मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एन–बिरगिट अब्रेक्टसेन
२०७७ असोज २१ बुधबार ०६:०६:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

महिलाविरुद्ध अनलाइन दुर्व्यवहार

Read Time : > 2 मिनेट
एन–बिरगिट अब्रेक्टसेन
२०७७ असोज २१ बुधबार ०६:०६:००

सामाजिक सञ्जाल कम्पनीहरूले अनलाइनमा हुने दुव्र्यवहारविरुद्ध कदम चाल्न ढिलो भइसकेको छ

भौतिक आक्रमणको धम्की । नांगो फोटो । जातीय गाली । शरीरलाई गिज्याउने । यी दुर्व्यवहार दैनिक जीवनमा सह्य हुँदैन । तर, भर्खरैको एक विश्वव्यापी सर्वेक्षणमा ५८ प्रतिशत महिलाले सामाजिक सञ्जालमा यस्ता व्यवहार नियमितजस्तो सामना गरेको बताएका छन् । महिलाहरूले दुर्व्यवहारलाई अनलाइन अनुभवको सामान्य हिस्साका रूपमा स्विकार्न थालेका छन् । पाँचमध्ये एकजनाले दुर्व्यवहारपछि सामाजिक सञ्जालको प्रयोग उल्लेख्य घटाएको वा प्रयोग गर्नै छाडिदिएको पाइएको छ । 

सामाजिक सञ्जाल प्रयोग गरिरहेका दशमध्ये एकले थप दुर्व्यवहारबाट बच्न आफ्नो शैली बदलेका छन् । केही त डिप्रेसनतर्फ धकेलिएको देखिन्छ । दुर्व्यवहार सामना गर्ने कुरामा महिला एक्लो हुन्छन् । तीनमध्ये एकजनाले दुर्व्यवहारकर्ताविरुद्ध रिपोर्ट गर्दा पनि समस्या कम नभएको पाए । यो विश्वभरको यथार्थ हो । अनलाइन दुर्व्यवहारबारे प्लान इन्टरनेसनलले गरेको हालसम्मको सबैभन्दा ठूलो सर्वेक्षणमा २२ देशका १४ हजार युवतीलाई यस विषयमा विभिन्न प्रश्न गरिएको थियो । यस क्रममा अमेरिकादेखि केन्यासम्म, भारतदेखि जाापनसम्म महिलाका समान कथा सुनिए । 

अनलाइनमा हुने दुर्व्यवहारलाई रोक्नुपर्ने विश्वव्यापी अभियानले पछिल्लो समय बल पाइरहेको छ । अब सामाजिक सञ्जाल तथा सरकारले कदम उठाउने समय आइसकेको छ । न्यून आययुक्त मुलुक हुन् वा उच्च आययुक्त मुलुक रिपोर्टका अनुसार महिलाले नियमित यौनजन्य म्यासेज, पोर्नोग्राफिक फोटो, साइबर स्टकिङ अन्य दुर्व्यवहार तथा शोषण सामना गर्ने गर्छन् । समस्याको सबैभन्दा विकराल रूप फेसबुकमा देखिन्छ, जहाँ ३९ प्रतिशले दुर्व्यवहारको सामना गरे । त्यसपछि इन्स्टाग्राम (२३ प्रतिशत), ह्वाट्सएप(१४ प्रतिशत) र ट्विटर(९ प्रतिशत) आउँछ । अन्य अवस्थामा जस्तै यसको सबैभन्दा बढी भार विभिन्न तहको विभेद सामना गरिरहेकाहरूले सामना गर्नुपरेको छ । अर्थात् महिला सीमान्तकृत जाति वा धार्मिक समुदायका छन्, असक्त छन् वा एलजिबिटिआइक्यु पहिचान स्विकारेका छन् भने उनीहरू थप निसानामा पर्छन् । अनलाइनमा हुने दुर्व्यवहारको असर महिलाको अफलाइन जीवनमा समेत पर्छ । सर्वेक्षणमा सहभागी पाँचमध्ये एकजनाले अनलाइन दुर्व्यवहारका कारण आफूलाई भौतिक सुरक्षालाई लिएर चिन्ता लाग्ने बताएका छन् । 

दुर्व्यवहारका कारण आधुनिक जीवनमा महिलाको नेतृत्व तथा सहभागितामा अवरोध पुग्नेछ । युवतीको आत्मविश्वास, नेतृत्व सम्भावना र शारीरप्रतिको सोचमाथि प्रहार गर्ने हानिकारक लैंगिक मूल्य–मान्यता हाम्रो समाजको हरेक कुनामा पहिलेदेखि व्याप्त छन् । युवतीहरूमाथि सडकमा हुने दुर्व्यवहारले तिनलाई सार्वजनिक क्षेत्र असुरक्षित रहेको विश्वास दिलाएको थियो । समाजमा महिलाहरू नेता हुन सक्दैनन् भन्ने बलियो मान्यताले नीति निर्माण क्षेत्रमा पनि तिनको उपस्थितिमा असर गरेको छ । अनलाइनमा हुने हिंसाले यी पक्षलाई हिंसात्मक रूपमा प्रस्तुत गरेको छ । ३९ प्रतिशत महिलाले अनलाइनमा हुने हिंसाले तिनको आत्मसम्मान घटाएको र ३८ प्रतिशतले उलेख्य मनसिक तथा भावनात्मक तनाव थप्ने बताएका छन् । १८ प्रतिशतले यसका कारण आफूले विद्यालयमा समस्या भोग्ने गरेको बताएका छन् । सुरुमा अनलाइन माध्यम ‘ग्रेट इक्विलाइजर’ भनेर चिनिन्थ्यो तर आज यही महिलाका लागि असहिष्णु बनेको छ । 

यसका लागि कदम चाल्नुपर्ने निकायमा सामाजिक सञ्जाल सबैभन्दा महत्वपूर्ण छ । महिलाहरूले विद्यमान माध्यम प्रभावकारी रहेको र कुनै पनि प्रमुख माध्यमले हिंसा रोक्न पर्याप्त काम नगरेको बताएका छन् । ३५ प्रतिशतले आफूलाई दुर्व्यवहार गर्नेविरुद्ध रिपोर्ट गरेका भए पनि त्यस्तो व्यवहारमा कमी नभएको पाए । किनकि दुर्व्यवहार गर्नेले अन्य एकाउन्ट बनाएर पुनः सो कार्य दोहोर्‍याउने गरेको पाइएको छ । र, रिपोर्ट गर्नेको संख्या धेरै भए मात्र कुनै कडा कदम उठाएको पाइन्छ । परिणामस्वरूप युवती तथा महिलाले विश्वका प्रमुख सामाजिक सञ्जाल माध्यमलाई एक खुलापत्र लेख्दै अनलाइन दुर्व्यवहारविरुद्ध रिपोर्ट गर्ने थप बलियो र प्रभावकारी माध्यम सिर्जना गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालसँग यो समस्याको सामना गर्ने पर्याप्त साधन छन् । तर, यस विषयमा कदम उठाउनुपर्ने सामाजिक सञ्जाल कम्पनी मात्र होइनन् । अनलाइन दुर्व्यवहारको सामना गर्नका लागि सरकारले विशिष्ट कानुन लागू गर्नुपर्छ । त्यस्तै पीडित सहायता सेवा तथा अनलाइन वातावरण सुरक्षित बनाउने कुरामा पनि सरकारले ध्यान दिनुपर्छ । अनलाइन हिंसाविरुद्ध विश्व नै एक ठाउँमा उभिनुपर्छ । इन्टरनेटको बढ्दो पहुँच र कोभिड–१९ को आगमनपछि अनलाइन सहभागिताको विस्तारले अनलाइन सुरक्षाको मुद्दा प्राथमिकतामा ल्याउनुपर्छ । 

(एन–बिरगिट प्लान इन्टरनेसनलकी सिइओ हुन्)
अलजजिराबाट