१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १४ बुधबार १०:१६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

असन्तुष्ट समूहले भत्कायो निर्माणाधीन विद्यालय भवन, करिब तीन लाखको क्षति

Read Time : < 1 मिनेट
२०७७ असोज १४ बुधबार १०:१६:००

सिराहाको मिर्चैया नगरपालिका– ३ राघोपुर बकथलवास्थित आधारभूत विद्यालयको नवनिर्मित दुईकोठे भवन असन्तुष्ट समूहले भत्काउँदा करिब तीन लाख रुपैयाँको क्षति भएको छ ।  दुई हप्ता अघिदेखि निर्माण थालिएको भवनका लागि ट्रस ठड्याएर डिपिसी ढलान गर्ने तयारी गरिएको अवस्थामा सोमबार राति ट्रससहित जोडिएको इँटासमेत भत्काउँदा करिब तीन लाख रुपैयाँबराबरको क्षति भएको मिर्चैया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरराज आङ्देम्बेले बताए । 

निर्माणाधीन भवन भत्काएको थाहा पाएपछि मंगलबार आफूसहितको टोली पुगेर निरीक्षण गरेको जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत आङ्देम्बेले राज्यको सम्पत्ति तोडफोड गर्नेका कारण समाज पछाडि धकेलिने भएकाले संलग्नहरूलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए । 

विद्यालय व्यवस्थापन समितिले निर्माण समितिमार्फत बनाइरहेकाे भवन तोडफोड भएपछि भर्खर खोलिएको विद्यालयमा बालबालिकाहरू आउन डराइरहेको प्रधानाध्यापक देवशंकर यादवले बताए । ‘घटनाको विषयमा नगरपालिकाको शिक्षा शाखा, प्रहरीमा लिखित जानकारी दिएको छु,’ प्र.अ. यादवले भने । उनले स्थानीय खगेश्वर गोहीवार यादव नेतृत्वको समूहले निर्माणाधीन विद्यालय तोडफोड गरेको आरोप लगाए ।

भवन भत्काएको विषयमा छानबिन भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मिर्चैया प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तुलाल जैसवालका अनुसार विद्यालयमा आवश्यकताअनुसार सुरक्षा दिएर सञ्चालन गर्न आग्रह गरिएको छ । ‘वडा कार्यालय, बजार र विद्यालयसँगै जोडिएको छ,’ उनले भने, ‘करिब अढाई दशकदेखिको विवाद रहेको सुनेको छु, विवादको कारण पुरानो मुद्दा पनि रहेको थाहा पाएपछि विभिन्न कोणबाट अनुसन्धान गर्दै छौँ ।’