१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज २७ मंगलबार ०६:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अमेरिकी अर्थशास्त्रीद्वय पल मिल्ग्रोम र रोबर्ट विल्सनलाई अर्थशास्त्रमा नोबेल पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज २७ मंगलबार ०६:१७:००

अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल मिल्ग्रोम र रोबर्ट विल्सनलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । लिलामीसम्बन्धी सिद्धान्तमा गरेको योगदानका लागि उनीहरूलाई यो पुरस्कार प्रदान गरिएको रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले जनाएको छ । 

लिलामी (अक्सन) ले कसरी काम गर्छ भन्ने विषयमा उनीहरूले काम गरेका थिए । उनीहरूले परम्परागत रूपमा बेच्न कठिन रहेका वस्तु तथा सेवाको बिक्रीका लागि नयाँ लिलामीको ढाँचा पनि तयार गरेका थिए । रेडियो फ्रिक्वेन्सीमा आधारित लिलामीजस्ता त्यस्ता ढाँचाले संसारभरि क्रेता, विक्रेता तथा करदाताहरूलाई फाइदा भएको एकेडेमीले जनाएको छ । 

पहिला–पहिला मानिसहरूले सबैभन्दा बढी मूल्य कबोल्नेलाई सामानहरू बेच्थे, सबैभन्दा कममा दिनेबाट खरिद गर्थे । तर, हालका दिनमा असाध्यै ठूलो रकमका वस्तुहरू हरेक दिन अक्सनमा खरिद–बिक्री हुन्छन्, घरायसी सामान, कला र पुरातात्विक वस्तुहरू मात्रै होइन, धितोपत्र, खनिज एवं ऊर्जा पनि अक्सनमा खरिद–बिक्री हुन्छन् । सार्वजनिक खरिदसमेत अक्सनमा गरिन्छ । ‘यी दुई अर्थशास्त्रीले सुरुमा अक्सनका आधारभूत सिद्धान्तमा काम गरे, तर पछि तिनले प्राप्त उपलब्धिलाई व्यावहारिक उपयोगमा लगाए, जुन विश्वभर फैलियो,’ पुरस्कार समितिका अध्यक्ष पिटर फ्रेड्रिक्सनले भने । 

सन् १९९४ मा अमेरिकाले पहिलोपटक टेलिकम कम्पनीहरूलाई रेडियो फ्रिक्वेन्सी बिक्री गर्न यी दुई अर्थशास्त्रीले विकास गरेको ढाँचा प्रयोग गरेका थिए । त्यसपछि विश्वका धेरै मुलुकले यो ढाँचालाई प्रयोगमा ल्याएको एकेडेमीले जनाएको छ । स्विडेनको केन्द्रीय बैंकले स्थापना गरेको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार सन् १९६९ देखि वैज्ञानिक तथा उद्योगपति अल्फ्रेड नोबेलको सम्झनामा प्रदान गरिँदै आएको छ । यस वर्ष यी दुई अर्थशास्त्रीले ११ लाख अमेरिकी डलरको पुरस्कार बाँडेर लिनेछन् । गत वर्षको पुरस्कार अर्थशास्त्रीहरू अभिजित बनार्जी, इस्टर डुफ्लो र माइकल क्रेमरलाई संयुक्त रूपमा प्रदान गरिएको थियो ।