालमा नेपालको झन्डा लिएर पुग्दा आफूलाई संसारकै भाग्यमानी ठानेकी छु,’ उनी भन्छिन्, ‘बेस क्याम्पसबाट झन्डै पाँच घन्टा हिँडेपछि तिलिचो पुगे । तिलिचोको यात्रा कठिन भए पनि त्यहाँ पुगेपछि सारा थकान मेटियो ।’ 

संसारकै सबैभन्दा बढी उचाइमा रहेको मनाङको तिलिचो ताल पुग्ने पहिलदेखिकै चाहना थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३२ गुल्म मनाङका प्रमुख डिएसपी होमनाथ पन्थीको । तिलिचो तालसम्म पुग्न निकै तयारीका साथै आवश्यक औषधि र साथीको साथमा जानुपर्ने उनी बताउँछन् । ‘लेक लाग्ने समस्या हुन सक्छ । त्यसैले आवश्यक औषधि लिएर जानुपर्छ,’ उनले भने । कहालीलाग्दो उकालो, भिरालो पहाड देख्दा यात्रामा सकस भए पनि गन्तव्यमा पुगेपछि आनन्द महसुस हुने पन्थी बताउँछन् । 

हिमालको हिउँलाई टेकेर संसारको सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचो ताल पुगेपछि पर्यटकहरूले आफूले संसार जितेको अनुभूति गर्दछन् । तालनजिकैबाट देखिने मुसुक्क मुस्कुराइरहेका मुक्तिनाथ, तिलिचो हिमाल, निलगिरी हिमशृंखलाको दृश्यले पर्यटक भुतुक्कै हुन्छन् । तिलिचो यात्रामा नजिकैका हिमाली सौन्दर्य, रमणीय खर्क, वनस्पति, वन्यजन्तुजस्ता विभिन्न दृश्यले मन आनन्दित पार्ने गर्दछ । विश्वकै सर्वोच्च उचाइमा आफ्नो परिचय साटेको तिलिचो ताल ३ दशमलव ८ वर्ग किलोमिटरको क्षेत्रफलमा फैलिएको छ । यो ताल पर्यापर्यटन, जैविक विविधता, जलीय जीवनचक्र अध्ययन गर्न पनि उपयुक्त मानिन्छ । 

आन्तरिक पर्यटन प्रवर्द्धन गर्न मनाङका कर्मचारी तिलिचोमा

कोरोनाका कारण आन्तरिक र बाह्य पर्यटक पुग्न नसकेको तिलिचो तालमा मनाङका कर्मचारी पुगेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मनाङमा कार्यरत ४० जना सरकारी कर्मचारीको टोली तिलिचो ताल पुगेको हो । कोरोनाले थला पारेको पर्यटनको विकास र प्रचारप्रचार गर्ने उद्देश्यका साथ कर्मचारकिो टोली तिलिचो पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी ध्रुव गिरीले बताए ।

मनाङका जिल्ला न्यायाधीश रामचन्द्र पौडेल, जिल्ला समन्वय अधिकारी शोभाखर रेग्मी, जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी मेखबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपाल मनाङ गुल्मका डिएसपी होमनाथ पन्थी, चामे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुर चन्द, मनाङ ङिस्याङ गाउँपालिकाका दीपक ढकाल र नार्पाभूमि गाउँपालिकाका रुकमागत उपाध्यायलगायत ४० जनाको टोली तिलिचो ताल पुगेको हो । 

कष्टकर र जोखिमपूर्ण यात्रापछि तिलिचो पुगेकोे न्यायाधीश रामचन्द्र पौडेल बताउँछन् । संसारकै सबैभन्दा उचाइमा रहेको तिलिचो ताल माथिल्लो मनाङबाट करिब ४५ किमिको दूरीमा पर्छ । खाङसारबाट तारे गुम्बा, श्रीखर्क हुँदै लगभग चार घन्टाको पदयात्रापछि तिलिचो बेस क्याम्प पुग्न सकिन्छ । बेस क्याम्पमा एक रातको बासपछि झन्डै पाँच घन्टाको उकालो हिँडेर तिलिचो ताल पुगिन्छ ।

गत वर्ष यही समयमा दैनिक दुई सय पर्यटक तिलिचो पुग्ने गरे पनि यस वर्ष भने कोरोनाका कारण पर्यटक पुग्न सकेका छैनन् । पछिल्लो सयम तिलिचो तालसम्म बाह्यभन्दा आन्तरिक पर्यटकहरू बढी मात्रामा पुग्ने गरेका छन् । आकाश खुलेर वरिपरिका दृश्य अवलोकन गर्ने उपयुक्त सिजन असोज, कात्तिक, मंसिर महिना उपयुक्त हुने मनाङका पर्यटन व्यावसायी विनोद गुरुङ बताउँछन् ।