मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
भारततर्फबाट झापा गाउँपालिकाको सीमा हुँदै सामान ल्याउँदै साना व्यापारी ।
२०७७ असोज १४ बुधबार ०६:०२:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सीमा सिल, तर रोकिएन अवैध व्यापार

Read Time : > 1 मिनेट
२०७७ असोज १४ बुधबार ०६:०२:००

नेपाल–भारत खुला सीमामा सिल भएको सात महिना बितिसक्यो । तर, नाकामा अवैध सामान ओसारपसार र आवतजावत रोकिएको छैन । खुला सीमाको फाइदा उठाउँदै भारतीय साना व्यापारीले नेपालका सीमावर्ती बजारसम्म सामान ओसारपसार गरिरहेका छन् । औपचारिक व्यापार हुने नाकामा सुरक्षाकर्मीको कडाइ छ । त्यसैले अवैध व्यापारमा संलग्नहरूले खोला र खेतको बाटो प्रयोग गर्दै सामान ल्याउँछन् । उनीहरूले ल्याउने सामान नेपालतर्फका साना व्यापारीले बुझ्छन् ।

लकडाउनअघिसम्म भन्सार महसुल तिरेर भित्रिने सामान पनि अहिले अवैध बाटोबाट भित्र्याइने गरेको छ । भारतबाट रासायनिक मल, माछा, खाद्यान्न र किराना सामग्री विनाभन्सार भित्रिने गरेका छन् । लकडाउन खुकुलो बनाइएसँगै सीमामा अवैध व्यापार मौलाउन थालेको हो । लकडाउन अवधिमा अवैध व्यापार पनि ठप्प थियो ।

‘अहिले सीमावर्ती नेपाली बजारमा भारतीय सामान प्रशस्त पाइन थालेको छ,’ झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह भन्छन्, ‘स्थानीय तहले मात्र अवैध व्यापार नियन्त्रण गर्न नसकिने रहेछ ।’

सीमामा सुरक्षाकर्मीको संख्या घटाइएपछि अनियन्त्रित आवतजावत बढेको साहको भनाइ छ । ‘यसले सीमा क्षेत्रमा कोरोना संक्रमणको त्रास बढाएको छ,’ उनी भन्छन्, ‘पहिले एक–एक किलोमिटर फरकमा सुरक्षाकर्मीका पोस्ट थिए । एउटा पोस्टबाट अर्कोमा सहजै देख्न सकिन्थ्यो । तर, अहिले पोस्ट टाढा–टाढा मात्र छन् ।’ त्यसैको मौका छोपेर सामान ओसारपसार बढेको उनी बताउँछन् । भन्छन्, ‘सुरक्षाकर्मीका पोस्ट नथपी आवतजावत रोक्न सकिँदैन ।’

झापामा भारतसँग एक सय ४४ किमि सीमा जोडिएको छ । त्यही खुला सीमाबाट अवैध व्यापार र अनियन्त्रित आउजाउ बाक्लिएको हो । ‘कोरोनाको डर त हामीलाई पनि छ । तर, डरले मात्र नहुने रहेछ,’ भारतबाट सामान ल्याउँदै गरेको भेटिएका झापा गाउँपालिकाका शम्भुप्रसाद गणेश भन्छन्, ‘परिवार चलाउनुपर्‍यो । त्यसकारण लुकेर भए पनि भारतबाट सामान ल्याइरहेका छौँ ।’

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना भने सीमामा हुने आवतजावतका विषयमा जानकारी नभएको बताउँछन् । भन्छन्, ‘मलाई जानकारी थिएन । कहाँ त्यस्तो भएको छ, म कुरा गरेर मिलाउँछु ।’

मन्त्री भन्छन्– अनियन्त्रित आउजाउ रोक्न सकिएन
प्रदेश–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की भने खुला सीमाबाट भइरहेको अनियन्त्रित आउजाउ रोक्न नसकिएको बताउँछन् । ‘नेपाल र भारतबीच खुला सिमाना छ । यसको फाइदा उठाउँदै आवतजावत हुन्छ नै । काँडेतार छैन,’ उनी भन्छन्, ‘सोहीकारण पूर्ण रूपमा रोक्न सकिने अवस्था छैन । भारतमा संक्रमित बढ्दै जाँदा नेपालमा पनि खतरा छ ।’