तीन महिनादेखिको वर्षाका कारण अवरुद्ध भएका पाँचथरका ग्रामीण सडक खुलेका छन् । पछिल्लो तीन दिनयता पानी पर्न छोडेपछि यातायात सहज भएको हो ।
पाँचथरको रवि जिल्लाका ठूला बजारमध्येको एक हो ।
दक्षिणी पाँचथरसहित इलाम जिल्लाका विभिन्न गाउँलाई सेवा प्रदान गर्ने रवि बजारमा यातायातका साधन पुग्न नसकेको दुई महिनाभन्दा लामो समय भएको थियो ।
असारको सुरुदेखि नै यातायातमा सहज नभएपछि रवि क्षेत्रका स्थानीयले दैनिक उपभोग्य वस्तु लिन समस्या हुने गरेको थियो ।
लगातारको वर्षापछि झापाको दमकतर्फबाट भित्रिने सवारीसाधन पनि आउनलाई सहज थिएन । पानी रोकिएपछि सामान्य मर्मत गरिएपछि यातायात सहज भएको स्थानीयले बताए ।
कोरोना भाइरस संक्रमणका कारण बन्दाबन्दीको असरमा रहेका स्थानीयलाई यातायात खुलेपछि केही सहज भएको थियो । सवारी खुले पनि बाटोमा समस्या हुँदा दैनिकी असामान्य बनेको थियो । अहिले बाटो केही सहज भएका कारण समस्या टरेको कुरुम्बाका भकेन्द्र लावतीले जानकारी दिए ।
लगातारको वर्षातले राँके–रवि खण्डका पूर्ण बन्द थियो । राँके–रविखण्डमा यस वर्ष मात्रै सवारी बन्द भएकाे भने होइन । हरेक वर्ष यही समयमा यो समस्या आउने गरेको छ ।
बाटो केही सहज भएपछि नाङगिन, याङनाम, सिदिनलगायतका स्थानमा सवारी नियमित भएका हुन् ।
नियमित सवारी सञ्चालन हुन नसक्दा त्यस क्षेत्रका आधा दर्जन गाउँका स्थानीयलाई समस्या भएको थियो ।
सवारी नचल्दा दैनिक उपभोग्य वस्तुदेखि कृषि उपज निर्यातमा समेत समस्या हुने गरेको छ ।