१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १४ बुधबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अब क्यामेरा लिएर घुम्छन् ललितपुरका नगर प्रहरी

Read Time : < 1 मिनेट
२०७७ असोज १४ बुधबार १९:११:००

ललितपुर महानगरपालिकाभित्र अब नगर प्रहरीले साइकल गस्ती गर्ने भएको छ । उनीहरूलाई फोटो र भिडियो खिच्ने क्यामेरासहित सडक संरक्षण, फुटपाथको सदुपयोग, ढल र सरसफाइलाई व्यवस्थित गर्न गस्तीमा परिचालित गरिएको छ ।

नगर प्रहरीको ‘साइकल गस्ती’ कार्यक्रमको उपप्रमुख गीता सत्यालले बुधबार उद्घाटन गरिन् । अबदेखि दैनिक रूपमा महानगर क्षेत्रमा नगर प्रहरीले साइकल गस्ती गर्ने भएका छन् । साइकल लिएर महानगर प्रहरीको गल्ली, टोल र चोकमा पुग्ने र त्यहाँको सडक, फुटपाथ, ढल र फोहोरमैला व्यवस्थापनको अनुगमन तथा रिपोर्टिङ गर्ने सत्यालले बताइन् ।

‘यसले बिग्रेको सडक, फुटेको ढलको बारेमा दैनिक रिपोर्टिङ हुन्छ र समयमै व्यवस्थापन तथा संरक्षणमा चासो पुग्छ, सहरको नियमित सरसफाइसमेत नगर प्रहरीले थालेको छ,’ उनले भनिन्, ‘यसले स्वच्छ महानगर बनाउन मद्दत पुग्छ ।’ ललितपुरलाई साइकल सिटी बनाउने अवधारणासमेत अघि सारिएकाले सोही कार्यक्रमको प्रवर्द्धनका लागि समेत साइकल गस्तीलाई प्राथमिकता दिइएको उनले बताइन् ।

नगर प्रहरी प्रमुखमा सीताराम हाछेथू नियुक्त भएपछि महानगरपालिकामा नगर प्रहरीको सक्रियता बढेको छ । उनले मुख्य सडकका फुटपाथमा सञ्चालित व्यापार व्यवसायलाई विस्थापित गर्ने अभियान चलाएका छन् । हाछेथूले महानगरभित्रको गल्ली र टोल–टोलमा सजिलो होस् भनेर साइकलमार्फत गस्ती सुरु गरेको बताए । उनले साइकल गस्तीको मद्दतले नगरवासीलाई नै सेवा पुग्ने र सडकमा यात्रा गर्नसमेत सजिलो हुने बताए ।

हाल महानगरले नगर प्रहरीलाई १० वटा साइकल प्रदान गरेको छ ।  साइकल चढेका १० नगर प्रहरी एकैसाथ महानगरको भित्री क्षेत्र, चक्रपथ,  महानगरबाहिरको वडाहरूमा समेत पुग्ने हाछेथूले जानकारी दिए ।