मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज २२ बिहीबार ०५:५३:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

विश्वविद्यालयमा हिंसा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज २२ बिहीबार ०५:५३:००

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि मंगलबार विश्वविद्यालयपरिसरमा सांघातिक हमला भएको छ । यो हमलाका पछाडि विश्वविद्यालयको नेतृत्वप्रति असन्तुष्ट पक्ष रहेको आकलन गरिएको छ । यद्यपि प्रहरीले घटनामा संलग्न कसैलाई पनि गिरफ्तार नगरेकाले घटनाका पछाडिको उद्देश्य र संलग्न व्यक्तिको विस्तृत विवरण प्राप्त हुन बाँकी छ । अहिलेसम्म विश्वविद्यालय र कलेजतिर हुने घटनाका प्रकृति हेर्दा यो घटना पनि राजनीतिक दलआबद्ध कुनै संगठनले आफ्नो संगठनको प्रभाव विस्तार गर्न अर्को पक्षलाई हतोत्साहित पार्ने उद्देश्यले गराएको निष्कर्ष निकाल्न सकिन्छ । 

जोसुकै संलग्न भएर आक्रमण गरिएको भए पनि यो घटनाले केही ज्वलन्त प्रश्न उठाइदिएको छ– हामी कस्तो विश्वविद्यालय बनाइरहेका छौँ, जहाँ विद्यार्थीहरू आफ्ना प्राध्यापकमाथि ज्यानै लिने गरी हमला गर्छन् र लुक्न सफल हुन्छन् ? हामी कस्तो विद्यार्थी नेतृत्व हुर्काइरहेका छौँ, जो विश्वविद्यालयपरिसरमा हिंसाका माध्यमबाट आफ्नो वर्चस्व स्थापित गर्न चाहन्छ ? विचारधारात्मक बहस सिर्जनात्मक प्रतिस्पर्धाका माध्यमबाट देशका सामु उपस्थित प्रश्नमा मत जाहेर गर्ने, सत्तापक्षका जनताविरोधी नीति र कुशासनविरुद्ध जागरुक हुने, संगठित प्रतिरोध गर्ने र न्यायपूर्ण सामाजिक आर्थिक व्यवस्थाका लागि आन्दोलित हुनुपर्ने विद्यार्थीहरू यो के गरिरहेका छन् ? यस्तो प्रवृत्तिलाई राजनीतिक नेतृत्वले किन संरक्षण गरिरहेको छ ? हामी कस्तो लोकतन्त्र र गणतन्त्रको अभ्यास गरिरहेका छौँ, जहाँ विश्वविद्यालयको नेतृत्व योग्यताका आधारमा नभएर दलहरूबीच हुने भागबन्डाका आधारमा चयन हुन्छ । विद्यार्थी संगठन विश्वविद्यालयको प्रशासनिक एकाइमा कसले नियुक्ति पाउने वा नपाउने, आफ्नो राजनीतिक पक्षधरतासहितको प्राध्यापकले मात्र छिर्न र नेतृत्व गर्न पाउने माग राखेर आन्दोलन गर्छन् । 

विद्यार्थी नेतृत्व लोकतान्त्रिक मूल्यको पक्षमा उभिनुको साटो सत्ता र शक्तिको बिचौलिया बनी विश्वविद्यालय वा क्याम्पसको स्रोतमाथि हिस्सेदारी खोजेर जीविका चलाउँछ र राजनीतिको सिँढी चढ्ने सपना देख्छ । यो तप्काले कस्तो देश बनाउने सपना देखेको होला ?

विद्यार्थी नेतृत्व लोकतान्त्रिक मूल्यका पक्षमा उभिनुको साटो सत्ता र शक्तिको बिचौलिया बनी विश्वविद्यालय वा क्याम्पसको स्रोतमाथि हिस्सेदारी खोजेर जीविका चलाउँछ र राजनीतिको सिँढी चढ्ने सपना देख्छ । भविष्यमा देशको नेतृत्व गर्ने स्वाभाविक प्रक्रियामा रहेको यो तप्काले कस्तो देश बनाउने सपना देखेको होला, जसलाई विश्वास गरेर समर्थन गर्न सकियोस् । पञ्चायती व्यवस्थाले विद्यार्थी संगठनका गतिविधिमाथि प्रतिबन्ध लगाउँदा पनि विश्वविद्यालय र क्याम्पसको विद्यार्थी आन्दोलनमाथि नियन्त्रण कायम गर्न सकेन । पञ्चायतविरुद्धको प्रतिरोधका केन्द्र बन्दै गएका विद्यार्थी संगठनलाई कमजोर बनाउन र आन्दोलनमाथि दमन गर्न पञ्चायतले आफ्नो पक्षका विद्यार्थीलाई संगठित गर्न राष्ट्रवादी विद्यार्थी मण्डल गठन गर्‍यो । यसका सदस्य बिस्तारै पञ्चायतविरोधी विद्यार्थी नेता, प्राध्यापकमाथि हमला गर्ने, कुटपिट गर्ने, शिक्षण संस्थाभित्रै गुन्डागर्दी गर्ने, समाजमा उद्दण्ड गतिविधि गर्ने एउटा जत्थामा बदलिए र यसले सरकारको पूरा समर्थन पाइरह्यो । पञ्चायत छिटै बदनाम हुनुको यो एउटा कारण थियो । 

अहिले लोकतन्त्र भनिएको छ, अखिल र नेविसंघका नाममा परम्परागत विद्यार्थी संगठनको वर्चस्व विश्वविद्यालयमा देखिन्छ, तर उनीहरू के गरिरहेका हुन् यस्तो ? के उनीहरू पनि पञ्चायती मन्डलेतन्त्रका नयाँ अवतार हुन् ? हाम्रो नयाँ पुस्तालाई राजनीतिक दलले जे–जस्तो बनाएर हुर्काउँदै छन्, त्यसले राजनीतिमा समेत लामो समय जनमुखी र गतिशील नेतृत्व आउने आशा मेटाइदिन्छ । गुन्डागर्दी गर्नेलाई प्रहरीले कार्बाही त गर्ला, तर उनीहरूलाई जुन विचारधारात्मक तत्वले सञ्चालन गरेको छ, त्यो कायम रहेसम्म शैक्षिक क्षेत्र वैचारिक बहसको थलो बन्ने सम्भावना भने देखिन्न ।