मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी काबुल
२०७७ असोज १२ सोमबार ११:४८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अफगान सरकार शान्तिप्रति प्रतिबद्ध देखिएन : तालिबान

Read Time : < 1 मिनेट
एजेन्सी काबुल
२०७७ असोज १२ सोमबार ११:४८:००

अफगानिस्तानमा युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्त राज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका सर्तलाई स्वीकार्न अफगान सरकारले नचाहेको आरोप लगाएको छ । 

अन्तर-अफगान शान्तिवार्तामा तालिबानका तर्फबाट सहभागी वार्ताटोलीका सदस्य खैरुल्लाह खैरख्वाले आफूहरू संयुक्त राज्य अमेरिकासँग भएको सम्झौताबमोजिम अफगान सरकारसँग वार्तामा बसेको स्पष्ट गर्दै तर अफगान सरकार वार्ताप्रति गम्भीर नदेखिएको बताए ।  

उनले गत फेब्रुअरी २९ मा तालिबान र संयुक्त राज्य अमेरिकाबीच भएको सम्झौतालाई मान्यता दिन अफगान सरकारले हिच्किचाइरहेको बताए ।   

उनले भने, ‘विवादको चुरो भनेकै अफगान सरकारले तालिबान–अमेरिकाबीचको सहमतिलाई बेवास्ता गर्न खोज्नु हो ।’

तालिबान–अमेरिकाबीचको सम्झौताले अन्तर–अफगान वार्ताका लागि ढोका खोलेको थियो । सम्झौताबमोजिम एक–अर्काका कब्जामा र जेलमा रहेका युद्धबन्दीहरू मुक्त गरिएका थिए । 

केही महिनाको ढिलाइका बाबजुद अफगान सरकार र तालिबानबीच शान्तिवार्ता गत सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा जारी छ । तर, दुवै पक्षबीच वार्ता सुरु भए पनि अफगानिस्तानमा हिंसात्मक घटना जारी रहेका छन् । 

यसैबीच, अफगान शान्तिवार्ताबारे पाकिस्तानी उच्च पदाधिकारीसँग छलफल गर्न अफगानिस्तानको राष्ट्रिय मेलमिलाप परिषद्का अध्यक्ष अब्दुल्लाह अब्दुल्लाह सोमबार पाकिस्तानको तीनदिने भ्रमणका लागि प्रस्थान गरे । 

पाकिस्तानी विदेश मन्त्रालयका अनुसार अब्दुल्लाहका साथ उच्चस्तरीय अफगान प्रतिनिधिमण्डल रहनेछ । अब्दुल्लाहले पाकिस्तानी राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।