मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ असोज १७ शनिबार २१:०७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

निमित्त प्रमुख प्रशासकीय अधिकृतद्वारा सुरक्षाको माग 

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ असोज १७ शनिबार २१:०७:००

आफू असुरक्षित रहेको भन्दै चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले सुरक्षाको माग गरेका छन् । वर्षातले बिगारेका सडक मर्मतका विषयमा कांग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले मार्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै अधिकृत केसीले निवेदन दिएका छन् । 

फोनमार्फत गाजी–बेइज्जती गर्दै आफूलाई मार्ने धम्की आएको केसीले प्रशासनमा बुझाएको निवेदनमा उल्लेख छ । सभापति ओलीका छाेराहरुकाे नाममा रहेको एचबी इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालि र चौरजहारी नगरपालिकाबीच सडक मर्मत तथा सफाइ गर्ने कामका लागि गत ८ असोजमा ठेक्का सम्झौता भएको थियो । 

नगरपालिकाभित्रका वडा नं. २ देखि ८, ९ र १४ सम्मका सडकको मर्मत तथा सरसफाइको काम निर्धारित समयभित्र सम्पन्न हुन नसकेपछि आफूहरूले ताकेता गर्दा नेता ओलीले आवेशमा आएर गाली–बेइज्जती गर्नुका साथै मार्ने धम्की दिएको अधिकृत केसीको आरोप छ । केसीले शान्तिपूर्ण वातावरणमा बाँच्न पाउने हक कुण्ठित भएको एवं जिउज्यानमा जुनसुकै वेला खतरा हुने देखिएको उल्लेख गर्दै आफ्नो ज्यानको पूर्ण सुरक्षाको ग्यारेन्टी गर्न र छानबिन गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष माग गरेका छन् । 


कुनै धम्की दिएको छैन : सभापति ओली 
सभापति ओलीले भने कुनै धम्की नदिएको बताएका छन् । सात दिनको निर्धारित समय सकिएपछि केही दिन म्याद थप्न आग्रह गर्दा सामान्य विवाद मात्र भएको उनले बताए । 


७५ प्रतिशत काम सम्पन्न भइसकेको र केही दिनको समय माग्दा नगरपालिकाले समय दिन नमानेको, कालोसूचीमा राख्नेजस्ता धम्की दिएको ओलीको आरोप छ । 

विवाद भएपछि काम रोकिएको, अधिकृतले ठेक्का तोड्ने मनसायले तीन दिनको चिठी काटेको र उक्त चिठी पनि दुई दिन ढिलो गरी शनिबार मात्र पाएको उनको दाबी छ । 

सात दिनमै काम सम्पन्न गर्ने गरी सम्झौता 
नगरपालिकाले वर्षायामका कारण नगरपालिकाअन्तर्गतका सडक खण्ड मर्मतका लागि गत १६ भदौमा १५ दिनको ठेक्का आह्वानको सूचना जारी गरेको थियो । ८ असोजमा नगरपालिका र एचबी इन्जिनियरिङ एन्ड कन्स्ट्रक्सन प्रालिबीच भएको सम्झौता भएको थियो ।