Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
युएई
२०७७ असोज १० शनिबार ०५:४२:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

कोहलीलाई १२ लाख भारु जरिवाना

Read Time : > 1 मिनेट
युएई
२०७७ असोज १० शनिबार ०५:४२:००

रोयल च्यालेन्जर्स बेंग्लोरका कप्तान विराट कोहलीलाई १२ लाख भारु जरिवाना तिराइएको छ । इन्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत बिहीबार सम्पन्न किंग्स ११ पन्जाबविरुद्धको खेलमा ‘स्लो रेट’ बलिङ गरेका कारण कोहलीलाई कारबाहीस्वरूप आर्थिक जरिवाना तिराइएको हो । सो खेलमा किंग्स ११ का लोकेश राहुलले १३२ रनको शतकीय इनिङ्स खेल्दा बेंग्लोर ९७ रनले पराजित भएको थियो ।

‘आइपिएलको नियमअनुसार स्लो रेट बलिङ गरेका बेंग्लोरका कप्तान कोहलीलाई १२ लाख भारु जरिवाना गराइएको छ,’ आइपिएलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । दुबई अन्तर्राष्ट्रिय रंगशालामा बेंग्लोरका खेलाडीले लोकेशको दुई क्याच मिस गरेका थिए । बेंग्लोरले इनिङ सकाउन १ घन्टा ५१ मिनेट लगाएको थियो । टी–२० मा सामान्य गरी एक इनिङ्स समाप्त हुन ९० मिनेट लाग्ने गर्छ । 

राहुलको शतकीय इनिङ्सको सहयोगमा किंग्स ११ ले २० ओभरमा ३ विकेट गुमाएर दुई सय ६ रन बनाएको थियो । प्रत्युत्तरमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमै समेटियो । बेंग्लोरले आइपिएलमा यो दोस्रो ठूलो जित अन्तर निकालेको हो । 

राहुलको दुई हजार रन
यसैबीच, किंग्स ११ का राहुल आइपिएलमा छिटो २ हजार रन पूरा गर्ने ब्याट्सम्यान बनेका छन् । उनले ६९ खेलमा ६० इनिङ्सको सहयोगमा दुई हजार रन पूरा गरेका हुन् । यसअघि आइपिएलमा छिटो दुई हजार रन पूरा गर्ने कीर्तिमान मुम्बई इन्डियन्सका सचिन तेन्दुलकरको नाममा थियो । सचिनले २००८ देखि २०१३ सम्म आइपिएल खेल्दै ७८ खेलमा दुई हजार रन पूरा गरेका थिए । यसक्रममा उनले ३४.३८ को औसतमा २ हजार ३ सय ३४ रन बटुले । सचिनले आइपिएलमा एक शतक तथा १३ अर्धशतक लगाएका छन् । 

आइपिएलमा बेंग्लोरका कोहलीकै नाममा व्यक्तिगत धेरै रन स्थापित छ । कोहलीले १७९ खेलमा ३७.४२ को औसतमा ५ हजार चार सय २७ रन बनाएका छन् । यसैगरी, चेन्नई सुपर किंग्सका सुरेश रैना ५ हजार तीन सय ६८ रनका साथ दोस्रो स्थानमा छन् । मुम्बई इन्डियन्सका रोहित शर्मा तेस्रो धेरै रन बनाउने ब्याट्सम्यानमा पर्छन् । उनले १९० खेलमा ३१.७८ औसतमा ४ हजार ९ सय ९० रन जोडेका छन् । 

चालू १३औँ आइपिएलमा शतकीय इनिङ्स खेल्ने राहुल पहिलो ब्याट्सम्यान बनेका छन् । उनले १४ चौका र सात छक्का प्रहार गरेका थिए । राहुलले भारतीय ब्याट्सम्यानमध्ये व्यक्तिगत धेरै रन बनाउने रेकर्ड पनि राखे । यसअघि, आइपिएलमा ऋषभ पन्तकोे नाममा १ सय २८ रनको कीर्तिमान थियो । आइपिएलमा वेस्ट इन्डिजका बायाँहाते ब्याट्सम्यान क्रिस गेलको नाममा सर्वाधिक शतकीय इनिङ्स रेकर्ड छ । आइपिएलमा गेलले ६ शतक जमाएका छन् । उनकै नाममा व्यक्तिगत १ सय ७५ रनको रेकर्ड पनि छ ।