मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १९ सोमबार १५:१३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री थापा भन्छन्– बलात्कारबारे आफूले दिएको अभिव्यक्तिले केही अन्योल निम्त्यायो, अब सतर्क हुन्छु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १९ सोमबार १५:१३:००

गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटनाका विषयमा आफूले दिएको अभिव्यक्तिले केही अलमल निम्त्याएको बताएका छन् । 

‘विश्वको तुलनामा नेपालमा बलात्कार र महिला हिंसाको अवस्था चिन्ताजनक छैन’ भन्ने अभिव्यक्ति विवादमा आएपछि थापाले आफ्नो अभिव्यक्तिले अलमल निम्त्याएको थापाले  बताएका हुन् । 

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा आज भएको छलफलमा थापाले अन्य देशहरूको तुलनामा नेपालको अवस्था चिन्ताजनक नरहेको विश्लेषण गरेपछि केही अलमल भएकाले अबदेखि सजगता अपनाउनुपर्ने बताए । 

थापाले गत बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलमा विश्वका दुई सय बढी मुलुकको तथ्यांक विश्लेषण गर्दा नेपालको अवस्था चिन्ताजनक नरहेको बताएका थिए । 

सोमबारको बैठकमा उनले नेपालमा प्रतिदिन ६–७ वटा बलात्कारका घटना घट्ने गरेको पनि बताए । 

आज समिति भएको छलफलमा सांसदहरूले अन्य देशको तुलना गरी नेपालको अवस्था चिन्ताजनक छैन भन्न नहुने बताएपछि गृहमन्त्री थापाले आफूले अब सजगता अपनाउने बताए ।

समिति छलफलमा गृहमन्त्री थापाले नेपालमा कोरोनापछि बलात्कारका घटना वृद्धि भइरहेको पनि बताए । 

विगत वर्षहरूको तथ्यांक हेर्दा यो वर्ष घटनाहरू बढ्न सक्ने उनको भनाइ छ । 

सरकारले बलात्कार, महिला हिंसा र दलित समुदायमाथि हुने हिंसा न्यूनीकरणका लागि शून्य सहनशीलताको नीति अपनाएर अघि बढेको पनि उनको दाबी छ । 

सांसद उदया शर्मा पौडेलले प्रतिदिन सातजना महिला बलात्कारको सिकार हुने तथ्यांक रहेकोमा गृहमन्त्रीले आत्तिनुपर्ने अवस्था छैन भनेर भन्न नहुने बताइन् । 

सांसद रामलखन चमारले उत्पीडित वर्गले प्रहरी प्रशासनबाट अपेक्षाकृत न्याय पाउन नसके भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराए । 

सांसद इन्दु कडरियाले महिला हिंसाका घटना बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरिन् । 

पीडित महिला आफैँ उजुरी दिन जाँदा प्रहरीले उजुरी नलिने गरेका घटनाहरू पनि बाहिर आएकाले छानबिन गरी कडा कारबाही गर्न उनले गृहमन्त्रीको ध्यानाकर्षण गराइन् । 

गृहमन्त्री थापाले महिला हिंसाका घटना न्यूनीकरणका लागि सरकार गम्भीर रहेको बताए । 

पछिल्लो समय देशका विभिन्न ठाउँमा महिलामाथि हुने हिंसाका घटना बढिरहेका छन् । 

विगत वर्षहरूभन्दा यो वर्ष यस्ता घटना बढ्न सक्नेतर्फ संकेत गर्दै थापाले कोरोनाको समयमा महिला हिंसाका घटनाले बढोत्तरी पाएको बताए ।