१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १६ शुक्रबार १४:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सोमबारकाे प्रदेश सभा बैठकमा राजधानीको छलफल अघि बढ्छ : मुख्यमन्त्री पोखरेल 

Read Time : < 1 मिनेट
२०७७ असोज १६ शुक्रबार १४:४९:००

५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशको राजधानीसम्बन्धी प्रस्तावमाथि आगामी सोमबारबाट प्रदेश सभामा छलफल हुने बताएका छन् ।

प्रदेश सरकारले अर्घखाँचीको शीतगंगा नगरपालिका तथा दाङको राप्ती र गरुडा गाउँपालिकाभित्र पर्ने गरी भालुवाङमा प्रदेशको राजधानी राख्ने निर्णय गरेपछि नयाँ पत्रिकासँग संक्षिप्त कुरा गर्दै पोखरेलले सोमबारबाट प्रदेश सभामा छलफल अघि बढ्ने जानकारी दिएका हुन् । सरकारले शुक्रबारै प्रदेश सभामा राजधानीको प्रस्ताव छलफल दर्ता गरिसकेको छ ।

‘राजधानीसम्बन्धी प्रस्तावमाथि छलफल गर्न सोमबार प्रदेश सभा बैठक बस्छ, त्यहीँ प्रक्रियाअनुसार छलफल भएर अन्तिम निर्णय हुन्छ,’ पोखरेलले भने । 

प्रदेश ५ को राजधानी दाङ कि बुटवल भन्नेमा नेकपा र कांग्रेसका प्रभावशाली नेताहरू नै विभाजित रहेका कारण लामो समयदेखि टुंगो लाग्न सकेको थिएन । तर, नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच गत मंगलबार भएको सहमति, प्रदेश सरकारको प्रस्ताव र प्रदेश सभाको प्रक्रियाबाट बढीमा तीन–चार दिनभित्रै प्रदेश ५ को राजधानी टुंगो लाग्ने भएको छ ।

नेकपाको प्रदेश ५ को इन्चार्ज पोखरेलले अध्यक्षहरूबीच समझदारीलगतै राजधानीको विवाद टुंगो लाग्ने बताउँदै आएका थिए । यसअघि बागमती प्रदेशको राजधानी पनि ओली र प्रचण्डको समझदारीपछि हेटौँडा टुंगो लागेको थियो ।