मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
एजेन्सी
२०७७ असोज १० शनिबार १५:५०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

बेलायतको म्यानचेस्टरमा एकैपटक १७ सय विद्यार्थी आइसोलेसनमा 

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ असोज १० शनिबार १५:५०:००

बेलायतको म्यानचेस्टर सहरमा एकैपटक सयौँ विद्यार्थीलाई आइसोलेसनमा पठाइएको छ । केही विद्यार्थीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएपछि विश्वविद्यालय प्रशासनले १७ सयभन्दा बढी विद्यार्थीलाई आइसोलेसनमा राखेको हो ।

म्यानचेस्टर महानगरीय विश्वविद्यालयका ९९ विद्यार्थीमा भाइरस संक्रमण देखिएको छ । त्यससँगै यहाँ लकडाउनको घोषणासमेत गरिएको छ ।

विश्वविद्यालय प्रशासनले म्यानचेस्टर सहरका सबै विद्यार्थीलाई कुनै पनि ठूला पार्टीमा सहभागी नहुन भनेको छ । भाइरस संक्रमितको संख्या बढ्न थालेपछि थप सतर्कतास्वरूप सिटी काउन्सिलले लकडाउन घोषणा गरेको हो । ‘अहिलेसम्म प्राप्त प्रमाणअनुसार संक्रमण विद्यार्थीभन्दा बाहिर गएको छैन । संक्रमण समुदायस्तरमा पुग्न नदिन लकडाउन गरिएको छ,’ काउन्सिलले विज्ञप्तिमार्फत भनेको छ । 

पब, पार्टी र रेस्टुरेन्टमा नजान आग्रह
स्कटल्यान्डमा पनि यस्तै अवस्था देखिएको छ । भाइरस संक्रमण रोक्ने प्रयासस्वरूप स्कटल्यान्डमा विद्यार्थीलाई पब, पार्टी र रेस्टुरेन्टमा नजान भनिएको छ ।
विश्वविद्यालयको नयाँ निर्देशिकामा विद्यार्थीले भने विरोध जनाएका छन् । विद्यार्थी नेता जो ग्राडीले भनेका छन्, ‘यो विश्वविद्यालयको गैरजिम्मेवारीपन हो । हामी विश्वविद्यालयमै पनि शारीरिक दूरी कायम गरी पढाइ गर्न सक्छौँ । तर, यी सबै सुविधाबाट वञ्चित गरिनु राम्रो होइन ।’

पछिल्लो लकडाउनको असर म्यानचेस्टर सहरमा रहेका बिर्ले क्याम्पस र क्याम्ब्रिज हल्समा बढी देखिएको छ । ‘हामी बाहिर जाने तयारी गरिरहेका थियौँ । तर, सुरक्षाकर्मीले हामीलाई जान दिएनन्,’ म्यानचेस्टर महानगरीय विश्वविद्यालयकी मेगन टिन्गी भन्छिन्, ‘हामीलाई यसबारे कुनै जानकारी पनि दिइएको छैन । हामीलाई हाम्रो इच्छाविपरीत थुनिएको छ ।’

बिर्ले क्याम्पसका विद्यार्थीले पनि विरोध गरेका छन् । ‘हामीलाई बाहिर जान नपाउने र गएको अवस्थामा फर्केर आउन नपाउने भनिएको छ,’ बिर्ले क्याम्पसका चिप विल्सन भन्छन्, ‘यसरी कति दिनसम्म बस्ने थाहा छैन, हामीले खानेकुरा कसरी पाउने भन्ने पनि थाहा छैन । यहाँ भएका धेरैमा संक्रमितमा लक्षण देखिएको छ, तर परीक्षण भएको छैन ।’

विश्वविद्यालयले भाइरस संक्रमण रोक्ने प्रयासस्वरूप जारी गरिएको लकडाउनको निर्णयलाई पूर्ण सहयोग गरिएको जनाएको छ । विद्यार्थीको सहज वास र पढ्नका लागि लाइब्रेरी खुला गरिने जनाइएको छ । साथै, विद्यार्थीले लकडाउनको नियम पालना गरे–नगरेको हेर्न निगरानी बढाइने र पालना नगरेको पाइए कारबाही गरिने पनि जनाएको छ । —एजेन्सीको सहयोगमा