मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १९ सोमबार ०७:०९:००
Read Time : > 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

खगेन्द्र संग्रौलाको ‘सत्ता र सत्य’ पुस्तक बजारमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १९ सोमबार ०७:०९:००

राजनीतिक चिन्तक, विश्लेषक एवं लेखक खगेन्द्र संग्रौलाको ‘सत्ता र सत्य’ पुस्तक सार्वजनिक भएको छ । सामाजिक सञ्जालबाट आइतबार पुस्तकको  लोकार्पण गरिएको हो । अमेरिकी लेखक मेरी डेसनले छनोट गरेका विश्वविख्यात आठ चिन्तकहरूका ११ वटा दार्शनिक निबन्धहरूलाई संग्रौलाले अनुवाद गरेका हुन् ।

विलियम मोरिस, आन्टोनियो ग्राम्स्की, अल्बर्ट आइन्सटाइन, बर्टोल्ट ब्रेख्त, विलियम हिन्टन, इडुआर्दो ग्यालिआनो, हवार्ड जीन, एडवर्ड डब्लु सइदका प्रसिद्ध विचारप्रधान निबन्धहरू पुस्तकमा संग्रहण गरिएका छन् । १५ वर्ष लगाएर अनुवाद गरिएका निबन्ध संग्रहित पुस्तकले लोककल्याणकारी सत्यको पक्षमा उभिएर सत्तासँग विमर्श गर्छ, सत्तासँग प्रतिवाद गर्छ, सत्ताको प्रतिरोध गर्छ, नयाँ जीवन प्रणालीको परिकल्पना गर्छ ।

संग्रौला भन्छन्, ‘यो पुस्तक आजको विश्व पुँजीवादको आलोचना हो र विश्व पुँजीवाद न मानवजातिका लागि कल्याणकारी भयो, न प्रकृतिका लागि कल्याकारी भयो, न मानिस र प्रकृतिको सम्बन्धलाई सन्तुलितरूपमा यसले कायम राख्न सक्यो । त्यसैले यो पुस्तकले विश्व व्यवस्थाको विकल्पको परिकल्पना गर्छ । यद्यपि सबै विद्वान्हरूले समाजवादको मुखररूपमा वकालत नगरे पनि तर प्रकारान्तरले अबको विश्व जाने भनेको समाजवादमा हो । र, त्यो समाजवाद भनेको मानवीय अनुहारसहितको समाजवाद हो ।’

सत्ताधारीलाई दिशाहीनताबाट सत्मार्गमा लैजान यो पुस्तकले डोर्‍याउने संग्रौलाले विश्वास व्यक्त गरे । भन्छन्, ‘नेपालको अहिलेको सबैभन्दा ठूलो समस्या भनेको विचारको रिक्तता हो । विचारको टाट पल्टाई हो । कांग्रेस कांग्रेसजस्तो छैन, कम्युनिस्ट कम्युनिस्टजस्तो छैन । कांग्रेस र कम्युनिस्टले आफ्नो परम्परागत आदर्श र लोगोलाई व्यवसायको रूपमा व्यापार मात्रै गरेका छन् ।’ आफ्नो जीवनका आजसम्मका कृतिहरूमा यो पुस्तक सबैभन्दा महत्वपूर्ण र सर्वकालिक कृति हुने संग्रौलाको ठम्याइ छ ।

पुस्तकको भूमिकामा राजनीतिक विश्लेषक सिके लालले सबैखाले दर्शनको शाश्वत निष्कर्ष र कुनै पनि विचार अन्तिम नहुने भन्दै स्वतन्त्र चिन्तन र अभ्यासबाट अग्रगमनतर्फ बढ्न यो पुस्तक सहायक हुने बताएका छन् । बुक–हिल पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच रुपैयाँ छ ।