मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
उज्ज्वलविक्रम थापा
२०७७ असोज १५ बिहीबार ०६:४०:००
Read Time : > 4 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

एसिड आक्रमणविरुद्धको अभियान

Read Time : > 4 मिनेट
उज्ज्वलविक्रम थापा
२०७७ असोज १५ बिहीबार ०६:४०:००

२२ फेब्रुअरी सन् २०१५ का दिन वीर अस्पताल पुग्दा आकस्मिक कक्षमा पत्रकारसहितको भीड थियो । एसिडपीडितको उपचार हुँदै रहेछ । सुरुमा त ल्याबमा काम गर्दा कसैलाई शरीरमा एसिड पर्‍यो होला भन्ठानेँ । भीडमा छिरेर हेरेपछि भयावह दृश्य थियो– पीडित युवतीको अनुहार पूरै डढेको थियो । त्यस्तो कहालीलाग्दो दृश्य त्यसअघि कहिल्यै देखेको थिइनँ ।

एसिड आक्रमणमा परेर अस्पताल ल्याइएका युवतीद्वय संगीता मगर र सीमा बस्नेत थिए । घर पुगेपछि केही डाक्टर साथीलाई सोध्दा एसिडले मानिसको हड्डीसमेत गलाउँछ भन्ने जवाफ पाएपछि म आफैँ गलेँ । राति राम्रो निद्रा परेन, संगीता र सीमा बहिनीको अनुहारले झक्झक्याइरह्यो । उनीहरूलाई कति पोलिरहेको होला भन्ने सम्झनाले आफैँलाई पोलिरह्यो । तिनको भविष्यको चिन्ताले छटपटी भयो । दिमागमा आफ्नै छोरीको अनुहार आउन थाल्यो ।

भोलिपल्ट अस्पताल पुग्दा पैसाको अभावले उनीहरूको उपचारमा व्यवधान भइरहेको थाहा पाएपछि तत्कालीन गृहमन्त्री वामदेव गौतमसँग हारगुहार गरेर निःशुल्क उपचारको प्रबन्ध मिलाइयो । हारगुहार गरेरै अस्पतालको बेडबाटै एसएलसी परीक्षा दिने वातावरण मिलाइयो । एसएलसी पास भएपछि नोबेल एकेडेमीमा छात्रवृत्तिमा पढ्ने बन्दोबस्त मिलाइयो । यसपछि नसोचेको भयो । हरेक एसिड आक्रमणका घटनापछि पीडित पक्षले सम्पर्क गर्न थाले । र, पछिल्ला तीन वर्षका धेरै समय अस्पताल आतेजातेमै बितेका छन् । 

–२६ भदौ, २०७५ मा रौतहटकी सम्झना दास र सुमिता दासमाथि एसिड आक्रमण भएपछि उपचारार्थ कीर्तिपुरको बर्निङ अस्पताल ल्याइयो । उपचारको १२औँ दिनमा सम्झना सम्झिने मात्र पात्र बनेर गइन् । तर, अस्पतालले पैसा नतिरीकन लास नदिने भयो । एउटी बहिनीको उपचार भइरहेको छ, अर्कोको मृत्य भएको छ, परिवारको आर्थिक अवस्था दयनीय छ । अस्पताल पैसा नतिर्दासम्म लास दिन्न भन्छ । 

– जेठ २०७६ मा एसिड आक्रमणमा परेकी जेनी खड्काको कीर्तिपुरकै अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको थियो । मास्क र कालो चस्माले अनुहार ढाकेकी युवती आएर ‘जेनीलाई भेट्नु छ’ भनेर जिद्दी गर्न थालिन् । आइसियूको बिरामी भेट्न मिल्दैन भन्दा पनि अड्डी कसेपछि डाक्टरलाई अनुरोध गरेर हेर्न दिइयो । जेनीलाई हेरेर फर्केपछि ती बहिनी त मेरो पाखुरा समातेर डाँको छाड्न थालिन् । भनिन्, ‘एसिड छ्याप्ने धम्की दिएर ममाथि बलात्कार भयो, मैले जे खपेँ, त्यो बढी हो कि यो बढी हो भनेर हेर्न आएको ।’ प्रहरी अड्डा जाऔँ भन्दा ती बहिनी मानिनन् । ‘परिचय गोप्य रहन्छ भनेर अनेक अनुनय–विनय गर्दा पनि तयार भइनन् । 

–मुस्कान खातुनको उपचार चलिरहँदा कीर्तिपुर अस्पतालमा एक दिन १२ वर्षकी नानीले मलाई दुई सय रुपैयाँ दिँदै भनिन्, ‘अंकल, म कलेज जाँदा यस्तो घटना नहोस् ।’ यस्तै घटनाले मलाई यो अभियानमा अघि बढिरहन उत्प्रेरणा दिइरहयो । ती पीडितहरूको पीडाले थकाइ मार्न दिएन । भयानक पीडा र भयबाट गुज्रिरहेका व्यक्ति र परिवारका लागि म अन्जान व्यक्ति हो ।

उहाँहरूले ममाथि विश्वास गर्नु नै मेरो लागि उत्प्रेरणा थियो । अपरिचित ठाउँ, अपरिचित मान्छे, त्यसमाथि एसिडको पीडा । तथापि, ममाथि भरोसा गर्नुभएको छ । एसिड आक्रमणविरुद्धको अभियानमा सामेल भएपछि आफ्नै परिवारलाई पर्याप्त समय दिन सकिएन । दिन–रात अस्पतालमै बिताउनु पनि पर्‍यो । घर आएपछि पनि पीडितको उपचार, पुनस्र्थापना कसरी गर्ने भनेर छलफल गर्दै समय बित्थ्यो । तैपनि, परिवारले साथ दियो । 

एसिडपीडितको उपचार लामो र महँगो छ । उपचार जिन्दगीभरजस्तो चल्छ । सधैँ हारगुहारले मात्र धान्न सकिने अवस्था थिएन । सरकारले जिम्मा नलिई नहुने देखियो । सरकारलाई दबाब दिन एसिडपीडितलाई बारम्बार बाहिर निस्किन आग्रह गरियो । तर, न रोजगारी न शिक्षा छ, न कुनै सुविधा नै भएका पीडित समाजलाई फेस नगरी भाग्न चाहने । यसपछि पीडितलाई शिक्षा र रोजगारी पनि चाहिन्छ, अर्थात् समाजमा पुनस्र्थापना गरिनुपर्छ भन्ने महसुस भयो । प्रधानमन्त्रीसामुन्ने एसिडपीडितलाई पुर्‍याउन सके प्रधानमन्त्रीको मन पग्लिन्छ भन्ने लाग्न थाल्यो, जसरी संगीता र सीमालाई देख्दा मेरो मन पग्लेको थियो । यिनका लागि केही नगरी हुन्न भन्ने अठोट गरेको थिएँ । 

अहिले जारी भएको कानुन र प्रधानमन्त्रीले गरेको घोषणा एसिड आक्रमणमा विश्वकै अग्रगामी हो । एसिड आक्रमणमा यति कडा कानुन र पीडितलाई यति सुविधा, सहुलियत अन्त सायदै छ ।
 

पहिले त संगीता र सीमाले सर्वोच्च अदालतमा रिट दायर गरे । सर्वोच्चले एसिड बिक्री–वितरण नियमन गर्नु भनेर सरकारका नाममा आदेश जारी गर्‍यो । तर, आदेश कार्यान्वयन भएन । त्यसपछि मुस्कानले प्रधानमन्त्रीलाई चिठी लेखिन् । लामो समयपछि प्रधानमन्त्रीले मुस्कानलाई भेटे । मुस्कानलाई भेटेपछि प्रधानमन्त्रीले एसिडपीडितसँग सामूहिक भेटघाटका लागि २५ भदौको समय दिए । प्रधानमन्त्रीले सामूहिक भेट्छु भनेपछि कानुन बन्छ भन्ने आस पलायो । प्रधानमन्त्रीस“गको भेटमा सबै पीडितको भनाइको सार एउटै थियो, ‘कडा कानुन बनाइयोस्, हामीले जस्तै पीडा अरूले भोग्न नपरोस् ।’

पीडितका कुरा सुनिसकेपछि प्रधानमन्त्रीले गरेको घोषणाले सबैलाई उत्साहित बनायो । आखिर २५ भदौमा प्रधानमन्त्रीलाई त्यही पीडा भएछ, जुन मलाई संगीता र सीमालाई देख्दा भएको थियो । पीडितको उपचार, शिक्षा, रोजगारी मात्र नभई तत्काल क्षतिपूर्तिदेखि पीडितलाई व्यावसायिक कर्जा दिनेसम्मको घोषणा भयो । यति मात्र नभई प्रधानमन्त्रीले २५ भदौलाई ‘एसिड आक्रमणविरुद्धको सचेतना दिवस’को रूपमा मनाउने घोषणा पनि गरे । 

अहिले जारी भएको कानुन र प्रधानमन्त्रीले गरेको घोषणा एसिड आक्रमणमा विश्वकै अग्रगामी हो । एसिड आक्रमणमा यति कडा कानुन र पीडितलाई यति सुविधा, सहुलियत अन्त सायदै छ । जबकि, दक्षिण एसियामा नेपाल एसिड आक्रमणका सबैभन्दा कम घटना भएको देश हो । न्यूनतम १० वर्षदेखि आजन्म कारावासको सजाय, एसिड बिक्री वितरणमा कडाइ, पीडितको उपचार, शिक्षा र रोजगारीको जिम्मा नै सरकारले लिएको छ । आक्रमणकारीको सम्पत्ति रोक्का गरेर तुरुन्तै क्षतिपूर्ति दिलाउने व्यवस्था छ । 

०७० सालयता भएका एसिड आक्रमणका घटनामा सरकार पनि दोषी छ, किनभने ०७० सालमा सर्वोच्च अदालतले एसिड बिक्री–वितरणमा नियमन गर्नु भनिसकेपछि पनि सरकारले सुनेन । यसअघि कानुनमा घाउचोट हेरेर क्षतिपूर्ति दिने उल्लेख थियो । त्यो हटाएर अंगहरू भनेर राखियो । शरीरको कुनै पनि अंगमा एसिड परेमा कम्तीमा पनि १० वर्ष कैद सजाय हुने व्यवस्था राखिएको छ ।

एसिड आक्रमणविरुद्धको कानुन पारित भएपछि भारतबाट लक्ष्मी अग्रवालले फोन गरेर हाम्रो कानुनको अंग्रेजी अनुवाद माग गरेकी छन् । नेपाली कानुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई देखाएर यस्तै कानुन बनाउन दबाब दिने योजना बनाएकी छन् । लक्ष्मी अग्रवालकै कथामा आधारित भएर ‘छपाक’ सिनेमा बनेको थियो ।

कानुन बने पनि कार्यान्वयन हु“दैन भन्ने शंका गरिरहेका छन् । तर, यो कानुन कार्यान्वयन हुनेमा विश्वस्त छु । किनभने, एसिड आक्रमणमा पर्ने अधिकांश युवा हुन्, युवा एसिड आक्रमणविरुद्ध सक्रिय छन् । सरकारले आफ्ना संयन्त्रमार्फत कानुनको बारेमा देशभरि जनचेतना फैलाउने काम भने गर्नुपर्छ । समय यस्तो पनि थियो, एसिडपीडित अस्पतालको बेडमा मृत्युस“ग जुधिरहेको छ, तर ऊसँग सिटामोल किन्ने पैसा पनि छैन । 

२५ भदौमा प्रधानमन्त्री कार्यालयबाट बाहिर निस्केपछि संगीताले भनिन्, ‘अंकल, अब अस्पतालको बेडमा गएर सुत्यो भने हाम्रो उपचार हुन्छ है ।’ संगीताको श्वासप्रश्वासमा अझै समस्या छ । पैसाको अभावमा उपचार गराउन नसकेका यस्ता नानीले अब आफ्नो उपचार हुनेमा विश्वास गरेका छन् । उपचारमै परिवारको जायजेथा बिक्री गर्न पर्दैन भनेर विश्वास गरेका छन् । जागिर पाइन्छ, जीविका चल्छ भनेर विश्वस्त छन् । 

(थापा एसिड आक्रमणविरुद्धका अभियन्ता हुन्)