१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज १५ बिहीबार ०९:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मण्डनदेउपुर नगरपालिकाविरुद्ध कांग्रेस आन्दोलित

कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूलाई माइन्युट पढ्न र हस्ताक्षर गर्न नदिएको आरोप

Read Time : > 1 मिनेट
२०७७ असोज १५ बिहीबार ०९:४९:००

नेपाली कांग्रेस मण्डनदेउपुर नगर समिति मण्डनदेउपुर नगरपालिकाविरुद्ध आन्दोलित भएकाे छ । नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले एकलौटी तरिकाले निर्णय गर्दै अगाडि बढेको भन्दै कांग्रेस आन्दोलित भएका हुन् ।

बुधबार मण्डनदेउपुरका कांग्रेस कार्यकर्ताले कुन्ता बजारदेखि प्लेकार्डसहित  नगरपालिकाको गेटमा एक घन्टा शान्तिपूर्ण धर्ना दिएका थिए । उनीहरू बिहान १० बजेदेखि ११ बजेसम्म नगरपालिकाको गेटअगाडि भुइँमा बसेर धर्ना दिएका थिए । 

नगरपालिकाले जुनसुकै निर्णय आफूअनुकूल गर्ने र कसैले भनेको नसुन्ने उनीहरूको आरोप छ । कांग्रेस नगरले पटकपटक नगरप्रमुख वाइबालाई ध्यानाकर्षण गराए पनि आफूहरूको कुरालाई बेवास्ता गरेको र पछिल्लो समयमा दुईपटक ज्ञापनपत्र बुझाउँदासमेत अटेर गरेपछि यसरी धर्ना दिन बाध्य भएको नेपाली कांग्रेस मण्डनदेउपुर नगर सभापति रामहरि सापकोटाले जानकारी दिए । 

विकास निर्माणमा ढिलासुस्ती, अनियमितता, दलगत विभेद आदि भएकाले आफूहरू आन्दोलित हुनुपरेको उनको भनाइ छ । जनताबाट उठेको करबाट सवारीसाधन खरिद गरी आफ्ना आसेपासेलाई चलाउन दिएको उनले आरोप लगाए । किसानलाई मलको अभाव हुँदासमेत नगरपालिकाले बेवास्ता गरेको सापकोटाको भनाइ छ । 

शिक्षा क्षेत्रमा पनि नगरप्रमुखले एकलौटी निर्णय गरी दलगत स्वार्थमा शिक्षक सरुवा गरेको सापकोटाले आरोप लगाएका छन् । ‘नगरपालिकामा नगरप्रमुख आएपछि शिक्षाजस्तो संवेदनशील क्षेत्रमा समेत आक्रमण गर्न सुरु भयो,’ उनले भने, ‘आफूनिकट शिक्षकलाई घरपायक र नेपाली कांग्रेसनिकटका शिक्षकलाई अपायक ठाउँमा सरुवा गर्ने काम नगरपालिकाले गरेको छ ।’

नगरपालिकाले कृषि क्षेत्रमा पनि त्यसरी नै आफूअनुकूल निर्णय गरेको आरोप नेपाली कांग्रेस लगाएकाे छ । कृषिका लागि अनुदान, कृषि सामग्रीहरू सबै आफ्नो पार्टीनिकटका व्यक्तिहरूलाई  मात्र दिएको कांग्रेसको आरोप छ ।

कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूलाई माइन्युट पढ्न र हस्ताक्षर गर्न नदिएको आरोप
नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरूलाई माइन्युट हेर्न, निर्णय पढ्न, हस्ताक्षर गर्न र फरक मत राख्नसमेत नदिएको नेपाली कांग्रेसले आरोप लगाएकाे छ । वडाध्यक्षहरूले पटकपटक निर्णयपुस्तिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेसँग  माग्दा नदिएको आरोप लगाएका छन् ।

‘कार्यपालिकाको निर्णयपुस्तिका वडाध्यक्षलाई नै हेर्न नदिने कहाँको नियम हो ?’ सापकोटाले भने । मण्डनदेउपुर नगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख न्यौपानेले कुनै पनि काम नियमविपरीत नभएको बताएका छन् । ‘स्थानीय सरकार सञ्चालन ऐनमा टेकेर नगरकार्यकापालिकाले ऐन–नियम बनाएको छ, त्यसैमा रहेर नगरपालिकाकाे काम गरेका छौँ ,’ न्यौपानेले भने ।