१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असोज ११ आइतबार २०:४६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङ प्रशासनको निर्देशन– विद्यालय सञ्चालन नगर्नू

Read Time : > 1 मिनेट
२०७७ असोज ११ आइतबार २०:४६:००

लमजुङका शैक्षिक संस्थाहरू बिस्तारै खुल्न थालेपछि लमजुङ प्रशासनले शैक्षिक गतिविधि सञ्चालन नगर्न निर्देशन दिएको छ । स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको साता नबित्दै प्रशासन कार्यालयले विद्यालय सञ्चालन नगर्न निर्देशन जारी गरेको हो । 

सरकारले  वैकल्पिक सिकाइ निर्देशिकाअनुसार स्थानीय तहहरूले विद्यालय सञ्चालन गर्ने निर्णय गरेपनि जिल्लामा औपचारिक रुपमा विद्यालय खुलेका  थिए । तर, आइतबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म विद्यालय नखोल्न भनेको छ । ‘अर्को सूचनाबाट तोकिएको मितिदेखि मात्रै शैक्षिक संस्थाहरू सञ्चालन गर्नु भनेर सरकारले निर्णय गरेको छ,’ प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले भने, ‘सरकारले नभनेसम्म शैक्षिक संस्थाहरू खोल्न भएन ।’ 

विद्यालय, क्याम्पसलगायत सबै प्रकारका शैक्षिक संस्था तथा परीक्षासमेत अर्को सूचना जारी नभएसम्म सञ्चालन नगर्ने–नगराउने निर्णय नेपाल सरकारबाट भएकोले शैक्षिक संस्था सञ्चालन नगर्न भनिएको प्रजिअ शर्माको भनाइ छ । प्रमुख जिल्ला अधिकारी शर्माले सबै स्थानीय तहलाई सरकारको निर्णयसहितको पत्र पठाइसकेको बताए । 

जिल्लाको क्व्होँलासोथर गाउँपालिका र दोर्दी गाउँपालिकाले असोज पहिलो साताबाट नै पठनपाठन सुरु गरेका थिए भने अधिकांश सामुदायिक र संस्थागत विद्यालयहरूले विद्यालय खुलाउने तयारी गरेका थिए । स्थानीय तहले विद्यालय खुलाउने र प्रशासनले बन्द गर्ने सूचना जारी गरेपछि विद्यार्थी अभिभावक–शिक्षक दोधारमा परेका छन् । 

शिक्षा मन्त्रालयले विद्यार्थीहरूको शिक्षण सिकाइका गतिविधि अवरुद्ध नहोस् भनेर विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ जारी गरेको छ । प्रशासनले जारी गरेको विज्ञप्तिमा प्रत्यक्ष सिकाइ अवलम्बन गरी सरकारले गरेको निर्णयविपरीत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा संक्रमक रोग ऐन २०२० बमोजिम कारबाही हुनेछ ।

जिल्लामा सामुदायिक वा संस्थागत विद्यालय सञ्चालन गरी संक्रमण फैलिन गएमा सोको जिम्मेवारी विद्यालयले नै लिनुपर्ने विज्ञप्तिमा उल्लेख छ । लमजुङमा तीन सय ३४ वटा सामुदायिक विद्यालय र ३६ वटा संस्थागत विद्यालय रहेका छन् ।