मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असोज १० शनिबार ०५:३४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रधानमन्त्रीलाई डा. केसीको आग्रह- ‘साधारण माग छन्, शंका नमानी पूरा गरिदिनुस्’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असोज १० शनिबार ०५:३४:००

स्वास्थ्य सेवा सुधारका लागि १२ दिनदेखि सत्याग्रहमा बसिरहेका डा. गोविन्द केसीले आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । सामान्य माग भएकाले कुनै शंका नमानी पूरा गरिदिन शुक्रबार भिडियोमार्फत प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् । 

डा. केसीले मुख्यगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल एमबिबिएसको पठनपाठन सुरु गर्नुपर्नेमा जोड दिएका छन् । प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान बनाउने सहमतिअनुसार काम हुनुपर्ने उनको भनाइ छ । प्रधानमन्त्री ओलीको कार्यकालमा पाँचौँपटक सत्याग्रहमा बसिरहेको उल्लेख गर्दै डा. केसीले भनेका छन्, ‘यो अवधिमा कुनै पनि उपलब्धि भएको छैन । बरु भएका उपलब्धि पनि गुम्ने अवस्थामा छन् । प्रधानमन्त्रीले गर्ने काम हामी जनताले गरिरहेका छौँ, त्यसैले जनताको हितमा रहेका माग सम्बोधन गरिदिनुहोस् ।’

डा. केसीले कोभिडका कारण थोरै मानिसको मृत्यु भए पनि अन्य रोगले ठूलो संख्यामा ज्यान गएको उल्लेख गर्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । उनले यस्तो अवस्थामा लकडाउन आवश्यक नभएको जिकिर गरेका छन् । उनले लकडाउन लगाएर तानाशाही व्यवस्था लागू गर्न खोजेको जनाउँदै भौतिक दूरीको पालनासँगै आवतजावतमा सहज बनाउनुपर्ने भिडियो सन्देशमार्फत प्रस्ट पारेका छन् । 

डा. केसीको १९औँ सत्याग्रहको १२औँ दिनमा पनि सरकारले कुनै चासो देखाएको छैन । सरकारले चासो नदिएपछि थप दबाब दिन विभिन्न संघसंगठन जुट्न थालेका छन् । उनको सत्याग्रहप्रति शुक्रबार रेजिडेन्ट डक्टर एसोसिएसन, विवेकशील नेपाली दल र नेविसंघले पनि ऐक्यबद्धता जनाएका छन् । संघका अध्यक्ष राजीव ढुंगानाले डा. केसीको माग पूरा गर्दै जीवन रक्षाका लागि सरकार संवेदनशील बन्नु पर्ने बताएका छन् । 

डा. केसीले २९ भदौमा जुम्लाको चन्दननाथ नगरपालिकास्थित मष्ठा बाबिरा मन्दिरको धर्मशालामा सत्याग्रह सुरु गरेका थिए । उनलाई ३ असोज राति बलजफ्ती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । त्यसपछि उनी ५ असोजमा काठमाडौं आएका थिए । अहिले उनी त्रिवि शिक्षण असपतालमै सत्याग्रहमा छन् ।