मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
रासस
२०७७ असोज २४ शनिबार १३:२०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

तिहारमा खुल्छ रानीपोखरी

Read Time : > 1 मिनेट
रासस
२०७७ असोज २४ शनिबार १३:२०:००

पुनर्निर्माण सम्पन्न भएपछि यस वर्षको तिहारमा सर्वसाधारणका लागि ऐतिहासिक रानीपोखरी खुला हुने भएको छ । यही असोज पहिलो साता निर्माण सम्पन्न भएको रानीपोखरीको दसैँअघि नै राष्ट्रप्रमुखबाट उद्घाटन गर्ने तयारी रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बताएको छ ।

गोर्खा भूकम्पका कारण पूर्ण रूपमा भत्किएको रानीपोखरीमा अहिले सरसफाइ र बत्ती राख्ने काम भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले बताए । भूकम्पपछि  पाँच वर्षसम्म हरेक वर्ष तिहारमा सर्वसाधारणले बालगोपालेश्वर मूर्तिलाई पोखरीमा रहेको पुलको मुखमा राखी दर्शन गर्ने गरेका थिए ।

पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा यही असोज १५ गते बिहान ८ बजेको साइतमा  मुख्य एक र अन्य चार गरी पाँच स्थानमा गजुर राखिसकिएको छ । मुख्य गजुर १२३ किलोग्राम तौलको तामाले बनेको हो । गजुरको बाहिरी भागमा भने सुन लेपन गरिएको छ ।

सो ऐतिहासिक सम्पदा निर्माणका लागि सुरुमा काठमाडौं महानगरपालिकाले पुनर्निर्माण गर्ने भने पनि कहिले पुरातत्व विभागसँग त कहिले कामपामा नै आन्तरिक कुरा नमिल्दा तीन वर्षसम्म  पुनर्निर्माणको काम अघि बढ्न सकेको थिएन । अन्ततः पुनर्निर्माणको काम प्राधिकरणलाई जिम्मा दिइएको थियो ।

भूकम्प गएकै वर्ष माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पले क्षति पुऱ्याएको सम्पदा पुनर्निर्माणको सुरुवात रानीपोखरीबाटै गरेकी थिइन् । 

प्रताप मल्लका छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन वि.सं. १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीको बीचमा त्यसैवेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको हो ।

प्रताप मल्लले आफ्ना छोरा चक्रवर्तेन्द्रका नाममा यो पोखरी बनाएका हुन् । पोखरीको निर्माण  करिब पाँच वर्षभित्र अर्थात् ने.सं ७८९ (विसं १७२५) मा सम्पन्न भएको थियो । नेसं ७९० (वि.सं. १७२७–इ.सं. १६७०) मा शिलापत्र राखिएको थियो ।

पोखरीमा १०८ तीर्थको जल हालिएको इतिहासकार बताउँछन् । प्रताप मल्लले निर्माण गर्दा पोखरीको चारैतिर चार मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । उत्तरपश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तरपूर्व कुनामा भैरवको मन्दिर, दक्षिणपूर्व कुनामा देवीको मन्दिर र दक्षिणपश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ ।