Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
विजयराज खनाल काठमाडौं
२०७७ असोज २८ बुधबार ०९:५१:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माध्यमिक तह पास गरेका युवाले पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने

Read Time : > 1 मिनेट
विजयराज खनाल, काठमाडौं
२०७७ असोज २८ बुधबार ०९:५१:००

अब युवाले बैंक तथा वित्तीय संस्थाबाट पाँच लाख रुपैयाँसम्मको स्वरोजगार कर्जा पाउने भएका छन् । ८ असोजमा मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार सहुलियत कर्जाको लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधिमा तेस्रोपटक संशोधन गर्दै यस्तो व्यवस्था गरिएको हो । 

यससँगै सहुलियत दरमा युवा नै लक्षित तीनवटा कर्जा योजना सञ्चालनमा आएको छ । यसअघि सात लाख रुपैयाँसम्म शिक्षित युवा स्वरोजगार र १० लाख रुपैयाँसम्मको विदेशबाट फर्केका युवा परियोजना कर्जा सञ्चालनमा छन् । 

माध्यमिक तह वा सोसरहको शिक्षा हासिल गरेकाले समेत पाँच लाख रुपैयाँसम्मको युवा स्वरोजगार कर्जा प्राप्त गर्नेछन् । सीप विकास उद्यमशीलता तालिम केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय वा समिति, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लगायत कुनैबाट कम्तीमा सात दिनको उद्यमसम्बन्धी तालिम लिएको भए पुग्ने भएको छ । बैंकले ग्राहकलाई लगाउने ब्याजदरमा राष्ट्र बैंकले पाँच प्रतिशत ब्याज अनुदान दिनेछ । 

गत वैशाखसम्ममा ६६ जनाले तीन करोड ५२ लाख रुपैयाँबराबर शिक्षित युवा कर्जा पाएका छन् भने विदेशबाट फर्केका दुई सय २२ जनाले १५ करोड १७ लाख रुपैयाँ कर्जा पाएका छन् । 

कर्जा बिमाको अनुदान घट्यो  
यसअघि कृषि तथा पशुपक्षी कर्जामा जाने १० लाख रुपैयाँभन्दा कमको कर्जामा राष्ट्र बैंकले अनुदान शाेधभर्नाबाट ७५ प्रतिशत व्यहोर्दै आएको भए पनि अहिले अनुदान घटाइएको छ । अब भने राष्ट्र बैंकले ५० प्रतिशत बिमा शुल्क व्यहोर्ने भएको छ । यही व्यवस्था परियोजना धितो लिएर दिइने कर्जामा पनि लागू भएको छ । 

त्यस्तै, अनुदानमा दिइने कृषि कर्जा व्यापार (बिक्री–वितरणसँग सम्बन्धित)का लागि भने रोकिने भएको छ । यसअघि यस्तो कुनै व्यवस्था नगरिएकोमा अब उत्पादनदेखि प्रशोधनसम्मको काममा मात्रै अनुदानमा आधारित कृषि कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ । 

व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा  शीर्षकमा भने कर्जा पाइने क्षेत्र थपिएको छ । यसअघि १९ वटा व्यवसाय समेटिएकोमा ३२ वटा व्यवसाय समेटिएको छ । गत वैशाखसम्म २४ हजार सात सय ६४ जनाले ५४ अर्ब ११ करोड रुपैयाँबराबर कृषि तथा पशुपक्षी कर्जा पाएका थिए ।