१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज १३ मंगलबार १३:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

होटेल सञ्चालकको कुटाइबाट ग्राहकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असोज १३ मंगलबार १३:०६:००

मोरङको उर्लाबारी नगरपालिका– ७ मा रहेको एक होटेलका सञ्चालकले कुटपिट गर्दा ग्राहकको मृत्यु भएको छ । 

युनिक होटेलका सञ्चालक २६ वर्षीय गोपाल तामाङले कुटपिट गर्दा होटेलमा खाजा खान आएका एक युवकको मृत्यु भएको हो । 

आइतबार राति मादक पदार्थ सेवन गरी श्रीमतीसहित होटेलमा पुगेका ३५ वर्षीय सुशील मल्लिकको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए । 

संखुवासभा घर भएका होटेल सञ्चालक तामाङ उर्लाबारीमा होटेल सञ्चालन गरेर बसेका थिए ।

उनले होटेलमा आएका मल्लिकलाई आइतबार राति ११ः३० बजेतिर कुटपिट गरेर घाइते बनाएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार बाहिरैबाट मादक पदार्थ सेवन गरेर होटेलमा श्रीमती कञ्चनसहित पुगेपछि विवाद हुँदा तामाङले कुटपिट गर्दा होटेलमै मल्लिक बेहोस भएका थिए । 

होटेलमै बेहोस भएका मल्लिकको टाउकोमा चोट लागेको थियो । उनलाई उपचारका लागि उर्लाबारीको गोदावरी अस्पतालमा भर्ना गरिएको थियो । 

गोदावरीमा उपचार हुन नसकेपछि सोमबार बिहान झापाको बी एन्ड सी अस्पताल लगिएको प्रहरीले जनाएको छ । 

बी एन्ड सीले पनि उपचार सम्भव नहुने जनाउँदै भारतको सिलिगुडी रिफर गरेको थियो । 

मल्लिकको सिलिगुडीमा उपचारका क्रममा सोमबार राति उपचारकै क्रममा मृत्यु भएको एसपी खड्काले बताए । 

भारतको दार्जिलिङ घर भएका सुशीलले विगत केही वर्ष अघिदेखि विभिन्न बजारहरूमा सुनका गहना बनाउने काम गर्ने गरेका थिए । 

प्रहरीले कुटपिटमा संलग्न होटेल सञ्चालक तामाङलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।