१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७७ असोज १८ आइतबार ०७:४८:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जाडोमा कोभिड संक्रमण बढ्छ ?

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७७ असोज १८ आइतबार ०७:४८:००

कोरोना भाइरस चिसो हावामा धेरै समयसम्म बाँच्ने भएकाले जाडो मौसम प्रतिकूल बन्ने सम्भावना

विश्वका तीन करोड ४९ लाखभन्दा बढी मानिस कोरोना भाइरस (कोभिड–१९) संक्रमित भएका छन् । १० लाख ३४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । संक्रमित र मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ । कतिपय युरोपेली मुलुकमा संक्रमणको दोस्रो लहर (सेकेन्ड वेभ) सुरु भइसकेको छ । नेपालमा जाडो मौसम सुरु हुने दिन नजिकिँदै छ । गर्मी मौसममा समेत संक्रमण नरोकिएकाले जाडोयाममा झन् बढ्न सक्ने चिन्ता सुरु भएको छ । तर, विज्ञहरूले भने नेपालमा जाडो महिनामा भाइरस नदेखिएकाले तत्काल अनुमान गर्न गाह्रो हुने बताएका छन् । महामारीको सुरुवातमा भएका केही अध्ययनअनुसार चिसो मौसममा कोभिड भाइरस हावामा सामान्यभन्दा बढी समय जीवित रहन सक्छ । संक्रमितबाट भाइरस वातावरणमा निस्किँदा चिसोका कारण लामो समयसम्म सजिलै बाँच्न सक्छ । 

विश्वका केही देशमा जाडो मौसम सुरु भइसकेको र अन्य भागमा सुरु हुने समय भएकाले विज्ञहरूले संक्रमण झन् बढ्ने अनुमान गरेका छन् । नेपालको सन्दर्भमा जाडोमा संक्रमण फैलने जोखिमबारे तत्काल अनुमान गर्न नसकिने बताउँछन्, सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन । ‘नेपालमा सबै मौसममा कोरोना भाइरस देखिन अझै बाँकी रहेकाले कुन मौसमका कतिसम्म असर पार्छ भन्ने तथ्यका साथ भन्न गाह्रो छ । गत वर्ष जाडोमा कोभिड संक्रमण देखिएको थियो, त्यो समयमा गर्मी मौसममा भाइरस संक्रमण घट्ने भनिएको थियो, जुन सम्भव देखिएन । तसर्थ जाडोमा कतिसम्म बढ्छ, अहिले नै अनुमान गर्न सकिन्न,’ डा.पुन भन्छन्, ‘तर जाडोयाममा प्रायःजसो संक्रमणको जोखिम बढी रहने हुँदा कोरोना भाइरस संक्रमण पनि बढ्न सक्ने अनुमान गर्न सकिन्छ ।’ चीनको वुहानमा जाडो समयमै कोभिड भाइरस देखिएर विश्वभरि फैलिएको थियो । चीनका प्रायःजसो भाग र केही अन्य देशमा जाडोयाममै फैलिएकाले विज्ञहरूले कोरोना भाइरसका लागि चिसो मौसम अनुकूल रहने बताउँदै आएका हुन् । 

नेपालमा सबै मौसममा कोरोना भाइरस देखिन अझै बाँकी रहेकाले कुन मौसममा कतिसम्म असर पार्छ भन्ने तथ्यका साथ भन्न गाह्रो छ । गत वर्ष जाडोमा कोभिड संक्रमण देखिएको थियो, त्यो समयमा गर्मी मौसममा भाइरस संक्रमण घट्ने भनिएको थियो, जुन सम्भव देखिएन । तसर्थ जाडोमा कतिसम्म बढ्छ, अहिले नै अनुमान गर्न सकिन्न । 
- डा.शेरबहादुर पुन, वरिष्ठ सरुवा रोग विशेषज्ञ

सामान्यतः श्वासप्रश्वासमा असर पार्ने भाइरसहरू मौसममा भर पर्छन् । जस्तै, जाडोयाममा फ्लु मुख्य समस्याका रूपमा देखिन्छ । मौसम चिसो हुँदा स्वास्थ्यमा अन्य समस्या देखिने, भाइरस शरीरबाहिर र भित्र लामो समयसम्म बाँच्न सक्ने कारणले गर्दा जाडो मौसममा फ्लुले सताउने गर्छ । अध्ययनहरूका अनुसार, सार्स कोभिड–२, जसबाट कोभिड–१९ उत्पादन भएको थियो, यो भाइरस खोक्दा, हाछ्याुँ गर्दा, कुराकानी गर्दा श्वासप्रश्वासको माध्यमबाट फैलिने गर्छ । जुन चिसो र सुक्खा मौसममा हावामा बढी समय बाँच्न सक्छ । सामान्यतया चिसो मौसममा पानीका कणहरू हावामा सजिलै रहन सक्छन् । संक्रमितको मुखबाट निस्केका ड्रपलेटहरू पनि हावामा लामो समयसम्म रहन्छन्, जुन सजिलै हावाको माध्यमबाट अर्को व्यक्तिमा सर्न सक्छन् । 

जाडो मौसममा सामान्यतः भाइरल संक्रमणले बढी सताउने भएकाले कोभिड संक्रमण पनि बढ्न सक्ने बताउँछन् डा.पुन । भन्छन्, ‘पश्चिमा केही देशहरूले जाडोयामसँगै कोभिडको जोखिम बढ्ने बताइरहेका छन् । खोप सहज उपलब्ध नहुँदासम्म कसरी नियन्त्रणमा राख्न सकिन्छ भन्ने योजना पनि बनाइरहेका छन्, हाम्रोमा यस्तो कुनै योजना छैन । कोभिड जाडोमा बढे वा नबढेमा पनि संक्रमण नियन्त्रणका लागि छलफल आवश्यक छ ।’

वासिंटन विश्वविद्यालयका संक्रामक रोग विशेषज्ञ डा.जोन लिन्चले गत साता पत्रकार सम्मेलनमा जाडो मौसममा घरभित्र रहेका व्यक्तिमा संक्रमणको जोखिम हुने बताएका थिए । उनको भनाइ थियो, ‘प्रायःजसो घरमा परिवारका सदस्यसँग भौतिक दूरी कायम राख्न सकिँदैन, साथै परिवारमा सबै उमेर समूह र स्वास्थ्य अवस्था भएका व्यक्ति बस्ने हुँदा जोखिम बढ्न सक्छ ।’ चिसो मौसममा शरीरमा भाइरससँग लड्ने क्षमता कम हुन्छ । सूर्यको प्रकाश कम हुँदा शरीरमा भिटामिन डीको कमी हुनु, चिसोले कोषहरूमा असर पार्नु र प्रतिरोधी क्षमतामा पनि कमी हुने हुँदा भाइरसले शरीरमा तुलनात्मक रूपमा बढी असर पार्ने गर्छ । पछिल्लो समय अमेरिकी एसोसिएसन अफ भिटामिन डीले गरेको एक अध्ययनले कोभिड र भिटामिन डी डिफिसियन्सीको सम्बन्ध रहेको निष्कर्ष निकालेको थियो । चिसो मौसम सुरु भएपछि फ्लुको जोखिम पनि बढ्ने, साथै कोभिड संक्रमण पनि बढ्ने जोखिम रहनु चिन्ताको विषय भएको बताउँछन् डा.पुन ।