१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
ताराप्रसाद ओली
२०७७ असोज १२ सोमबार ०९:४८:००
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

घनश्याम, कृषिक्रान्ति र समाजवाद

समाजवादका अथक व्याख्याता कृषिमन्त्रीज्यू, कृषिलाई मर्यादित र सम्मानित पेसा बनाइदिनुहोस्, कृषि मन्त्रालयलाई रोजाइको मन्त्रालय बनाइदिनुहोस्

Read Time : > 6 मिनेट
ताराप्रसाद ओली
२०७७ असोज १२ सोमबार ०९:४८:००

नेपालजस्तो अविकसित तथा विपन्न मुलुकका लागि कृषि क्षेत्र अर्थतन्त्रको मेरुदण्ड एवं आर्थिक समृद्धि हासिल गर्ने आधार हो । नेपालीको जीविकोपार्जनको मुख्य आधार नै कृषि हो । कुल गार्हस्थ्य उत्पादनमा २७ प्रतिशत योगदान रहेको कृषिमा ६०.४ प्रतिशत जनसंख्या आबद्ध छ । अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार रोजगारीको क्षेत्रमा कृषिको योगदान ६५ प्रतिशत रहेको छ । पटक–पटक राजनीतिक क्रान्ति गर्दै आएका राजनीतिक दलहरूले अब आर्थिक क्रान्ति गर्ने उद्घोष गर्न थालेका छन् ।

समाजवादका व्याख्याता एवं बौद्धिक नेता कृषिमन्त्री घनश्याम भुषालले कृषिक्रान्तिको बहसको सुरुआत गरिरहँदा कृषि क्षेत्र भने उपेक्षित भइरहेको छ । बिहानीले दिनको संकेत गर्छ भनेझैँ मन्त्री भुषालका कामले भने जुनै जोगी आए पनि कानै चिरेका भन्ने उखानको स्मरण गराएको छ । अहिले नै उहाँको कार्यकालको समीक्षा गर्न हतार भए पनि कृषिक्रान्तिका आधारहरू तयार गर्न थालेको आभास मिलेको छैन । यस आलेखमा मन्त्री भुषाल, कृषिक्रान्ति र समाजवादको नाराको सेरोफेरोमा चर्चा गर्न खोजिएको छ । 

कृषिप्रधान देश र कृषिमा बढ्दो परनिर्भरता : आर्थिक वर्ष ०७६/७७ मा खाद्यान्न बालीको उत्पादनमा ०.९ प्रतिशतले ह्रास आएको छ । धान उत्पादनमा २.२ प्रतिशत र तरकारीको उत्पादन ४ प्रतिशतले घटेको छ । औद्योगिक बालीको रूपमा रहेका उखु, जुट, कफी, चियाको उत्पादन पनि खस्कँदो नै छ । दुधालु भैँसी, खरायो, याक, घोडा, खच्चडलगायतका पशुपन्छीको संख्या उल्लेख्य रूपमा घटेको तथ्यांकले देखाएका छन् । आर्थिक सर्वेक्षणका अनुसार गत वर्ष ४० अर्ब ८२ करोडको खाद्यान्न र १ अर्ब ७८ करोडको माछा, मासु आयात भएको छ । आयातित खाद्यान्नमा धान चामलको हिस्सा करिब ६० प्रतिशत छ । 

गाँस, वास, कपासको जोहोकै लागि नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य छन् । नेपाल जीवनस्तर सर्वेक्षण ०६७/६८ अनुसार विप्रेषण रकमबाट प्राप्त ७८.९ प्रतिशत रकम घरायसी उपभोगमा खर्च हुने गर्छ । कमाइको ठूलो हिस्सा घरायसी उपभोगमा खर्च हुँदा नेपालीको जीवनस्तरमा परिवर्तन हुन सकेको छैन । कृषिमा आत्मनिर्भर हुन नसक्दा पनि गरिबी अपेक्षाकृत घटिरहेको छैन । अहिले पनि १८.७ प्रतिशत नेपाली निरपेक्ष गरिबीको रेखामुनि रहेका छन् । बहुआयामिक गरिबी २८.७ प्रतिशत रहेको छ । कोरोना महामारीको प्रभावले गरिबीको प्रतिशत उल्लेख्य बढ्ने देखिएको छ । 

कोरोना कहर र कृषि : अप्रत्याशित रूपले विश्वभर फैलिएको कोभिड–१९ ले स्वास्थ्य संकट मात्र नभई आर्थिक संकट पनि सिर्जना गरेको छ । कोरोनो असर कुन हदसम्म जान्छ भन्ने अनुमान गर्न नसकिए पनि अन्तर्राष्ट्रिय मुद्रा कोषले सन् २०२० मा विश्वको कुल गार्हस्थ्य उत्पादन ४.९ प्रतिशतले संकुचन हुने आकलन गरेको छ ।

नेपाल राष्ट्र बैँकले गरेको सर्वेक्षणअनुसार बन्दाबन्दीको अवधिमा २२.५ प्रतिशत नेपालीले रोजगारी गुमाए । कोरोना संक्रमणको महामारीले कृषि क्षेत्रको महत्व निकै बढाइदिएको छ । वैदेशिक रोजगारीका अवसर घट्दो क्रममा छन् । मानिसहरू गाउँ फर्किएका छन् । उनीहरू कृषि क्षेत्रमै फर्कनुपर्ने अवस्था सिर्जना भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्न, आयात प्रतिस्थापन र निर्यात पर्वद्धन गर्न, कृषि पेसालाई व्यावसायिक, आधुनिक र मर्यादित बनाउन कोरोना महामारीले हामीलाई अभूतपूर्व अवसर दिएको छ । 

घनश्याम भुषाल कुनै वेला सरकारका कुकार्य र अपराधकर्मका विरुद्ध खरो उत्रने पात्र थिए । सुशासन र पारदर्शिताका पक्षमा निर्भीक रूपमा उभिने नेता थिए । सडकमा रहेका भुइँमान्छेका बारेमा वकालत गर्ने राजनीतिकर्मी थिए । पार्टीभित्र सैद्धान्तिक र वैचारिक बहस छेड्ने नेता कोही थिए भने घनश्याम भुषाल नै थिए । उनले जनताका दुःख, दर्द र पीडाबारे बोल्ने नेताको परिचय बनाएका थिए ।

मानिसहरू गाउँ फर्किएका छन् । उनीहरू कृषि क्षेत्रमै फर्कनुपर्ने अवस्था सिर्जना भएको छ । कृषि उत्पादनमा आत्मनिर्भर बन्न, आयात प्रतिस्थापन र निर्यात पर्वद्धन गर्न, कृषि पेसालाई व्यावसायिक, आधुनिक र मर्यादित बनाउन कोरोना महामारीले हामीलाई अभूतपूर्व अवसर दिएको छ । 

निर्धक्कसँग कालोलाई कालो र सेतोलाई सेतो भन्ने आँट गर्थे, पार्टीको रूपान्तरणको पक्षमा दृढतापूर्वक उभिन्थे । कुनै वेला उनले भनेका थिए, ‘हाम्रा नेतासँग दिनमा सयजना दलालको भेट हुुन्छ ।’ दलाल, पुँजीपति र बिचौलियाले पार्टी चलाएको देखेर आगो ओकल्थे, पार्टी विचलनको बाटोमा हिँडेकोमा चिन्तित थिए । तर, घनश्याम भुषाल अब सडकमा रहेनन् । सिंहदरबारको यात्रा तय गरेर कृषि मन्त्रालय सम्हालेका छन् । त्यसले नकारात्मकता, निराशा र कुण्ठाले भरिएका नेपाली मनहरू फुरुंग भए, आशा र विश्वासको सञ्चार गरेको पनि हो । सधैँ उपेक्षामा परेको कृषि क्षेत्रलाई घनश्यामले उकास्न सक्छन् भन्ने जनताको अपेक्षा रह्यो । 

सत्तामा पुगेपछि घनश्याम भुषाल खरो उत्रन सकेनन् । अहिले पनि स्वदेशी उत्पादनले बजार र मूल्य पाइरहेका छैनन् । हलो लिन पठाएका घनश्याम बाली पाकिसक्ने वेला भइसक्दा पनि फर्केर आएका छैनन् । उनी कहिले फर्कने हुन्, टुंगो छैन । धानका बाला पहेँलै हुने वेला भइसक्दा पनि किसानले मल पाएका छैनन् । बंगलादेशबाट पैँचोमा मल लिने कुरा भइरहेको छ ।

आजकाल कृषिमन्त्रीको बोली फेरिन थालेको छ, परिचय बदलिन थालेको छ । काम गर्न असफल हुँदै गर्दा उनले भन्न थालेका छन्, ‘फेसबुकमा कमेन्ट गरेजस्तो काम गर्न सजिलो छैन ।’ भुषालको यो अभिव्यक्ति गैरजिम्मेवार मात्र छैन, लाचारीको पराकाष्ठा पनि हो । घनश्याम भुषाल नेपाली राजनीतिमा एक आशा र भरोसाका केन्द्र हुन्, सेलेब्रिटी पनि हुन् । उनीबाट जनताले परिणाम खोजेका छन्, लाचारी होइन । भीरबाट लडेको मानिस फेरि उठ्न सक्छ, जनताको नजरबाट गिरेको मानिस कहिल्यै उठ्न सक्दैन, मन्त्री भुषालले जनताको विश्वास गुमाउने काम नगरून् शुभकामना छ !

समाजवादको नारा र कृषिक्रान्ति : नेपालको संविधानको प्रस्तावनामा नै समाजवादप्रति प्रतिबद्धता जनाइएको छ । धारा ४ मा नेपाललाई समाजवादउन्मुख राज्यको रूपमा परिभाषित गरिएको छ । संविधानमै लोककल्याणकारी राज्य व्यवस्थाको स्थापना गर्ने राजनीतिक उद्देश्य लिइएको छ, समाजवादउन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्ने राज्यको आर्थिक उद्देश्य किटान गरिएको छ । 

सत्ताधारी नेकपा पनि समाजवादमा पुग्ने भन्छ, प्रमुख प्रतिपक्ष कांग्रेसको आदर्श पनि समाजवाद नै हो । समाजवाद भनेको के हो ? संविधानको परिभाषा खण्डमा उल्लेख गरिएको छैन । समाजवादको परिभाषा दलपिच्छे पक्कै पनि फरक हुन सक्ला, नेकपाले परिभाषा गरेको कम्प्युनिस्ट समाजवाद र कांग्रेसले परिभाषा गरेको लोकतान्त्रिक समाजवादको राजनीतिक र सैद्धान्तिक बहस अलग कुरा हो ।

शोषित, पीडित जनताको पक्षमा संविधानमा प्रशस्त व्यवस्था गरिएका छन्, तर दैलोमा नागको फोटो राखेर सर्पबाट सुरक्षित हुन सकिँदैन । संविधान र कानुन आफैँ हिँड्दैनन्, ती अमूर्त अक्षरहरू जनताको जीवनसँग स्वतः जोडिँदैनन् । त्यसलाई जीवन्तता प्रदान गर्ने भनेको नीतिले हो, नेतृत्वले हो, कार्यक्रमले र व्यवहारले हो । कृषकलाई हेयको दृष्टिले हेरिने कस्तो समाजवाद होला ? उखुकिसानले श्रमको मूल्य नपाउने, तरकारी सडकमै फाल्नुपर्ने, किसानको सम्मान र मर्यादा नहुने, बिउबीजन नपाउने, बजार नपाउने, मूल्य नपाउने, मल नपाउने व्यवस्थाले समाजवादको यात्रा तय हुन्छ ? 

कृषि मन्त्रालय र भ्रष्टाचारको जालो : कृषि मन्त्रालयमा भ्रष्टाचारको जालो छ भनेर तत्कालीन कृषिमन्त्री शैलजा आचार्यले उहिल्यै रहस्योद्घाटन गरेकी हुन् । अहिले हरेक क्षेत्रमा भ्रष्टाचार, नियमितता र बेथिति ओपेन सेक्रेट कुरा हुन् । शैलजा आचार्यदेखि घनश्याम भुषालसम्म आइपुग्दा कृषि मन्त्रालयले दर्जनौँ कृषिमन्त्री बेहोरिसक्यो, तर अहिले पनि भ्रष्टाचार, कुशासन र विकृतिका चाङ उस्तै छन् ।

पात्रहरू फेरिएका छन्, तर प्रवृत्ति फेरिएका छैनन् । कृषिमन्त्री बिचौलियाहरूको घेराभित्र कैद हुनुभएको छ भन्ने आरोप मिथ्या हुन सक्छ, यो आरोपले उहाँलाई अन्याय हुन सक्छ । तर, समयमै मल पुर्‍याउन नसकेको जस्ता क्रियाकलाप हेर्दा उहाँ कतै तिनै दलालहरूद्वारा प्रभावित हुनुभयो कि भन्ने आशंका जन्मिएकै छ । आफ्नो छविमा दाग लगाउन थालेपछि राजनेता नेल्सन मन्डेलाले पत्नी विन्नी मन्डेलालाई समेत छाडेका थिए भने भुषालले बिचौलियालाई छाड्न नसकिने कुनै कारण छैन । बिचौलियालाई कडा कारबाहीको दायरामा ल्याउनेछन् र कृषि मन्त्रालयमा भ्रष्टाचार हुनेछैन भन्ने जनविश्वास छ । 

मन्त्री भुषालले गर्नुपर्ने दश काम : धर्तीमा झुपडी बनाउने सपना देखिरहेका नागरिकलाई लोभ्याउन नेताहरूले रेलको सपना देखाए, पानीजहाजको सपना देखाए, सुखी नेपाली र समृद्ध नेपालको नारा दिए । पन्ध्राैँ योजना पढ्दा, २० वर्षे कृषि रणनीति अध्ययन गर्दा, बजेटतिर नजर लगाउँदा, मौद्रिक नीति हेर्दा, पार्टीका घोषणापत्र पढ्दा कृषिक्रान्ति नै हुन्छ जस्तो देखिन्छ, कृषि क्षेत्रमा कायापलट हुन्छ कि जस्तो देखिन्छ । आकाश–पाताल जोड्ने कुरा गर्नुभन्दा जनताको जीवनसँग जोडिएका सामान्यभन्दा सामान्य काम मात्र गर्न सकियो भने जनताको आँखामा खुसी देखिनेछ । 

मार्क्स तथा लेनिनलाई आदर्श पुरुष मानेर राजनीतिमा लागेका भुषाललाई बिपी कोइरालाप्रति आस्था नहुन सक्छ । बिपीले हलो जोतिरहेको किसानको फोटो अगाडि राखेर योजना बनाउन दिएको सुझाब कृषिमन्त्री भुषालका लागि पनि सान्दर्भिक हुन सक्छ । गाउँका तिनै भुइँमान्छेको अनुहार सम्झेर योजना बनाए मात्र कृषिक्रान्ति हुन सक्छ ।

पहिलो, कृषि क्षेत्रका लागि तर्जुमा गरिएका कार्यक्रमहरू लक्षित वर्गसम्म पुग्न सकेका छैनन् । वास्तविक किसानले सहुलियत पाएका छैनन् । टाठाबाठाले मात्र अवसर पाउने प्रणालीको अन्त्य गरिदिनुस् । भ्रष्टाचार र अनियमितताविरुद्ध दह्रो खुट्टा टेक्नुहोस् । दोस्रो, विदेशमा फलेको स्याउभन्दा स्वदेशमा फलेको नास्पाती मिठो हुन्छ भन्ने भावनालाई जागृत गराउन पहल गर्नुहोस् ।

स्वदेशी उत्पादनलाई प्राथमिकता दिँदै स्वदेशी उत्पादनको प्रयोगका लागि नागरिकलाई प्रोत्साहित गर्नुहोस् । तेस्रो, किसानले कृषि औजार, बिउबीजन र मल पाएका छैनन्, पूर्वाधारको कमी छ, उत्पादन सामग्रीमा अनुदान दिने प्रबन्ध मिलाउनुहोस् । चौथो, परम्परागत निर्वाहमुखी खेती प्रणालीबाट उत्पादन बढाउन सकिँदैन, व्यावसायिक खेती प्रणाली अवलम्बन गर्न प्रोत्साहित गर्नुहोस् । प्रयोगशालाहरूको अभाव छ, कृषि प्राविधिकको दरबन्दी थप्नुहोस् । सबै किसानको घरदैलोमा प्राविधिक सेवा उपलब्ध हुने कुराको सुनिश्चितता गर्नुहोस् । कृषकलाई तालिमको पनि प्रबन्ध मिलाउनुहोस् । 

पाँचौँ, कृषि उद्योगको विकास र कृषिको व्यवसायीकरण नभएको कृषि क्षेत्रको नाफा सुनिश्चित छैन । नाफा सुनिश्चित नभएको क्षेत्रमा बैंकहरूले ऋण प्रवाह गर्ने इच्छा देखाउँदैनन् । किसानलाई सस्तो र सुलभ ब्याजदरमा कृषि ऋणको व्यवस्था गरिदिनुहोस् । छैटाैँ, प्राकृतिक प्रकोप, रोगव्याधिलगायतका कारणले किसानले निकै क्षति बेहोर्नुपरेको छ ।

अक्सर निरक्षर र सोझा नागरिक कृषि पेसामा रहेकाले बाली तथा पशुपन्छी बिमाबारे बेखबर छन्, उनीहरूलाई बिमाको पहुँचमा ल्याउनुहोस् । सातौँ, किसानलाई जीविकोपार्जन गर्न निकै गाह्रो छ, सबैभन्दा गरिब वर्गमा किसान पर्छन् । न्यूनतम बचतको ग्यारेन्टी, किसान पेन्सनजस्ता सामाजिक सुरक्षा तथा संरक्षणका कार्यक्रम लागू गर्नुहोस् । आठाैँ, किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म पुग्ने वातावरण बनाइदिनुहोस्, स्थानीय तहले कृषि उत्पादन खरिद गर्ने व्यवस्था मिलाइदिनुहोस् । नवौँ, कृषकलाई अपमान र हेयको दृष्टिले हेर्ने परिपाटी छ । शिक्षालयहरूमा राम्रोसँग पढिएन भने हलो जोत्नुपर्छ भनेर कृषि पेसाको खिल्ली उडाउने गरिन्छ । कृषिलाई मर्यादित र सम्मानित पेसा बनाइदिनुहोस्, कृषि मन्त्रालयलाई रोजाइको मन्त्रालय बनाइदिनुहोस् ।

दशाैँ, भूमिहीन किसानको संख्या उच्च छ, उनीहरूले गरिखाने बाटो देखाउनु सर्वहारा जनताको प्रतिनिधित्व गर्ने सरकारको दायित्व हो । ‘घर कसको पोत्नेको, जग्गा कसको जोत्नेको’ भन्ने नारा कम्युनिस्टले निकै लगाए । अन्य मन्त्रालयसँग समन्वय गर्दै भूमिहीन किसानका समस्या समाधान गर्नुहोस् । माक्र्स, तथा लेनिनलाई आदर्श पुरुष मानेर राजनीतिमा लागेका भुषाललाई बिपी कोइरालाप्रति आस्था नहुन सक्छ । बिपीले हलो जोतिरहेको किसानको फोटो अगाडि राखेर योजना बनाउन दिएको सुझाब कृषिमन्त्री भुषालका लागि पनि सान्दर्भिक हुन सक्छ । गाउँका तिनै भुइँमान्छेको अनुहार सम्झेर योजना बनाए मात्र कृषिक्रान्ति हुन सक्छ ।

अन्त्यमा, नेपालको राजनीतिरूपी पोखरी फोहोरको थुप्रोले दुर्गन्धित भएको छ । निश्चय पनि पोखरीको डिलमा बसेर पोखरी सफा हुँदैन, पोखरी सफा गर्न पोखरीभित्र नै पस्नुपर्छ । पोखरीभित्र पसेका भुषालले त्यो पोखरी सफा गरेर चिटिक्क हेर्नलायक बनाउँछन् कि अझै फोहोर बनाउँछन्, हेर्न बाँकी छ ।
(ओली शिक्षक तथा अधिवक्ता हुन्)