१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
द्वैपायन रेग्मी
२०७७ असोज १२ सोमबार १५:४३:००
Read Time : > 3 मिनेट
ब्लग डिजिटल संस्करण

शिक्षामा आधुनिकीकरण अपरिहार्य

Read Time : > 3 मिनेट
द्वैपायन रेग्मी
२०७७ असोज १२ सोमबार १५:४३:००

शिक्षाले मान्छेलाई के गलत र के ठीक, के उचित के अनुचित सिकाउन सक्नुपर्छ । जीवनको आधारभूत क्रियाकलाप सिकाउन सक्नुपर्छ । तर, नेपालको शैक्षिक प्रणाली तीन घन्टाको परीक्षाका निमित्त मात्रै बनाइएको प्रतीत हुन्छ, जसले जीवनमा आमूल परिवर्तन गराउन सकेको छैन । निजी विद्यालय होस् या सरकारी, स्नातक पढाउने क्याम्पस होस् या विश्वविद्यालय, जसले घोक्न सक्छ, उही अब्बल विद्यार्थी प्रमाणित हुन्छ । घरमा खाना बनाउन आओस्–नआओस्, दुई लाइन अंग्रेजी बोल्न आउँछ भने समाजको अगाडि ऊ नै एक प्रतिभायुक्त विद्यार्थी ठहरिन्छ ! अहिलेको उच्च प्रविधियुक्त एवं प्रतिस्पर्धी युगमा शिक्षा प्रणालीलाई पुरातन ढाँचाको राखिराख्दा हामी विश्वव्यापी बजारमा स्वतः पछाडि पर्ने भयौँ । यसर्थ, शिक्षामा आधुनिकीकरण अहिलेको आवश्यकता हो ।

लम्बाइ र चौडाइ गुणा गर्दा कुल क्षेत्रफल निस्किन्छ भनेर कापीमा पढाएर अब पुग्दैन, विद्यार्थीलाई आफ्नो कोठाको क्षेत्रफल निकाल्न सिकाउन सक्ने सीपतर्फ केन्द्रित हुन आवश्यक छ । ऐच्छिक गणितका जटिल सूत्रहरू जीवनमा कति आवश्यक छन्, त्यसबारे बहस आफ्नो ठाउँमा आवश्यक होला, तर कम्प्युटर सफ्टवेयर एक्सेलमा सूत्र हाल्न सक्ने जनशक्ति आजको आवश्यकता हो । कम्प्युटर विषयमा इन्पुट डिभाइस र आउटपुट डिभाइस भनेर कक्षा ६ देखि स्नातक तहसम्म पढाइन्छ, तर सायद त्योभन्दा बढी, हार्डड्राइभ बिग्रिँदा परिवर्तन गर्न सक्ने सीप महत्वपूर्ण थियो, जुन कहिल्यै सिकाइएन । खेलकुद विषय पढाइन्न, नसिकाई खेल्न छाडिदिने परिपाटी अझै छ– विद्यार्थीलाई विश्वस्तरमा के कस्ता खेलकुद गतिविधि भइरहेका छन्, कुन खेल कसरी खेल्ने आदिका स्थापित तौरतरिका, अब्बल हुने स्पोर्टस्म्यानसिप सिकाइँदैन । इतिहास पढाइन्छ, तर विगतमा जे भयो, त्यो सही भयो या गलत बुझ्न सक्ने क्षमता सिकाइँदैन । कोतपर्व हुँदासमेत गर्व गर्नुपर्ने प्रकारको शिक्षा हामीमा पढाइन्छ । ई–कमर्स पढाइन्छ, तर मोबाइल बैंकिङ कसरी प्रयोग गर्नेबारे उनीहरू अनभिज्ञ हुन्छन् । वित्त पढाइन्छ, ठूला–ठूला हिसाब गराइन्छ, तर सेयर बजारमा १० कित्ता सेयर कसरी खरिद गर्ने भन्नेबारे कतै सिकाइँदैन ।

ऐच्छिक गणितका जटिल सूत्रहरू जीवनमा कति आवश्यक छन्, त्यसबारे बहस आफ्नो ठाउँमा आवश्यक होला, तर कम्प्युटर सफ्टवेयर एक्सेलमा सूत्र हाल्न सक्ने जनशक्ति आजको आवश्यकता हो

विद्यार्थीले कति अंक ल्यायो भन्ने खालको अव्यावहारिक शिक्षामा डुब्दासम्म विद्यार्थीमा सीप विकासको वास्ता हुँदैन । फलस्वरूप, आलु जमिनमुनि फल्छ भनी थाहा पाउँदा विद्यार्थी छक्क पर्ने अवस्था सिर्जना हुन्छ । परीक्षाकेन्द्रित शिक्षाबाट माथि उक्लिनु नै आजको आवश्यकता हो । यस्तो प्रणालीले प्रतिस्पर्धाको भावना सिर्जना गर्छ, अनि समाजमा सक्षम र अक्षमको घेरा छुट्याइदिन्छ । जसले गर्दा कसरी हुन्छ बढी अंक ल्याउने दबाब मात्र हुन्छ, चोरेर होस् या रटेर, उसको ध्यान प्राप्तांकमै केन्द्रित हुने भयो । यही प्रणालीमा हुर्किएको हाम्रो परीक्षा प्रणालीले अन्ततः लोकसेवाको परीक्षातर्फ डोर्‍याउँछ । जहाँ रटेका जानकारीहरूको भण्डारण नै सफलताको सूत्र हुने प्रणाली स्थापित छ । एउटा किताब मज्जाले रटिदियो भने उसले कृषि क्षेत्रको जागिर खान सहजै सक्छ, तर उसलाई ज्ञान भएको कोदो रोप्ने तरिका, एभोगार्डोलाई गर्नुपर्ने स्याहारलगायतका ज्ञान सबै पछाडि पर्छ । हिजो बढी अंक ल्याउने आज कहाँ छ, अनि सीपयुक्त विद्यार्थी, जसले कम अंक ल्याउँथ्यो, ऊ कहाँ छ, आज खोज्न आवश्यक छ । 

नेपालमा शिक्षक रहरले भन्दा पनि बाध्यात्मक अवस्थाले सिर्जना गर्छ । जब अन्य जागिरको विकल्प हुँदैन, जब उसले प्राप्त गरेको शिक्षा अन्य ठाउँमा महत्वहीन हुन्छ, उसले अध्यापन पेसा सुरु गर्छ । अझ सरकारी शिक्षक हुँदा त एउटा दूरदराजको विद्यालयमा उसको पोस्टिङ हुन्छ । केही वर्ष उसलाई अध्यापनभन्दा पनि सरुवा मिलाउनकै ध्याउन्न बढी हुन्छ । आफ्नै तलबको फाँटबारी राम्ररी भर्न नजान्ने शिक्षकहरूले अध्यापन गराएका विद्यार्थीबाट नेपालको भविष्य कसरी पो उज्ज्वल हुने ! अध्यापन बाध्यात्मक पेसा भएको छ । विद्यार्थीलाई केही बनाउनभन्दा पनि तलब बुझ्न विद्यालय जाने शिक्षक प्रशस्त भेटिन्छन् । यसले नेपालको शिक्षा उकास्ने कार्य कतैबाट गर्दैन । निजी विद्यालयको शिक्षाको मापदण्ड पनि एसइईमा ल्याउने अंक रहेको हुँदा त्यसले पनि अंकबाहेक केही प्रदान गरेको देखिँदैन ।

दोष शिक्षक र समाजको मात्र हैन, पाठ्यक्रमको पनि उत्तिकै छ । हाम्रो पाठ्यक्रम एकाएक कतैबाट ल्याइयो, अनि अध्ययन नै नगरी, अनुकूलन नै नगरी सोझै पढाउन थालियो । विदेशमा गाडी दायाँबाट हिँड्दा मान्छेहरू बायाँबाट हिँड्नुपर्छ भन्ने तथ्यलाई नेपालमा बायाँबाट गाडी कुद्दा दायाँबाट हिँड्नुपर्छ भनेर सिकाइनुपथ्र्यो, तर जे थियो त्यही पढाइयो । अनि अहिले गाडी र मान्छे दुवै एकै दिशातर्फ हिँड्छन् । १९८० तिर बनाइएको लेखाको हिसाब अहिले अन्तर्राष्ट्रिय बजारमा निकै परिमार्जन भइसकेको छ । तर, परिमार्जन स्विकार्न नसक्ने हाम्रो प्रणालीले अहिले पनि त्यही १९८० कै लेखा सिद्धान्त र प्रणाली पढाइरहेको छ । आजभोलि बैंक स्टेटमेन्ट सहजै प्राप्त गर्न सकिन्छ, तर हाम्रो शिक्षा प्रणालीले त्यही पुरानो ढाँचाको क्यासबुक र पासबुक पढाइरहेको छ । हाम्रो पाठ्यक्रम अझै पुरानो शैलीको हुँदा आधुनिकीकरणमा प्रवेश गर्न सकेको छैन ।

प्रयोगात्मक शिक्षामा हामी अझै पनि निकै पछाडि छौँ । विद्यार्थीलाई नेपालमा हिमाल, पहाड र तराई छ भनेर पढाइन्छ, तर जतिसुकै महँगो निजी विद्यालय नै भए पनि नेपालको हिमाल, पहाड र तराई लग्दैनन् । बरु भारत, थाइल्यान्ड, मलेसिया लगिन्छ । किताबी शिक्षाकेन्द्रित हाम्रो शिक्षा प्रणालीले जीवनोपयोगी सीप सिकाउन सक्दैन । होटेल म्यानेजमेन्ट नपढी कतै खाना पकाउन सिकाइँदैन, मेडिकल नपढी कसरी सामान्य उपचार गर्ने भनी सिकाइँदैन । आखिर एउटा व्यक्तिलाई बैंकमा खाता पनि खोल्नुपर्छ, मोबाइल र इन्टरनेट बैंकिङ प्रयोग पनि गर्नुपर्छ, खाना पनि पकाउनुपर्छ, बिरामी हुँदा उपचार पनि गर्नुपर्छ, घुम्न कतै जानु पनि पर्छ, तरकारी रोपेर उब्जाउनु पनि पर्छ भन्ने ध्यान कसैको जाँदैन । अनि आफ्नो विषयको ज्ञानबाहेक अन्य परवाह कतै गरिँदैन । 

आज कोरोनाको महामारी हुँदा, हामी अन्य मुलुकले कहिले औषधि निर्माण गर्छ भनी पर्खनुपर्ने अवस्थामा छौँ । किनकि, हाम्रो शिक्षा प्रणालीमा अनुसन्धानले कहिल्यै ठाउँ पाएन । थेसिस किनेर, मिलाएर बुझाउनुपर्ने परिपाटी रहेको हाम्रो शैक्षिक प्रणालीमा खोज, अनुसन्धान र फरक विचारले कहिल्यै स्थान पाएन । जसले गर्दा हामी सधैँ अरूमै निर्भर हुनुपर्ने अवस्था छ । नयाँ युगमा प्रवेश गर्न नयाँ सोच र आधुनिक शैलीको आवश्यकता पर्दछ । हाम्रो शिक्षा क्षेत्रलाई सुधार गर्ने र शिक्षालाई आधुनिकीकरण गर्ने अहिले ठूलो अवसर छ, उपयोग गरौँ । 
(रेग्मी बैंकर हुन्)