१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
आर्थिक व्युरो
२०७५ माघ २२ मंगलबार ०६:५५:००
Read Time : > 4 मिनेट
अर्थ

मोबाइलदेखि अटोमोबाइलसम्मको बिक्री घट्यो

तरलता अभावले छड, सिमेन्ट, मोबाइल फोन, गाडी, खाद्यवस्तुदेखि मदिराको बिक्री र रेस्टुरेन्टको व्यवसायसमेत घट्दो

Read Time : > 4 मिनेट
आर्थिक व्युरो
२०७५ माघ २२ मंगलबार ०६:५५:००

१०–१५% ले वृद्धि हुँदै आएको स्टिल र सिमेन्ट बिक्री ७–८% घट्यो

स्टिल र सिमेन्टको व्यवसाय हरेक वर्ष १०–१५ प्रतिशतले वृद्धि हुँदै आएको थियो । यस वर्ष अझ बढ्ने अनुमान गरिएको थियो । तर, यस वर्षको पछिल्लो केही महिनामा यी दुवै उत्पादनको बिक्री ७–८ प्रतिशतले घटेको उद्योगीहरूको भनाइ छ । देशमा विकासका ठूला आयोजना थपिएका छैनन् । अझ खुद्रा व्यवसायी त धेरै निराश छन् । सिमेन्ट, छडलगायतको निर्माण सामग्रीको व्यापार ३० देखि ४० प्रतिशतसम्मले घटेको निर्माण सामग्री व्यापार संघ, काठमाडौंका अध्यक्ष अच्युतम कटुवालले जानकारी दिए । गिटी, बालुवा, इँटा, प्लम्बिङका सामानलगायतको व्यापार पनि सोही अनुपातमा घटेको छ । ‘बैंकले कर्जा नदिएपछि निर्माणको क्रम रोकिएको छ,’ उनले भने । 

मोबाइल बिक्री ६०% घट्यो

समग्र विद्युतीय सामग्रीको बिक्री ३५% घट्यो
तरलताको अभाव तथा कालोबजारीका कारण मोबाइल सेटको वैधानिक बिक्री ६० प्रतिशतसम्मले घटेको व्यवसायीहरू बताउँछन् । दसैँपछिको अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा मोबाइल सेटको बिक्री ५० देखि ६० प्रतिशतले घटेको उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा बताउँछन् । नेपालमा सामसङ मोबाइल तथा इलेक्ट्रोनिक्सका आधिकारिक बिक्रेतासमेत रहेका गोल्छाले भने, ‘समग्रमा इलेक्ट्रोनिक्स सामग्रीको बिक्री ३५ प्रतिशतसम्म घटेको छ ।’ चालू आर्थिक वर्ष ०७५/७६ को पाँच महिनामा ८ अर्ब ८० करोड रुपैयाँमा १९ लाख ३१ हजार थान मोबाइल फोन भित्रिएका छन् । तर, अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने १० अर्ब ५१ करोड रुपैयाँमा २७ लाख २७ हजार थान मोबाइल आयात भएका थिए । 

मदिराको बिक्री २५%ले घट्यो

मदिराको खुद्रा व्यापार पनि २५ प्रतिशतको हाराहारीमा घटिसकेको मदिरा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष नवीनलाल श्रेष्ठले बताए । बिक्री घट्दा देशभरका ७७ जिल्लामा रहेका करिब ४५ हजार मदिरा व्यवसायीलाई प्रत्यक्ष असर परेको उनको भनाइ छ । अर्थतन्त्रमा सुस्तता आएका कारण उपभोक्ताको क्रयशक्तिमा कमी आएपछि गुणस्तरीय मदिराको बिक्री घटेको र सस्तो मदिरा र बियरको खपत बढेको छ । ‘५० युपीभन्दा माथिका गुणस्तरीय मदिराको बिक्री २० देखि २५ प्रतिशतसम्म घटेको छ,’ अर्का एक उद्योगीको भनाइ छ, ‘५० भन्दा मुनिका ७० युपीसम्मका मदिरा बिक्रीको परिमाण बढेको छ । उपभोक्ताहरू सस्तो मूल्यका बियरतर्फ पनि आकर्षित भएको देखिन्छ,’ उनले भने । समग्र मदिराबजारमा समस्या सिर्जना गरेको उनको भनाइ छ । 

गाडी बिक्री ५०% सम्म घट्यो
८०–९० प्रतिशतसम्म कर्जा लिई गाडी खरिद हुँदै आएकोमा राष्ट्र बैंकले बढीमा ५० प्रतिशत मात्र फाइनान्स गर्न पाउने व्यवस्था गरेपछि अटोमोबाइलको बिक्री ३० देखि ५० प्रतिशतसम्म बिक्री घटेको छ । नयाँ व्यवस्था तथा बजारमा तरलता अभावका कारण दसैँंपछि गाडीको व्यापार चिन्ताजनक रूपमा खस्किएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । ‘विभिन्न कम्पनीको बजार हिस्सा र बिक्रीदर हेरेर ३० देखि ५० प्रतिशतसम्म बिक्री घटेको छ,’ उनले भने । उनका अनुसार बिक्री घटेपछि गाडी आयातसमेत गर्न नसकी भन्सार यार्डमा थन्किएको छ । ‘दसैँंअघिबाट अर्डर गरिएका गाडी भन्सार यार्डबाट छुटाउन नसकी रोकिएर बसेका छन् । कमर्सियल र निजी सवारी जोड्दा अहिले करिब ८ हजार गाडी भन्सार यार्डमा छन्,’ उनले भने । 


दैनिक उपभोग्य वस्तुको बिक्री निराशाजनक
सामान्यतया दैनिक उपभोग्य वस्तुको बिक्री बढ्दो हुन्छ । दाल, चामल, तेल, बिस्कुट, चाउचाउ, चिनी, चियापत्ती, जुस, साबुन, स्याम्पुलगायतको बिक्री जनताले दैनिक प्रयोग गर्नुपर्ने हुनाले घट्दैन । तर, पछिल्लो समय साबुन, स्याम्पु, चाउचाउदेखि चुरोटसम्मको बिक्री घटेको व्यवसायीहरू बताउँछन् । तर, व्यवसायी भन्छन्, ‘दैनिक उपभोग्य वस्तुको बिक्री पनि घट्नु आश्चर्यजनक हो ।’ बजेटले इनर्जी डिं«क्स, जुस, चकलेटदेखि जंकफुडसम्ममा अन्तःशुल्क लगाएपछि त्यसको प्रभाव बिक्रीमा देखिएको छ ।

रेस्टुरेन्ट तथा बारको व्यवसाय घट्यो
रेस्टुरेन्ट तथा बारहरूको बिक्रीसमेत घटेको व्यवसायीहरूले बताएका छन् । १० प्रतिशत सेवा शुल्क र त्यसमाथि थप १३ प्रतिशत भ्याट जोडेर लिँदा सेवा महँगो हुन गएका कारण व्यवसायलाई नकारात्मक असर परेको हुन सक्ने अनुमान गरिएको रेस्टुरेन्ट तथा बार संघ (रेवान) का निवर्तमान अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठले बताए । होटेल तथा रेस्टुरेन्टहरूले सेवाको बिक्रीमा ग्राहकबाट सेवा शुल्क र भ्याटसमेत गर्दा २४ दशमलव ३ प्रतिशत अतिरिक्त उठाउँदै आएका थिए । त्यही कारण रेवानले हालै काठमाडौं, पोखरा र चितवनमा १० प्रतिशत सेवा शुल्क घटाएको थियो । तर, श्रमिकहरूबाट भने त्यसको विरोध सुरु भएको छ । सेवा शुल्क लिँदा ग्राहकले आफू ठगिएको ठान्ने र सकेसम्म त्यस्तो शुल्क तिर्न नचाहने श्रेष्ठको भनाइ छ । उनले भने, ‘हामीले अनिवार्य रूपमा लिन खोज्दा ग्राहकहरू भड्केर अन्यत्र जाने समस्या देखियो । रेस्टुरेन्टमा आएर खाने ग्राहकहरू घटेका छन् । ग्राहकहरूलाई खुसी पार्न सकिएको छैन ।’ तर, शुल्क घटाए पनि व्यवसाय बढेको छैन ।

वस्तुको बिक्री मात्र होइन, अर्थतन्त्रमाथि विश्वास घटेको छ
शेखर गोल्छा, 
वरिष्ठ उपाध्यक्ष, नेउवा महासंघ

अहिले बजारमा उपभोग्य सामानदेखि विद्युतीय सामग्री, सवारीसाधन तथा निर्माण सामग्रीसमेतको बिक्री घटेको छ । यसरी बिक्री घट्नुको प्रमुख कारण वित्तीय प्रणालीमा तरलताको कमी हुनु नै हो । 

तर, अहिलेको प्रमुख समस्या भनेको अर्थतन्त्रको विश्वास घटेको छ । कुनै एक क्षेत्र घट्यो भने त्यसले अन्य धेरै क्षेत्रलाई घटाउँछ । व्यापारको चक्र सजिलोसँग चल्न नसक्दा अर्थतन्त्रमा पनि त्यसले चक्रीय नै असर गर्ने रहेछ । अहिलेको प्रमुख समस्या भनेको वित्तीय प्रणालीमा पैसा अभाव भएपछि त्यसले त्यस्तै चक्रिय प्रभाव सृजना गरेको छ ।

अहिले उपभोक्ताको मनस्थिति कमजोर भएपछि त्यसले बजारलाई प्रभाव पार्छ । बजारमा उपभोक्ताले माग घटाउन थालेपछि व्यवसायीले स्टक घटाउँछन् । पहिला कसैले डेढ महिनाका लागि आवश्यक स्टक राखेर काम गरिरहेको थियो भने त्यसले घटाएर १५ दिनको मात्रै स्टक राख्छ, १० दिनमा झार्नथाल्छ । त्यसले स्वाभाविक रुपमा विक्री घट्छ । 

उदाहरणका लागि अहिले बैंकहरू दीर्घकालीन लगानी गर्न चाहँदैनन्, छोटो समयको ऋण दिन खोज्छन् । किनभने बजार अस्थिर भएको वेला अल्पकालीन लगानी गर्नु सुरक्षित हुन्छ । त्यसले व्यापारलाई प्रोत्साहन गरेको छ भने उद्योगका लागि पुँजी उपलब्ध छैन । राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा निश्चित लगानी गर्नुपर्छ भनेर नियम बनाएको छ । तर, त्यसबाट कसरी भाग्ने भन्ने विषयमा बैंकहरूसँग विशेषज्ञता छ । त्यसो हुँदा व्यापारका लागि अहिले पनि रकम उपलब्ध छ, तर उद्योगका लागि छैन ।

अहिले शेयर बजार जुन तहमा आएको छ, त्यहाँ लगानी गर्दा राम्रो प्रतिफल हुनसक्छ । अहिलेको शेयर मूल्यमा राम्रो प्रतिफल छ । तर, मानिसहरू शेयर बजारमा लगानी गर्ने मनस्थितिमा छैनन् । घरजग्गा व्यवसायमा पनि त्यही स्थिति छ । अन्य क्षेत्रमा पनि त्यही भइरहेको छ । त्यसो हुँदा बजार प्रणालीले राम्रो काम गर्न उपभोक्ताको आत्मविश्वासको भूमिका निकै महत्वपूर्ण हुन्छ । 

उपभोक्ताको आत्मविश्वास बढाउन सरकारले सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने भएको छ । अहिले सबै क्षेत्रमा नकारात्मक सन्देश मात्रै प्रवाह भएको छ । त्यसो हुँदा उपभोक्ता र लगानीकर्ताको आत्मविश्वास बढाउन सरकारले केही काम गर्नुपर्ने हुन्छ । तर, यो काम सजिलो भने छैन । 

जब आत्मविश्वास कम हुन्छ, त्यसबेला मानिसहरूले अल्पकालीन लगानी मात्रै गर्न चाहन्छन् । त्यो भनेको व्यापार मात्रै प्रोत्साहित हुन्छ । दीर्घकालीन लगानीका लागि अर्थतन्त्रमाथिकै विश्वास बढ्नुपर्छ, लगानीकर्ताको आत्मविश्वास बढ्नुपर्छ । अहिले निजी क्षेत्रका ठूला लगानीकर्ताहरू नै दीर्घकालीन लगानी गर्न चाहिरहेका छैनन् । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा निजी लगानीलाई सरकारले निरुत्साहन गर्न खोजेको देखिन्छ । अन्य क्षेत्रमा पनि नियन्त्रण गर्न खोजेको हो कि जस्तो देखिन्छ । त्यसो हुँदा लगानीकर्ताहरूको मनोविज्ञानलाई सकारात्मक बनाउन आवश्यक छ । 

विदेश भ्रमणमा जाने नेपालीलाई सटही सुविधा २ हजार ५ सय अमेरिकी डलर दिइँदै आएकोमा त्यसलाई १ हजार ५ सय डलरमा झारियो । यो सानो नीतिगत परिवर्तन हो । तर, त्यसको सन्देश भने निकै नकारात्मक गएको छ । नेपालमा विदेशी मुद्राको संकट नै परेको हो कि भन्ने सन्देश गएको छ  । त्यस्तै पछिल्लो समयमा आएको उपभोक्ता संरक्षण ऐनले समेत लगानीकर्तालाई निरुत्साहित गरेको छ । यस्तो अवस्थामा मानिसहरू छिटो नाफा हुने अल्पकालीन लगानीतर्फ लाग्छन् । सरकारले गरेको सुधार र नीतिगत परिर्वतनले सकारात्मक सन्देश जानुपर्ने हो । तर, त्यो हुन सकिरहेको छैन । 

सरकारले भ्याट छुटको व्यवस्था हटायो । निर्यात प्रोत्साहनमा निजी क्षेत्रले ठूलो आशा गरेको थियो । सरकारले केही वस्तुमा अनुदानको घोषणा त ग-यो । तर, न्यो अपेक्षाअनुरुप हुन सकेन । खासगरी भारततर्फ हुने निर्यातमा सरकारले अनुदान देला भन्ने आशा थियो । किनभने हामीले अहिले पनि अमेरिकी डलर विक्री गरेर भारु किन्नुपरेको छ  । भारतमा भारुमा हुने निर्यात बढ्दा यो समस्या समाधान हुन सक्ने थियो । भारत हाम्रो नजिकको ठूलो बजार हो । हाम्रो सबैभन्दा ठूलो निर्यात पनि भारतमै छ । तर, सरकारले भारतमा हुने निर्यातलाई नै प्रोत्साहित गर्न सकेन । यसले पनि लगानीकर्ताहरू निरुत्साहित भएका छन् ।