मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज २२ बिहीबार १२:३७:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

दूध र दूधजन्य परिकार बजारमा ल्याउँदै सहकारी 

Read Time : > 1 मिनेट
२०७७ असोज २२ बिहीबार १२:३७:००

चितवनको श्री गंगानगर दुग्ध सहकारी संस्था लिमिटेडले दुग्ध प्रशाेधन गरी आफ्नै ब्रान्डको दूध तथा दूधजन्य परिकार बजारमा ल्याउने भएको छ । 

घटस्थापनाको दिनदेखि  सहकारीले ‘गंगा’ ब्रान्डको दूध र दूधजन्य परिकारहरूको उत्पादन बजारमा ल्याउन लागेको गंगानगर दुग्ध सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए । 

वैशाखदेखि नै उत्पादन सुरु गरेर बजारमा ल्याउने तयारी गरेकाे सहकारीले कोरोनाका कारण मिति सार्नुपरेकाे सापकाेटाले बताए । उनले भने,‘अहिले मेसिन जडानदेखि अन्य काम सम्पन्न भएको छ, हामी घटस्थापनाको दिनको प्रतीक्षामा छौँ । दूधजन्य परिकारहरू सहकारीमार्फत बजारीकरण भएपछि किसानले दूधकाे उचित मूल्य पाउने छन् ।’

सहकारीले सहकारी विभागको ८५  लाखको साझेदारी सहयोगमा करिब दुई करोड ७५ लाखको  लगानीमा निर्माण भएको प्रशाेधन केन्द्रबाट प्रतिघन्टा दुई हजार लिटर दूध प्रशोधन हुनेछ । 

सहकारीले चितवनसहित नवलपरासी, रुपन्देही, मकवानपुर, तनहुँ, कास्की, गोर्खा, धादिङ र काठमाडौंमा उत्पादित वस्तु तथा सेवा खुद्रा तथा थोक बिक्री गर्ने लक्ष्य राखेको छ । 

यहाँबाट पहिलो चरणमा पाँच हजार लिटर दूधबाट दही, मोही, घ्यू, पनिर, नौनी, बटर, क्रिम उत्पादन सुरु गरेर क्रमश: उत्पादन बढाउँदै लैजाने  सापकोटालले बताए । 

सहकारीले दूध प्रशाेधनका लागि उपकरण खरिद र जडान कार्यसमेत सम्पन्न गरिसकेको छ । जहाँ भारतबाट ल्याइएका अत्याधुनिक होल्डिङ सिस्टमसहितको मेसिन जडान गरिएको छ । सहकारीले उत्पादन भएका पदार्थहरू  राख्ने दुईवटा ६ सय टन क्षमताको स्टोर पनि निर्माण गरेको छ। 

सहकारीका व्यवस्थापक रामप्रसाद सापकोटाका अनुसार भरतपुर महानगरपालिका– २२ गंगानगरमा केन्द्रीय कार्यालय रहेको सहकारीले दुईवटा शाखा कार्यालय मार्फत पनि दूध संकलन हुँदै आएको छ । 

सहकारीकाे अफ्नै  नमुना पशुपालन फार्म तथा स्रोत केन्द्र पनि छ ।  सहकारी र स्रोत केन्द्रबाट दैनिक पाँच हजारभन्दा बढी लिटर दूध सहकारीमा उत्पादन र संकलन हुन्छ । ०४९ सालमा स्थापना भएको यस डेरीमा अहिले पाँच सयभन्दा बढी किसान आबद्ध छन् । 

कोराेना कहरसँगै किसान र स्रोत केन्द्रबाट संकलन गरेको दूध डेरी उद्योगले खरिद नगरेपछि यो सहकारी अहिले आफैँले दूध सदरमुकाम भरतपुर बजार ल्याएर बिक्री गरिरहेको छ ।