१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
२०७७ असोज १९ सोमबार १७:२४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समयसीमाभित्र गृहकार्य गर्न ओली-प्रचण्ड असफल, महाधिवेशन तयारीको योजना पनि अलपत्र 

Read Time : > 1 मिनेट
२०७७ असोज १९ सोमबार १७:२४:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड समयसीमाभित्रै मन्त्रिपरिषद्  पुनर्गठनदेखि एकीकरणको बाँकी काम टुंग्याउने गृहकार्यको जिम्मेवारी पूरा गर्न असफल भएका छन् ।

गत ४ र ६ असोजपछि केन्द्रीय सचिवालय बैठक बस्न सकेको छैन । पछिल्लो बैठकयता ओली र प्रचण्डबीच आठपटकसम्म छलफल भइसके पनि केन्द्रीय सचिवालयले दिएको जिम्मेवारी पूरा गर्न दुवै अध्यक्ष असफल भएका छन् ।

पार्टी एकीकरण भएको करिब अढाई वर्ष पूरा हुँदासमेत एकतासँग जोडिएका कतिपय काम अझै अल्झिएका कारण गत २६ भदौमा सम्पन्न स्थायी समिति बैठकले प्राथमिकताका साथ एकीकरणको बाँकी काम तत्काल टुंग्याउने निर्णय गरेको थियो ।

स्थायी समिति बैठकको त्यही ‘स्प्रिट’अनुसार ६ असोजमा बसेको सचिवालय बैठकले महासचिव ओली र प्रचण्डले महासचिव पौडेलसँगसमेत बसेर एकीकरणको बाँकी काम तत्काल टुंग्याउनका लागि दश दिनभित्र प्रस्तावको गृहकार्य गर्ने जिम्मेवारी दिएको थियो । तर, त्यसरी बैठकले जिम्मेवारी दिएको समयसीमा चार दिन गुज्रिसक्दा पनि उनीहरूले एकीकरण टुंग्याउने गरी प्रस्तावको तयारी गरेका छैनन् । 

नेकपामा केन्द्रीय निकायहरू, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभागहरूको पूर्णता, पोलिटब्युरो गठनलगायतका एकीकरणको बाँकी काम अझै पूरा भएको छैन ।

त्यस्तै, राजनीतिक नियुक्तिको मापदण्ड तयारीका लागि योग्य व्यक्तिहरूको पहिले रोस्टर बनाउने र त्यससम्बन्धी जिम्मेवारी पनि बैठकले दुई अध्यक्ष र महासचिव पौडेललाई दिएको थियो । तर, ओली–प्रचण्डको लगातारको भेटघाट र छलफल भने बैठकले तोकेको जिम्मेवारीतिरभन्दा पनि मन्त्रिपरिषद् पुनर्गठन र केही नियुक्तिमै केन्द्रित छ । ती दुई विषयमै ठोस सहमति जुट्न नसकेपछि एकीकरणको बाँकी काम टुंग्याउने गरी ओली र प्रचण्डले गृहकार्य नै नगरेको सचिवालयका एक नेताले बताए ।
 
‘स्थायी समितिले दुई अध्यक्षको जिम्मेवारी बाँडफाँड गरिसकेपछि पार्टी नयाँ ढंगले सञ्चालन हुन्छ कि भन्ने अपेक्षा थियो, तर उस्तै सोच र कार्यशैली देखिएपछि तात्विक हिसाबले परिवर्तनको अनुभूति होला जस्तो देखिँदैन,’ ती सदस्यले भने, ‘उहाँहरूले अझै एकीकरणको बाँकी काम टुंग्याउने विषयमा समेत प्रस्ताव गरिसक्नुभएको छैन ।’

यद्यपि, सोमबार भएको करिब पौने दुई घन्टाको भेटवार्तामा भने ओली–प्रचण्ड मंगलबार अपराह्न ४ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा सचिवालय बैठक बोलाउन सहमत भएका छन् । ‘उहाँहरूबीच मंगलबार सचिवालयको बैठक बोलाउने समझदारी भएको छ,’ भेटर्वार्तापछि प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले नयाँ पत्रिकासँग भने, ‘सबै विषयवस्तु सचिवालयमै छलफल हुनेछन् ।’

नेकपाको सचिवालय बैठक नियमित रूपमा नबस्दा केन्द्रीय संगठन विभागले बनाएको महाधिवेशन तयारीसँग जोडिएको कार्ययोजनासमेत अलपत्र छ । 

विभागले गत २७ भदौमा पार्टी सदस्यताको व्यवस्थापन र नवीकरणका विषयमा असोजभित्रै कतिपय काम सक्ने गरी कार्ययोजना बनाए पनि दुई सातादेखि सचिवालय बैठकले पास नगर्दा कार्ययोजना अलपत्र बनेको हो । विभागले असोजदेखि मंसिरसम्म सदस्यता अभिलेखीकरण र नवीकरणको काम सक्ने गरी कार्ययोजना बनाएको थियो ।