१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असोज ९ शुक्रबार १८:०८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

ललितपुर र गोदावरीका मेयर तथा नागार्जुनकी उपमेयरलाई कोरोना संक्रमण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असोज ९ शुक्रबार १८:०८:००

काठमाडौं र ललितपुरका तीनजना मेयर–उपमेयरलाई कोरोना संक्रमण पुष्टि भएको छ । ललितपुर र गोदावरी नगरपालिकाका मेयर तथा काठमाडौंको नागार्जुन नगरपालिकाकी उपमेयरलाई शुक्रबार संक्रमण पुष्टि भएको हो । 

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई शुक्रबार कोरोना पुष्टि भएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए । संक्रमितलाई घरमै पुगेर हौसला बाँडिरहेका मेयर महर्जनलाई बिहीबार अचानक ज्वरो आएपछि अस्पताल पुगेका थिए । स्वास्थ्य परीक्षणपछि स्वाब दिएर घर फर्किएका मेयर महर्जनलाई शुक्रबार अपराह्न संक्रमण पुष्टि भएको हो । मेयर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ । उनी बिहीबारदेखि नै होम आइसोलेसनमा बसेका छन् । 

मेयरसँगै संक्रमितको घर पुगेका उपमेयर गीता सत्याल र प्रमुख प्रशासकीय अधिकृतलगायतको भने परीक्षण भएको छैन । मेयर संक्रमित भएपछि उनको सम्पर्कमा रहेका महानगरका पदाधिकारी होम आइसोलेसनमा बसेका छन् । 

यस्तै, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनलाई पनि शुक्रबारै कोरोना संक्रमण पुष्टि भएको ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख डा. खगेश्वर गेलालले जानकारी दिए । अचानक ज्वरो आएपछि मेयर महर्जनले स्वाब दिएका थिए । तर, अहिले भने उनको स्वास्थ्य अवस्था सामान्य रहेको वडा नं. १२ का अध्यक्ष जगतबहादुर महर्जनले बताए । 

यस्तै, काठमाडौंको नागार्जुन नगरपालिकाकी उपमेयर सुशीला अधिकारीलाई पनि शुक्रबारै संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमित मेयर मोहनबहादुर बस्नेतसहित जनप्रतिनिधिहरू संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् । ‘कसरी संक्रमण भयो आफैँलाई थाहा छैन, अरूलाई नडराउनुस् भनेर हौसला बाँडेर हिँड्दै थिएँ, आफैँ संक्रमित भएँ, तर कुनै लक्षण देखिएको छैन,’ अधिकारीले नयाँ पत्रिकासँग भनिन् । 

उपत्यकामा यसअघि कोरोना संक्रमित काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य संक्रमणमुक्त भएर काममा फर्किसकेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ हाल किस्ट अस्पतालमा आइसोलेसनमा बसेका छन् ।