कोभिड– १९ सम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सिसिएमसी) ले निषेधाज्ञापछि सेवा सञ्चालन गर्न बाँकी रहेका क्षेत्रहरू खोल्ने सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निर्णय गर्ने भएको छ । सिंहदरबारमा मंगलबार बसेको सिसिएमसी निर्देशक समितिको बैठकले कोभिड– १९ का कारण रोकिएका बाँकी सेवाहरू सुचारु गर्ने सम्बन्धमा अध्ययन गरी सम्बन्धित मन्त्रालयबाट प्रस्ताव आएपछि निष्कर्षमा पुग्ने निर्णय गरेको छ ।
बैठकका निर्णयहरू सुनाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले खोल्न बाँकी रहेका क्षेत्रहरू सुचारु गर्ने सम्बन्धमा अध्ययन गरी प्रस्ताव ल्याउने सम्बन्धमा निर्णय भएको बताए । उनले भने, ‘खोल्न बाँकी रहेका सेवाहरू सम्बन्धित मन्त्रालयले विस्तृत अध्ययन गरेर त्यसको स्थिति के छ र के–कसरी सञ्चालन गर्न सकिन्छ त्यसको खाका तयार गरेर ल्याउने र उक्त खाकामा छलफल गरेर टुंगाेमा पुग्ने निर्णय भएको छ ।’
बैठकले तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा उद्धार कार्यलाई थप व्यवस्थित गर्ने निर्णय पनि गरेको छ । उनले भने, ‘तेस्रो मुलुकबाट उद्धारको क्रम जारी रहेको अवस्थामा थप व्यवस्थित गरी थप उडानको व्यवस्था गरेर शीघ्र उद्धार गर्न बाँकी नेपाली नागरिकको उद्धार गर्ने भन्ने निर्णय भएको छ ।’
बैठकले कोभिड– १९ रोकथाम तथा नियन्त्रणलाई थप व्यवस्थित र प्रभावकारी बनाउन जनचेतना अभिवृद्धिका कार्यक्रमलाई बढाउने निर्णयसमेत गरेको छ । त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनचेतनामूलक सन्देशहरू तयार गरेर विभिन्न सञ्चारमाध्यमबाट प्रसारण गर्ने व्यवस्था गर्ने सम्बन्धमा समेत निर्णय भएको सचिव गुरागाईंले बताए ।