मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असोज १८ आइतबार १८:००:००
Read Time : > 5 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्मला विक मृत्यु प्रकरण : अन्तर्जातीय र त्रिकोणीय प्रेमसम्बन्ध, मोबाइल भेटिएन, रहस्य पनि खुलेन

Read Time : > 5 मिनेट
२०७७ असोज १८ आइतबार १८:००:००

 निर्मला दलित हुन् भन्ने थाहा पाएपछि ललित धना साउदसँग नजिकिन थाले । जब ललित र धनाको सम्बन्धबारे निर्मलालाई थाहा भयो, त्यसपछि निर्मला र धना पनि संवादमा बसेका थिए । ३१ भदौमा बिहानै रेडियोमा समाचार पढेर ललितलाई भेट्न हिँडेकी निर्मलाको शव २ असोजमा झुन्डिएको अवस्थामा भेटियो । तर, अहिलेसम्म मोबाइल भेटिएको छैन ।

000000

त्रिकोणीय प्रेमसम्बन्धका कारण कैलाली घोडाघोडी नगरपालिका–४ जनकपुरकी २३ वर्षीया निर्मला विक (पहराई)को ज्यान गएको छ । हत्या वा आत्महत्या तस्बिर अझै प्रस्ट भएको छैन । परिवारले निर्मलाको हत्या भएको बताएको छ, प्रहरी अनुसन्धानमै छ । निर्मलाको दलित भएकै कारण उनकै प्रेमीको योजनामा हत्या भएको पीडित परिवारको आरोप छ । निर्मलाको हत्या भएको हो वा आत्महत्या हो भन्ने पुष्टि भइनसकेको इलाका प्रहरी कार्यालय सुखडका डिएसपी सागर बोहराले बताए ।

सुखडस्थित रेडियो कैलालीमा काम गर्ने निर्मला र त्यही रेडियोमा काम गर्ने घोडाघोडी–५ पहलमानपुरका २८ वर्षीय ललित जाग्रीबीच प्रेमसम्बन्ध थियो । गएको ३१ भदौमा ललितलाई भेट्न जान्छु भनेर हिँडेकी निर्मलाको शव २ असोजमा जंगलमा शंकास्पद रूपमा झुन्डिएको अवस्थामा फेला परेको थियो । परिवारका अनुसार दलित भन्ने थाहा पाएपछि बेवास्ता गर्न थालेका ललितले त्यस दिन निर्मलालाई भेट्न जंगलमा बोलाएका थिए । अनुसन्धानमा प्रहरीले लापरबाही गरेको गुनासो परिवारको छ ।

निर्मलाले घरबाट बोकेर हिँडेका छाता, चप्पल र घडी घटनास्थल वरपर भेटिए पनि प्रेमीसँग निरन्तर सम्पर्क भइरहेको मोबाइल भने अझै भेटिएको छैन । सुखडमा आफूसँगै बस्ने दिदीलाई प्रेमी ललितसँग भेट्न जान्छु भनेर हिँडेकी निर्मलाले त्यही दिन दिउँसो आफ्नी साथीलाई फोन गरेर ललितसँग बिहे गर्न लागेकोसमेत बताएकी थिइन् । त्यसपछि उनको कसैसँग सम्पर्क भएको छैन ।

प्रहरीले प्रेमी ललित र उनकी अर्की प्रेमिका २० वर्षीया धना साउदलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । घटनाको पछाडिको कारण अन्तर्जातीय प्रेम रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी उत्तमराज सुवेदीले बताए । ‘युवकको दुईतिर सम्बन्ध भएको बुझिएको छ, थप अनुसन्धान जारी छ, त्यसैले अनुसन्धानपछि मात्रै पुष्टि हुन्छ,’ उनले भने ।

दलित भन्ने थाहा पाएपछि सम्बन्ध तोड्न चाहेका ललितले नै जंगलमा बोलाएर निर्मलाको हत्या गरेको उनका दाजु विशाल पहराई बताउँछन् । ‘दलित भन्ने थाहा पाएपछि उसले अर्की केटीलाई ‘हाम्रा जात मिल्दैन, म ऊसँग बिहे गर्दिनँ’ भनेर प्रेमसम्बन्ध सुरु गरेको छ, त्यो कुरा धनाले नै भनेकी छिन्,’ निर्मलाका दाजु विशाल भन्छन्, ‘उसैले जंगलमा भेटौँ भनेर बोलाएकाले यो आत्महत्या हुनै सक्दैन, फेरि उसको मोबाइल अहिलेसम्म नभेटिनुले अरू मान्छेको संलग्नता रहेको स्पष्ट हुन्छ ।’

कैलाली घोडाघोडी नगरपालिका–४ जनकपुरस्थित निर्मला विकको घर ।
निर्मलाको गाउँ जनकपुरदेखि सुखड करिब १० किलोमिटर दूरीमा छ भने त्यहाँबाट उनको शव भेटिएको जंगल करिब पाँच किलोमिटर दूरीमा पर्छ । जंगलको छेउमै ललितको घर छ । ३१ भदौमा बेपत्ता भएकी निर्मलाको खोजीकै क्रममा परिवारले १ असोजमै ललितविरुद्ध उजुरी दिएको थियो । ललितले नै धनालाई पनि पक्राउ गर्नुपर्ने भनेपछि प्रहरीले धनालाई पनि पक्राउ गरेको हो । ५ असोजमा दुवैविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएको परिवारले जनाएको छ । तर, खोजीदेखि अहिले अनुसन्धानमा समेत प्रहरीले लापरबाही गरेको परिवारको गुनासो छ ।

‘१ गते हराएको उजुरी दियौँ, तर प्रहरीले खोज्न सघाएनन्, लास भेटेपछि घटना शंकास्पद भएको सबै सूचना हामीले नै दिइरहेका छौँ, तर प्रहरी पीडितभन्दा पीडकतिर लागेको अनुभूति हुन्छ,’ विशाल भन्छन्, ‘कर्तव्य ज्यानमा उजुरी दिन जाँदा प्रहरीले नै आत्महत्या दुरुत्साहनको मात्रै मुद्दा हाल्न दबाब दिए, अहिले अनुसन्धान पनि फितलो छ, अहिलेसम्म कुनै सुराक मिलेको छैन ।’ विशाल घोडाघोडी नगरपालिकाका कार्यपालिका सदस्यसमेत हुन् । नेकपाको राजनीति गर्ने उनलाई आत्महत्या स्वीकार गरेर आत्महत्या दुरुत्साहनको मात्रै जाहेरी गर्न दबाब आएको उनी बताउँछन् ।

इलाका प्रहरी कार्यालय सुखडका डिएसपी बोहरा प्रहरीले प्राप्त तथ्यहरूलाई लिएर अनुसन्धान गरिरहेको बताउँछन् । ‘घटनाको अनुसन्धान गरिरहेका छौँ, शव र वरपर भेटिएका तथ्य हेर्दा रहस्यमय छ, उनको मोबाइल पनि भेटिएको छैन,’ डिएसपी बोहराले भने, ‘पक्राउ परेकाहरूको पनि मोबाइलमा भएको डाटा डिलेट भएको छ, कल ट्रेसिङ र डाटा रिकभर गरेर हेरेपछि मात्रै भन्न सकिन्छ ।’ उनले भिसेरा परीक्षणका लागि समेत नमुना संकलन गरी पठाइसकिएको बताए ।

१२ असोजमै पोस्टमार्टम रिपोर्ट आए पनि प्रहरीले परिवारलाई जानकारी नदिएको विशालले बताए । निर्मलाको शवको पोस्टमार्टम रिपोर्टले उनको मृत्युको कारण ‘ह्याङगिङ’ भएको देखाएको छ । पोस्टमार्टम रिपोर्टले ‘कज अफ डेथ’ ह्याङगिङ रहेको देखाएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदीले जानकारी दिए । निर्मलाको शवको सेती प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआइजी सुवेदीले जाहेरी लिएर पनि अनुसन्धान भइरहेको बताए । ‘प्रहरीले जाहेरी नै लिएन भन्ने गलत हो । प्रहरीले घटनाको अवस्था हेरेर पीडितलाई सल्लाह दिन सक्छन्, तर जाहेरी रोक्न सक्दैनन्, अहिले त जाहेरी नै भइसकेर अनुसन्धान नै सुरु भइसकेको छ,’ डिआइजी सुवेदीले भने ।

घटनालाई अझै नजिकबाट बुझ्न ३१ भदौमा फर्कनुपर्छ । त्यस दिन बिहानै रेडियोमा समाचार पढेर डेरामा फर्किएकी निर्मला अलि हतारमा देखिन्थिन् । खाना खाएपछि नुहाइधुवाई गरिन् । दिदीसँग तीन सय रुपैयाँ खर्च लिएर साढे १० बजे बाटो लागिन् । उनले दिदीलाई आफ्नो प्रेमी र धनालाई भेट्न गएको बताएकी थिइन् । त्यसपछि उनीसँग परिवारको सम्पर्क भएन ।

बेलुकी उनी घर नफर्किएपछि खोजी सुरु भयो । राति आफन्त र साथीभाइलाई सोधपुछ गरे । प्रेमीसँग भेट्न गएको भन्ने थाहा पाएपछि विशालले भोलिपल्ट उनको नामसहित बहिनी बेपत्ता भएको उजुरी दिए । प्रहरीले ललितलाई पक्राउ गरेर सोधपुछ ग¥यो । १ असोजमा ललित प्रहरीकहाँ नै रहे । २ असोजमा ललित छुटे । उनी घर फर्किएपछि विशालहरू पनि उनकै घर पुगेर खानतलासी लिने योजना बनाए । ‘प्रेमीसँग भेट्न गएकी बहिनी उसैले भगाएर कतै लुकायो होला, बिहे गर्ने योजना होला भन्ने थियो,’ विशाल भन्छन्, ‘तर, उसकै घरमा पुगेपछि कुराले नयाँ मोड लियो ।’

घरमै जम्मा भएका छिमेकी र निर्मलाका आफन्तलाई ललितले निर्मलाको खोजीमा सघाउने भन्दै भने, ‘तपाईंहरू आफन्त र नातागोतातिर खोज्नुस्, म फूलबारी सामुदायिक वनतिर खोज्छु ।’ उनको त्यो वचनले विशाललाई झस्कायो । उनले एउटा समूह त्यतैतर्फ पठाए । सुखडबाट करिब पाँच किमि दूरीमा महेन्द्र राजमार्गसँगै छ, फूलबारी सामुदायिक वन । वनको नजिकै ललितको घर पर्छ, त्यही जंगलमा निर्मला र ललितको भेट्ने योजना बनेको थियो ।

नभन्दै ललितको इसारामा जंगलतर्फ खोज्न गएको टोलीले २ असोजको मध्याह्न जंगलमा निर्मलाको शव फेला पा¥यो । उनको कपाल भुतालिएको, कपालले आधा अनुहार छोपेको, जिउमा लगाएको कुर्ता माथि सोरिएको, अलिकति च्यातिएको र घाँटीमा चोटजस्तो देखिएको दाजु विशाल पहराई बताउँछन् । प्रहरीका अनुसार उनका खुट्टा भुइँभन्दा सात इन्च मात्रै माथि थिए । खुट्टाका औँलाका कापमा माटो थियो । तर, लासदेखि नजिकै भेटिएका चप्पल सफा थिए, सँगै छाता पनि राखिएको थियो । उनको घडी भने शव रहेको ठाउँदेखि २७ फिट टाढा भेटिएको डिएसपी बोहराले बताए ।

२ असोजमै प्रहरीले शव मुचुल्का गरेर सेती प्रादेशिक अस्पताल पठायो । ४ असोजमा मात्रै निर्मलाको पोस्टमार्टम र दाहसंस्कार भयो । प्रहरीले २ असोजमै शव फेला परेपछि ललितलाई पक्राउ गरेको थियो । ललितले प्रहरीलाई आफूलाई मात्रै नभएर धनालाई पनि पक्राउ गर्नुपर्ने भनेका थिए ।

साथीहरूका अनुसार निर्मला र ललित करिब चार वर्षदेखि प्रेमसम्बन्धमा थिए । गाउँमा एसएलसी पास गरेलगत्तै निर्मला सुखडस्थित रेडियो कैलालीमा काम गर्न थालिन् । त्यसयता करिब पाँच वर्षदेखि उनको बसाइ पनि त्यहीँ थियो । ललित र उनको पहिलो भेट कम्प्युटर सिक्ने क्रममा सुखडमै भएको हो । ललितलाई आफ्नी प्रेमिका विककी छोरी हुन् भन्ने थाहा थिएन । पत्रकारिता पढ्ने ललित पनि अभ्यासका लागि क्याम्पसको सिफारिसमा त्यही रेडियोमा काम गर्न थालेका थिए । त्यतिञ्जेल उनीहरूको सम्बन्ध पनि सुमधुर थियो । निर्मलाले जात ढाँटेकी थिइनन्, तर ललित पत्याउँदैनथे ।

तर, गत पुसमा जिल्लामा क्रियाशील दलित पत्रकार संघ गठन हुँदा निर्मला त्यसको सहसचिव भइन् । त्यतिवेला भने प्रेमिकाको जात साँच्चै पो दलित रहेछ भनेर उनी झस्किए । लगत्तै उनको व्यवहार परिवर्तन हुन थाल्यो । त्यही वेलादेखि निर्मला र ललितको सम्बन्धमा दरार आउन थाल्यो । प्रेमीले संघमा बसेको भनेर धम्क्याएपछि निर्मलाले त्यहाँबाट समेत राजीनामा दिएकी थिइन् । तर, ललित भने निर्मलालाई छाडेर धना साउदसँग नजिकिन थालेका थिए । जब ललित र धनाको सम्बन्धबारे निर्मलालाई थाहा भयो, त्यसपछि निर्मला र धनाको पनि कुराकानी सुरु हुन्छ ।

प्रहरीका अनुसार ३० भदौ र ३१ भदौको बिहान पनि निर्मला, धना र ललितको कुराकानी भएको छ । ‘३० भदौमा निर्मला र धनाको चर्काचर्की भयो, त्यसबारे निर्मलाले ललितसँग प्रश्न गरिन्,’ निर्मलाकी दिदी भविसरा भन्छिन्, ‘३१ भदौको बिहान पनि तीनैजनाको कुराकानी भएको छ, त्यसपछि उनीहरू भेटेर गफ गर्ने भन्दै जंगलतर्फ गएका हुन् ।’

दश सन्तानकी आमा हुन् ७० वर्षीया बाटुली पहराई । निर्मला उनकी कान्छी छोरी हुन् । उनका बुबा पहिल्यै बिते । २८ भदौमा बुबाको श्राद्ध थियो । निर्मला पनि घर गएकी थिइन् । बाटुली भन्छिन्, ‘घर आएर गएको दुई दिनमै मेरी छोरीलाई खेदीखेदी मारे, दलितलाई जे गरे पनि हुने यो अवस्था हो ?’ बाटुलीका पाँच छोरा र पाँच छोरी छन् । अब निर्मलाको मात्रै बिहेवारी गर्न बाँकी थियो । सामान्य आर्थिक अवस्था भएको परिवार भएकाले निर्मलाले आमालाई घरको खर्चमा सघाउँथिन् । उनको पढाइ र बसाइ पनि आफैँले कमाएर चलेको थियो । ‘छोराहरू छुट्टै छन्, मेरो बुढेसकालको सहारा नै त्यही थिई, त्यसलाई पनि मारिदिए,’ उनी भन्छिन्, ‘मेरो मर्ने वेला भएको थियो, बरु मलाई मार्नु ।’