मोटरसाइकल र स्कुटरको निर्माता हिरो मोटोकर्पले आफ्नो उत्पादन हिरो ग्ल्यामरलाई परिमार्जनसहित बजारमा ल्याएको छ । २ लाख २० हजार रुपैयाँ मूल्यको यो मोटरसाइकल नेपालको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ लिमिटेड (एनजिएम) ले शुक्रबारदेखि बजारमा बिक्री सुरु गर्न लागेको हो ।
यसमा नयाँ विशेषताहरूका साथमा आइबिएस (एकीकृत ब्रेकिङ प्रणाली) जस्तो सुरक्षात्मक विधि थप गरिएको जनाइएको छ । यसमा थ्री डी ब्रान्डिङ प्रतिरूप, नवीन धर्काहरू, स्प्लिट रियर ग्रिप, हगर फेन्डर र रिम टेपहरूका साथै युएसबी चार्जर पनि रहेको कम्पनीले जनाएको छ ।
नेपालमा बिक्री सुरु गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले हिरो मोटोकर्पको विश्वव्यापी व्यावसायिक रणनीतिमा नेपालको बजारले एक अर्थपूर्ण स्थान ओगटेको बताए ।
नयाँ हिरो ग्ल्यामर पेस गर्नुले ग्राहकमाझ हिरोको थप उत्पादन विस्तार गर्न सहयोग पुग्ने उनको भनाइ थियो । हाल हिरो कम्पनीका मोटरसाइकल र स्कुटर गरी एक दर्जनभन्दा बढी मोडेल बिक्री गरिरहेको एनजिएमले देशभर २ सय ५० सम्पर्क स्थल, ७२ डिलर, ८२ सर्भिस केन्द्र र १ सयभन्दा बढी स्पेयर पार्ट बिक्री केन्द्र सञ्चालन गरेर हिरोका ग्राहकलाई सुविधा दिइरहेको जनाएको छ ।
विशेषता
नयाँ ग्ल्यामरमा बिएस–आइभीजडित १२५ सिसी इन्जिन रहेको छ । यसले ७५०० आरपिएममा ११.१ बिएचपीको शक्तिशाली परिणाम र ६५०० आरपिएममा ११ एनएमको टर्क उत्पन्न गर्ने कम्पनीले जनाएको छ ।
हिरोको आइथ्रिएस प्रविधि यसमा पनि रहेको छ । यसले इन्धन खपतमा बचत गर्ने जनाइएको छ । प्रिमियम थ्री डी प्रतिरूप डिजाइन, अंग्रेजी भी आकारको हेडलाइट, जुम्ल्याहा पाइलट बत्तीहरू, आफ्नै किसिमको एलइडी लाइट निर्देशित पुच्छ«ेबत्ती र अंग्रेजी वाई जनाउने कांस्य पांग्राहरू यसको आकर्षण रहेको कम्पनीको दाबी छ ।
आइथ्रिएस संकेतसहितको एनलग डिजिटल स्पिडमिटर, डिजिटल इन्धनगेज, नयाँ सिट टेक्स्चर र ट्युबरहित टायरले चालकलाई थप सुविधा दिने कम्पनीको दाबी छ । आइबिएस विशेषताले पछाडिको ब्रेक लगाउँदा अगाडि र पछाडि दुवै ब्रेक लाग्ने हुनाले थप सुरक्षा प्रदान गर्ने कम्पनीले जनाएको छ । यो मोटरसाइकल क्यान्डी रातो, टेक्नो ब्लू मेटालिक र कालो रङमा बजारमा आएको छ ।