मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज १५ बिहीबार १६:२७:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

के हो पोस्ट कोभिड सिन्ड्रोम ?

Read Time : > 1 मिनेट
२०७७ असोज १५ बिहीबार १६:२७:००

कोभिडमुक्त भइसकेका धेरै बिरामीमा पुनः कोभिडका लक्षण देखिन थालेका समाचार आइरहेका छन् । कोभिड नयाँ रोग भएका कारण यी घटनालाई चिकित्सकले अध्ययनको मुख्य पाटोको रूपमा हेरेका छन् । कतिपय अध्ययन संस्थानहरूले यस विषयमा सर्वेक्षण तथा अध्ययनसमेत गरिसकेका छन् । अध्यन रिपोर्टअनुसार कोभिडमुक्त भइसकेका अधिकांशमा श्वास–प्रश्वाससम्बन्धी समस्या, जोर्नीको दुखाइ, मांसपेशी दुख्ने, रिँगटा लाग्ने, भ्रम, आँखाको दृष्टिमा परिवर्तन, तनाव र डिप्रेसनजस्ता समस्या देखिएको उल्लेख छ । यीमध्ये लामो समयसम्म थकान महसुस हुने, मांसपेशी र शरीर दुख्ने, ध्यान केन्द्रित गर्न गाह्रो हुनेजस्ता लक्षण धेरै भएको पाइएको थियो । यस्ता लक्षणलाई पोस्ट कोभिड सिन्ड्रोम भनिएको छ । 

संक्रमण निको भए पनि स्वास्थ्य समस्या
युनिभर्सिटी अफ टेक्सासको न्युरोलोजी एट डेल मेडिकल स्कुलले गरेको अध्ययनअनुसार संक्रमणमुक्त भइसकेपछि पनि स्वास्थ्यमा सामान्य लक्षणहरू देखिइरहेका छन् । सामान्यतया संक्रमणको समयमा प्रतिरोधी क्षमता कमजोर हुने, शरीर सुन्निने, मस्तिष्क वा मेरुदण्डमा प्रत्यक्ष असर हुने भएको पछिसम्म प्रतिकूल असर देखिन सक्छ । जसले गर्दा संक्रमणमुक्त भइसकेपश्चात् पनि थकान महसुस भइरहने हुन्छ । तर, कोभिडपछाडि देखिने यस्ता लक्षण संक्रमणको कारणले मात्रै हुन्छ भन्ने कुनै यकिन छैन । सामान्यतया लामो समयसम्म कुनै रोगसँग जुध्नुले शरीरमा कुनै न कुनै किसिमको प्रतिकूल असर पारिरहेको हुन्छ । लामो समयसम्म बिरामी परेर निको भएका व्यक्तिमा सामान्य स्वास्थ्य समस्या र पोस्ट ट्रम्याटिक स्टे«स देखिनु सामान्य रहेको चिकित्सकहरू बताउँछन् ।

कोभिडको दीर्घकालीन असरबारे अध्ययन जारी
कोभिडले मानिसको शरीरमा पार्न सक्ने दीर्घकालीन असरहरूबारे विभिन्न तथ्य सार्वजनिक भइरहेका छन् । अध्ययनहरूले पनि फरक–फरक धारणा सार्वजनिक गर्दै आएका छन् । अहिलेसम्म महामारी जारी नै रहेकाले तत्काल यसको दीर्घकालीन असरबारे थप अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरूको भनाइ छ । सामान्यतया आइसियूमा उपचार गराएका बिरामीमा भाइरसले अन्य समस्या विकसित गर्ने सम्भावना रहन्छ । तर, सामान्य लक्षण रहेका र घरमै उपचार गरेका व्यक्तिमा समेत पछि गएर पुनः लक्षण देखिन सक्छन् । जुनसुकै स्वास्थ्य समस्यालाई पनि कोभिडसँग जोडेर हेर्दा आममानिसमा सिन्ड्रोम देखिएको पाइन्छ । 

दीर्घरोगी जस्तै मधुमेह, मोटोपना आदि समस्या भएका व्यक्तिमा संक्रमण निको भइसकेपश्चात् पनि अन्य समस्या देखिन सक्छन् । भाइरसले शरीरमा कति असर पार्छ भन्ने कुरा स्वास्थ्य अवस्थामा निर्भर रहन्छ । यस्तै, सिन्ड्रोम देखिनुको मुख्यकारण संक्रमणबाट उत्पन्न तनावले निम्त्याउने गरेको पनि पाइन्छ । –एजेन्सीको सहयोगमा