मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज १४ बुधबार १७:५१:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गृहमन्त्री भन्छन्– विश्वपरिवेश हेर्दा बलात्कारमा नेपाल पछाडि छ, तर स्थितिलाई फेर्नुपर्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज १४ बुधबार १७:५१:००

गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटनामा विश्वपरिवेश हेर्दा नेपाल पछाडि नै रहेको बताएका छन् । तर, अहिलेको स्थितिलाई पनि बदल्न जरुरी रहेको र त्यसतर्फ सरकारले अधिकतम प्रयास गरेको उनको भनाइ छ । बुधबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले बलात्कारका घटनामा नेपाल पछाडिबाट हेर्दा शीर्ष १५ भित्र पर्ने बताए ।

उनले भने, ‘सवा दुई सय देशको अवस्थाको विश्लेषण गर्दा हामी धेरै चिन्तित हुनुपर्ने स्थिति पनि हाेइन । यसको न्यूनीकरण गर्ने सन्दर्भमा सरकारबाट प्रयासहरू भएका छन् र हाम्रो स्थान धेरै पछाडि नै छ । भन्नुको अर्थ, सवा दुई सयमा हाम्रो स्थान पछाडि आउँछ । पछाडिबाट हेर्दा सायद टप १५ मा हामी छौँ भन्ने विश्लेषणबाट देखिन्छ । हामीभन्दा अगाडि विकसित मुलुकहरू छन् । अमेरिकालगायत दक्षिण अफ्रिका सबैभन्दा अगाडि देखिन्छ । अमेरिका पनि टपटेनभित्र पर्छ । तैपनि हामीले हाम्रोतर्फबाट हेर्दा यो स्थितिलाई बदल्नु जरुरी छ भन्नेमा सरकार स्पष्ट छ र यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न सरकारको तर्फबाट अधिकतम प्रयास भइरहेको छ ।’

गृहमन्त्री थापाले विगतमा दैनिक ६ जना बलात्कृत हुने गरेकोमा अहिले सातजना पुग्नु चुनौती भएको बताए । बलात्कारका घटना निधान गर्ने, रोकथाम गर्ने कुरामा सरकार चिन्तित रहेको उनको भनाइ थियो । थापाले भने, ‘पछिल्लो समय बलात्कारका घटना वृद्धि भएको छ । गत वर्ष ६ वरिपरि थियो भने अहिले सातभन्दा बढी पुगेको छ भन्ने कुरा आएको छ ।  वृद्धि हुनु कुनै सुखद कुरो हाेइन, यो चुनौतीको कुरा हो । त्यसकारण यसको कसरी हामीले निदान गर्ने, रोकथाम गर्ने भन्ने कुरामा सरकार चिन्तित छ ।’

कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनालाई जोड्दै उनले अपराधीहरूलाई कठघरामा ल्याउन राज्यबाट ढिलाइ भएको स्विकारे । समिति बैठकमा उठेका जिज्ञासालाई सम्बोधन गर्दै उनले भने, ‘अपराधीहरूलाई कानुनी कठघरामा ल्याउने कुरामा सरकारका तर्फबाट केही कमजोरी भएका छन्, कञ्चनपुरकै घटनाको विषयमा पनि सरकारले शीघ्रताका साथ अपराधीलाई कानुनको कठघरामा उभ्याउने भन्ने प्रतिबद्धता जायर गरेको दुई वर्षभन्दा बढी भइसक्यो, तर यो भएको छैन भन्ने कुरा पनि माननीयज्यूहरूले उठाउनुभएको छ । हामीले अपराधीलाई कानुनको कठघरमा ल्याउन ढिलाइ अवश्य पनि भएको छ । तैपनि मैले आज यहाँ सम्मानित समितिलाई जानकारी गराउँदा, हामीले निरन्तर रूपमा अपराधीलाई कानुनको कठघरामा ल्याउन लागिरहेकै छौँ । अहिले पनि हामीलाई विश्वास छ यो प्रयासमा हामी सफल हुन्छौँ ।’

बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने कुरा उठिरहँदा त्यसलाई पनि सरकारले गम्भीरतापूर्वक लिने उनको भनाइ थियो । ‘हामीले घटनाहरूलाई वर्गीकरण गरेर त्योअनुरूप हाम्रा कानुनहरू बनाउनुपर्ने हो कि भन्ने कुराहरू आएको छ । दोस्रो कुरा, नेतृत्व पनि यस्ता घटनामा जिम्मेवार छ कि प्रहरी पनि जो रक्षक हो उही नै भक्षक भइदियो कि भन्ने कुराहरू पनि यहाँ उठेको छ । त्यसकारण सबै पाटोबाट हेर्दा हामीले बलात्कार, हत्या हिंसाका घटनाहरूलाई रोक्न कानुनको क्षेत्रमा पनि केही परिमार्जन गर्नुपर्ने र अर्काेतिर हामीले ‘प्रिभेन्टिभ’ कदमहरूलाई पनि अझै तीव्रता दिनुपर्ने भन्ने सुझाब पनि आएको छ । यस्ता सुझाबलाई सरकारले गम्भीरतापूर्वक लिएको छ,’ उनले समिति बैठकमा भने ।

समाजमा हुने अपराधका कारणबारे पनि गृहमन्त्री थापाले प्रस्ट्याए । मुख्यगरी दुईवटा पक्षमा उनको जोड थियो । उनले भने, ‘अपराध हुने कारण मुख्यतः दुईवटा कारण छ । किन अपराधहरू घट्छन् ? आपराधिकजन्य घटना किन घट्छन् ? वैज्ञानिक किसिमले हामीले यसको विश्लेषण गर्दा यसमा दुईवटा आधार हुन्छन् । बलात्कारको घटनामा हेर्दा व्यक्तिको चिन्तन, मनोवृत्ति, संस्कृति र समाजको कानुन, राजनीति, अवस्था, नेतृत्व सबै एउटा पक्ष हो । अर्काे बायोलोजिकल, जेनेटिकल हो । त्यसकारण यो दुईवटा कारणबाट समाजमा आपराधिक घटना भएको देखिन्छ ।