१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १८ आइतबार ०६:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डा. केसीको समर्थनमा चिकित्सक आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १८ आइतबार ०६:५०:००

स्वास्थ्य सेवा सुधारको माग गर्दै २० दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीको समर्थनमा जुनियर चिकित्सक आन्दोलनमा उत्रिएका छन् भने युवाले शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । 

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जमा सत्याग्रहमा बसिरहेका डा. केसीको स्वास्थ्य बिग्रिँदै गएको छ । उनलाई जतिवेला पनि समस्या आउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । डा. केसीको स्वास्थ्य दिनहुँ खस्किँदै गएको उनका सहयोगी प्रितम सुवेदीले बताए । 

२० दिनसम्म पनि सरकारले वास्ता नगरेपछि उनको समर्थनमा प्रदर्शन सुरु भएको छ । शनिबार स्वतस्फुर्त रूपमा युवाले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरूले डा. केसीको जीवनरक्षाको माग गर्दै प्रदर्शन गरेका हुन् । 

त्यस्तै, जुनियर चिकित्सक पनि डा. केसीको समर्थनमा आन्दोलनमा उत्रिएका छन् । उनीहरूले डा. केसीको जीवनरक्षा गर्न र तत्काल उनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरेका छन् । 

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौंस्थित वीर अस्पताल र महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका जुनियर चिकित्सकले सरकारलाई वार्ताका लागि २४ घन्टाको ‘अल्टिमेटम’ दिएका छन् । अब २४ घन्टाभित्र वार्ता नभए आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

२९ भदौमा जुम्लाको धर्मशालामा सत्याग्रह सुरु गरेका डा. केसीलाई स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेपछि काठमाडौं आएका हुन् । उनलाई राखिएको त्रिवि शिक्षण अस्पतालमै सत्याग्रह जारी राखेका छन् । सरकारले भने २० दिन बितिसक्दा पनि वार्ताका लागि समेत पहल गरेको छैन ।