मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज ११ आइतबार ०७:३५:००
Read Time : > 2 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

एसेम्ब्लिङ उद्योगबाट औद्योगिकीकरणको यात्रा

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज ११ आइतबार ०७:३५:००

गाडी तथा मोटरसाइकल आयात गरी बिक्री गरिरहेका केही नेपाली व्यवसायी पार्टपुर्जा आयात गरेर नेपालमै ती सवारीसाधन उत्पादन गर्ने एसेम्ब्लिङ उद्योगतर्फ आकर्षित भएका छन् । बजाज र टिभिएस ब्रान्डका मोटरसाइकल तथा तीनपांग्रे सवारीसाधन मुलुकमै एसेम्बल हुन थालेका छन् । होन्डा, यामाहा, ह्युन्डाईलगायत ब्रान्ड यस्तो उद्योग खोल्ने तयारीमा देखिन्छन् । नेपाली व्यवसायीले यसका लागि २५ वटा उद्योगमा १८ अर्ब लगानी गर्ने गरी उद्योग दर्तासमेत गरिसकेका छन् । लामो समयदेखि भारतलगायत तेस्रो देशमा उत्पादित सवारीसाधन आयात गरेर बिक्री गर्ने बजार मात्र बनेको नेपाल एसेम्ब्लिङ उद्योग स्थापना गर्ने तहमा जानु सकारात्मक कुरा हो । मोटरसाइकल, गाडीलगायतको एसेम्ब्लिङ उद्योगमा हुँदै गरेको यो लगानी मुलुकको दोस्रो चरणको औद्योगिक विकासको प्रस्थानबिन्दु हुन सक्छ । 

मुलुकको औद्योगिक विकासमा एसेम्ब्लिङ उद्योगको महत्वपूर्ण भूमिका हुन्छ । यो उद्योग आफैंले प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सानो संख्यामा भए पनि रोजगारी सिर्जना गर्छ । सुरुमा आयातित पार्टपुर्जाबाट उत्पादन हुने भए पनि बिस्तारै मुलुकभित्रै तिनको उत्पादन सुरु हुन्छ । उदाहरणका लागि मोटरसाइकल उत्पादन गर्न एक हजारदेखि १५ सयसम्म पार्टपुर्जा चाहिन्छन् । त्यसको २०–३० प्रतिशत मात्रै मुलुकमा उत्पादन हुन सक्यो भने पनि त्यसबाट ठूलो मात्रामा सहायक उद्योग स्थापना हुन सक्छ । यसैगरी सवारीसाधन उत्पादनको विश्व मूल्य–शृंखलामा नेपाल पनि जोडिन सक्छ । विश्वचर्चित ब्रान्डका एसेम्ब्लिङ उद्योग मुलुकमा भित्रिँदा विश्वमूल्य–शृंखलामा प्रवेश गर्न सजिलो हुन्छ । पोल्यान्डमा अटोमोबाइल र भियतनामको इलेक्ट्रोनिक्स उद्योगको विकासलाई विश्वमै उदाहरणका रूपमा लिने गरिन्छ । पोल्यान्डमा वोक्सवागन, फियाट र टोयोटाले तथा भियतनाममा सामसङले एसेम्ब्लिङ प्लान्ट लगाउनाले त्यो विकास सम्भव भएको हो । यही मोडल अपनाउने हो भने बिस्तारै सवारी उत्पादनका प्रविधि नेपाल भित्रिनेछन् । 

आयातित सवारीसाधनको तुलनामा स्वदेशमै एसेम्बल भएका उत्पादनलाई अन्तःशुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्छ । त्यसो भयो भने उद्योगले मात्रै होइन, उपभोक्ताले पनि लाभ पाउनेछन् ।

सरकारले यस्ता पार्टस्को उत्पादनमा सामान्य सहुलियत दियो मात्रै भने नेपालमै पार्टस् उत्पादन गर्ने उद्योग स्थापना र सञ्चालन गर्ने सम्भावना बढ्नेछ । यस्तो पार्टस् विश्वका अरू देशको तुलनामा सस्तोमा उत्पादन गर्न सकियो भने त्यसले निर्यात व्यापारमा भरथेग गर्नेछ । गोरखकाली टायर उद्योगलाई नै पनि सार्वजनिक–निजी साझेदारी मोडलमा पुनर्जीवन दिन सम्भव हुनेछ । चीन खुला भएपछिको औद्योगिक विकास र पछिल्लो समय भियतनाम र बंगलादेशको औद्योगिकीकरणमा एसेम्ब्लिङ उद्योगको ठूलो महत्व छ । यसका लागि सरकारले सकारात्मक र प्रवद्र्धनात्मक नीति अपनाउनु जरुरी हुन्छ । नेपालले छिमेकी देशहरूको आर्थिक विकासबाट लाभ लिने तयारी गर्नुपर्ने वेला पनि हो यो । तुलनात्मक लाभका क्षेत्रमा लगानी प्रोत्साहन गर्ने, करसम्बन्धी नीति सुधार गर्नेतिर ध्यान दिनु जरुरी छ । यसैगरी चीनले यतिवेला श्रमप्रधान उद्योगबाट पुँजीप्रधान उद्योगतिर तथा उच्च प्रविधियुक्त उद्योगतिर फड्को मारिरहेको छ । 

चीनमा सन् १९८० र ९० को दशकमा स्थापित भएका उद्योग यतिवेला त्यहाँबाट विस्थापित भइरहेका छन् । नेपालले पनि भारत र चीनको बजार लक्षित गरेर त्यस्ता उद्योग मुलुकमा भित्र्याउन जोड दिनुपर्छ । औद्योगिकीकरण एकाएक र रातारात हुने कुरा होइन । औद्योगिक उत्पादनको लागत अरू देशमा बढ्दै जाँदा हाम्रोमा तुलनात्मक रूपमा कम लागतमा उत्पादन सुरु गर्न सकिन्छ । जुन क्षेत्रमा त्यस्तो सम्भावना छ, त्यता यस्ता एसेम्ब्लिङ उद्योग स्थापना हुन्छन् भने प्रोत्साहन गर्नु एउटा आधार हुन सक्छ । सरकारको करसम्बन्धी नीति अहिलेकै जस्तो रहेमा एसेम्ब्लिङ उद्योग विकास हुन सक्दैन । त्यसो हुँदा तयारी सवारीसाधनको तुलनामा अनएसेम्बल्ड पार्टस् भित्र्याउँदा भन्सार सहुलियत दिनुपर्छ । आयातित सवारीसाधनको तुलनामा स्वदेशमै एसेम्बल भएका उत्पादनलाई अन्तःशुल्कमा कम्तीमा ५० प्रतिशत छुट दिनुपर्छ । त्यसो भयो भने उद्योगले मात्रै होइन, उपभोक्ताले पनि लाभ पाउनेछन् । 

याे पनि पढ्नुहाेस् : बजाज र टिभिएसका सवारीसाधनको उत्पादन नेपालमै सुरु, यामाहा र होन्डा पनि तयारीमा