मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असोज १२ सोमबार ०५:२९:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

सीमा विवादको पहेली

Read Time : > 1 मिनेट
२०७७ असोज १२ सोमबार ०५:२९:००

केही दिनयता नेपाल–चीन सीमासम्बन्धी विषय चर्चामा छ । हुम्लामा चीनतिर जोडिएको सीमाक्षेत्रमा चिनियाँले सीमा मिचेर नेपाली भूमिमा भवनलगायत संरचना निर्माण गरेको भन्दै चर्चा भयो । त्यसको निरीक्षणका लागि स्थानीय प्रशासन र सुरक्षा निकायका मानिस सीमामा पुगे ।

पर्यवेक्षण गरेर फर्कनेले स्तम्भ सीमानामै भेटिएको जानकारी दिएका छन् । तर, यता काठमाडौंमा एकथरी मानिस भेला भएर चिनियाँ दूतावासअगाडि प्रदर्शन गर्नसमेत भ्याए । निकै हल्लाखल्लापछि परराष्ट्रमन्त्रीले चीनले नेपालको सीमा नमिचेको भन्दै सरकारको आधिकारिक धारणा सार्वजनिक गरेका छन् । 

त्यसअघि भारतले कालापानी क्षेत्रमा नेपालको झन्डै चार सय हेक्टर जमिन अतिक्रमण गरेर आफ्नो नक्सामा सामेल गरी प्रकाशित गरेपछि भारतसँगको नेपालको सम्बन्ध राज्यस्तरमै चिसिएको थियो । पछि नेपालले सीमामा आफ्नो दाबी पेस गर्दै लिपुलेक कालापानी क्षेत्र समेटेर नक्सा नै जारी गर्‍यो र त्यसलाई संविधान संशोधनका माध्यमबाट नेपालको औपचारिक नक्सामा सामेल गराइयो । त्यतिवेला भारतीय दूतावासमा मात्र होइन, देशभरि नै विरोध भयो । भारतले सीमा मिचेको ऐतिहासिक प्रमाण र आधार थियो, त्यसको विरोध गर्र्दा सरकारलाई आफ्नो भूमि बचाउन र दाबी गर्न सकारात्मक दबाब परेको हो । 

चीनसँगको विवाद छ भन्ने काल्पनिक चित्र देखाएर नेपाल–चीनबीचको सम्बन्धलाई पनि कमजोर बनाई भारतीय मात्र दोषी होइनन् भन्ने देखाउन प्रयास भएको अनुमान गर्न गाह्रो छैन । त्यसमाथि यसका लागि राज्यसंयन्त्रभित्रैबाट कतै न कतै चलखेल भएको आशंका गर्ने ठाउँ निस्किनुचाहिँ आपत्तिजनक विषय हो ।

भारतसँग नेपालको सम्बन्धमा केवल समस्या मात्र छैनन्, सहकार्य र सहयोगका हजारौँ क्षेत्र छन् भन्ने साँचो हो, त्यसरी नै चीनसँगको सम्बन्धमा कहिल्यै समस्या आउँदैन भन्ने हुँदैन

जसरी भारतसँग नेपालको सम्बन्धमा केवल समस्या मात्र छैनन्, सहकार्य र सहयोगका हजारौँ क्षेत्र छन् भन्ने साँचो हो, त्यसरी नै चीनसँगको सम्बन्धमा कहिल्यै समस्या आउँदैन भन्ने हुँदैन । अहिले पनि केरुङ रसुवागढी नाका नखोलिदिएर चीनसँगको व्यापारमा नेपाली व्यापारीले नोक्सानी व्यहोर्नुपरेको छ । तर, सिमानाका सम्बन्धमा भने दुई देशबीच अहिलेसम्म समस्या देखिएको छैन, कुनै समस्या आइहाले पनि दुई देशबीच विश्वासको जुन वातावरण छ, त्यसलाई हेर्दा वार्ताबाट समाधान नहुने समस्या देखिन्न । 

तर, भारतको बल मिच्याइँलाई एउटा पक्षले राजनीतिको रोटी सेक्ने आधार बनाएपछि अर्कोले चीनतिर पनि समस्या छ भन्ने हल्ला सिर्जना गर्न सक्छ र त्यसले पनि समाजलाई तरंगित पार्छ भन्ने कुरा यो घटनाबाट पुष्टि भएको छ ।

हराउँदै नहराएको ११ नम्बर पिलर हराएको चर्चा चलाएर नेपाली जनमानसमा सहजै भ्रम सिर्जना गराउन सक्ने एजेन्सी र आफ्नो जिम्मेवारी सही ढंगले निर्वाह गर्न नसक्ने कर्मचारी तथा आमसञ्चारमाध्यमका कारण पनि दुई देशबीच दरार ल्याउन र जनमतलाई बराल्न सम्भव देखिन्छ । छिमेकीसँगको सम्बन्धमा लोकप्रियतावादी चिन्तन सकारात्मक चिन्तन होइन । यसले देशलाई अहित गर्छ ।