१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
चामल लिन सदरमुकाम सिमकोट आएका हुम्ला नाम्खा गाउँपालिकाका बासिन्दा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा कार्यालय परिसरमा ।
२०७७ असोज २६ सोमबार ०५:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

लिमीमा ३ सय क्विन्टल चामल पठाउन निर्देशन

समाचार प्रभाव

Read Time : > 1 मिनेट
२०७७ असोज २६ सोमबार ०५:३५:००

जिल्लाको नाम्खा गाउँपालिका–६ लिमीमा तीन सय क्विन्टल चामल तत्काल पठाउन खाद्य व्यवस्था तथा व्यापार कम्पनी काठमाडौंले आफ्नो हुम्ला कार्यालयलाई निर्देशन दिएको छ । कोरोना संकटका कारण चीनसँग सीमा जोडिएको हिल्सा नाका सात महिनादेखि बन्द हुँदा लिमिका तीनवटा गाउँका बासिन्दा चार महिनादेखि खाद्यान्न संकट खेपिरहेका छन् ।

लिमीका जनप्रतिनिधिसहितका ११ जना चामल माग गर्दै सदरमुकाम सिमकोट आएका छन् । आइतबार नयाँ पत्रिका ‘चामलका लागि चार दिन हिँडेर सदरमुकाम’ शीर्षकमा समाचार प्रकाशित भएपछि कम्पनीले हुम्ला शाखालाई तत्काल चामल पठाउन निर्देशन दिएको हो । 

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लाप्रति कम्पनी संवेदनशील रहेको कम्पनीका नायब महाप्रबन्धक शिरोमणि खनालले बताए । ‘करिब डेढ महिनाअघि नाम्खा गाउँपालिकालाई एक हजार क्विन्टल चामल दिएका थियौँ, लिमी गाउँमा खाद्यान्न संकट भएको समाचार आउनेबित्तिकै पहिलो चरणमा तीन सय क्विन्टल चामल गाउँपालिकाको रोहबरमा दिन सिमकोट शाखालाई निर्देशन दिएका छौँ,’ खनालले भने ।

कात्तिक तेस्रो साताभित्रै लिमीमा खाद्यान्न पुर्‍याउने तयारी भएको उनले बताए । हिल्सातर्फ नाका बन्द हुँदा लिमीका बासिन्दाले भोगिरहेको खाद्य संकट समाधानका लागि हवाई मार्गबाट भए पनि चामल पु¥याइने खनालको भनाइ छ ।

केन्द्रको निर्देशन आएसँगै लिमीका तीनवटा गाउँमा तीन सय क्विन्टल चामल तत्काल पठाउने तयारी भएको कम्पनीका कार्यालय प्रमुख रामबहादुर विष्टले जानकारी दिए । उनका अनुसार गाउँपालिकाको रोहबरमा गाउँमा चामल उपलब्ध गराइनेछ । लिमीको खाद्यान्न संकट समाधानका लागि हुम्लाका प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामा र नाम्खा गाउँपाालिका अध्यक्ष विष्णुबहादुर तामाङ चामल पठाउने पहलमा जुटेका छन् ।

खाद्यान्न संकट भएपछि नाम्खा गाउँपालिका–६ का वडाध्यक्ष पाल्जोर तामाङको नेतृत्वमा कोजुम आवेजाङ तामाङ, वडा सदस्य मिग्युर लामासहितको टोली सिमकोट आएको थियो । तत्काल गाउँमा चामल पुग्ने भएपछि टोली खुसी भएको छ । ‘जनताले हामीलाई चुनेर पठाएका हुन्, गाउँमा जनता भोकै बस्नुपर्ने चिन्ताले पिरोलेको थियो,’ वडाध्यक्ष तामाङले भने, ‘खाद्यले तीन सय क्विन्टल चामल दिने भएको छ ।’

नाम्खा गाउँपालिका अध्यक्ष तामाङ र प्रतिनिधिसभा सदस्य लामाले लिमीका बासिन्दालाई केही दिन धैर्य गर्न आग्रह गरेका छन् । ‘हामीले खाद्यान्न व्यवस्थाका लागि पहल गरिरहेका छौँ,’ सांसद लामाले भने, ‘हामी भोकभोकै बस्न दिँदैनौँ ।’