१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७७ असोज १४ बुधबार ०९:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रविधिमैत्री बन्दै लमजुङ प्रशासन 

Read Time : < 1 मिनेट
२०७७ असोज १४ बुधबार ०९:२१:००

सर्वसाधारण जनतामाझ सूचना र प्रविधिको पहुँच पुगेसँगै जिल्लास्थित सरकारी कार्यालय पनि प्रविधिमैत्री बन्दै गएका छन् । गाउँगाउँमा इन्टरनेट सुविधा पुगेसँगै नागरिककै सहजताका लागि सरकारी कार्यालयले पनि प्रविधिमैत्री सेवा प्रवाह थालेका हुन् ।

केही दिनअघि दोर्दी गाउँपालिका– १ की १८ वर्षीया मनीषा पराजुली नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय आएकी थिइन् । सरकारी कार्यालयमा कामकाज ढिलो हुन्छ भन्ने सुनेकी उनी आफन्तलाई कुर्दै प्रतीक्षालयमा बसिरहिन्, फाँटमा सोध्न गइनन् । 

ढिला गरी नागरिकता फाँटमा पुगेकी उनलाई त्यहाँका कर्मचारीले नाम, ठेगाना सोधे, चाहिने कागजात मागे । तुरुन्तै कम्प्युटरबाट प्रिन्ट निकालेर हस्ताक्षर गर्न सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारसमक्ष पठाउँदा उनी दंग परिन् । छिटो काम बन्नु उनका लागि आश्चर्य भयो । 

हिजोआज जिल्ला प्रशासनमा आउने सेवाग्राही यसरी नै चाँडो कार्यसम्पादन हुँदा खुसी छन् । कार्यालय प्रविधिमैत्री बनाइएपछि काम छिटो हुन थालेको छ । 

स्रोतसाधनसम्पन्न भएसँगै नागरिकता र राहदानी फाँटमा भिड कम भएको छ । डिजिटल नागरिक बडापत्र सञ्चालन गरेको जिल्ला प्रशासन कार्यालय लमजुङले मोबाइल एप्स पनि सञ्चालनमा ल्याएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । 

जिल्लाको शान्ति सुरक्षा, सुशासन, सार्वजनिक सेवा प्रवाह, विपत् व्यवस्थापनसम्बन्धी विषयहरूमा गुनासो सुनुवाइका लागि प्रशासनमा हटलाइन सेवासमेत सुरु गरिएको प्रजिअ शर्माको भनाइ छ ।