मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मञ्जु टेलर काठमाडौं
२०७७ असोज ९ शुक्रबार १८:००:००
Read Time : > 3 मिनेट
फिचर डिजिटल संस्करण

महामारीमा मानसिक समस्या बढ्दै छ ?

Read Time : > 3 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७७ असोज ९ शुक्रबार १८:००:००

कोरोना महामारीका कारण मानिसको जीवनशैलीमा निकै परिवर्तन आएको छ । लामो लकडाउन, संक्रमितको संख्या थपिँदै जानु, बेरोजगारीका कारण आर्थिक समस्या बढ्दै जानुले पछिल्लो समय मानसिक स्वास्थ्य मुख्य समस्याको रूपमा देखिन थालेको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार लकडाउनपछि हालसम्म दुई हजार २१८ जनाले आत्महत्या गरेका छन् । जसमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर ५ मा ४२९ र सबैभन्दा कम कर्णाली प्रदेशमा एक सय १९ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा युवा उमेरसमूह बढी देखिन्छ ।

विगत वर्षको तुलनामा यो वर्ष आत्महत्या गर्ने संख्या एकदमै धेरै भएको नेपाल प्रहरीले जनाएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायत भन्छन्, ‘साउनसम्मको तथ्यांकअनुसार महामारीपछि आत्महत्याको दरमा वृद्धि भएको छ । जीवनशैली बिस्तारै सामान्य बन्दै गएकाले आत्महत्याको दरमा केही परिवर्तन आउन सक्छ, तर कति भन्ने अनुमान गर्न सकिँदैन ।’

नेपालमा मात्र नभई कोरोना महामारीपछि विश्वभरि नै आत्महत्याको दरमा दोब्बर वृद्धि भएको विभिन्न तथ्यांकले देखाएका छन् । जसमा महामारीले निम्त्याएको असामान्य परिस्थितिका कारण बढ्दै गएको तनावलाई मानिन्छ । मनोविद् आदर्श प्रधानका अनुसार महामारीपछि काउन्सिलिङका लागि आउनेको संख्या निकै बढेको छ । लकडाउनमा अनलाइनमार्फत जोडिन सजिलो भएकाले नेपालमा मात्र नभई विदेशमा बस्नेहरूले पनि काउन्सिलिङ लिइरहेको बताउँछन्, उनी । ‘महामारीअघि जीवनशैलीसँग जोडिएका समस्या हुन्थे, संक्रमण बढ्दै जाँदा अनिद्रा, चिन्ता, ओसिडी, डिप्रेसनजस्ता समस्या धेरैमा देखिन थालेको छ,’ उनी भन्छन्, ‘खासगरी, व्यापार व्यवसाय ठप्प भएका र रोजगारी गुमेका व्यक्तिहरू मानसिक समस्याबाट गुज्रिरहेका छन् । जसमध्ये एकदमै कम प्रतिशत मात्र काउन्सिलिङका लागि पुग्ने गरेका छन्, कतिपयलाई त मानसिक समस्या के हो भन्ने नै थाहा छैन ।’

डराउनेहरू महामारीमा बढी प्रभावित
३८ वर्षीया सुजाता शर्मा (नाम परिवर्तन) व्यवसायी हुन् । गत जेठमा उनलाई घाँटी दुख्ने र श्वासप्रश्वासमा समस्या आएको थियो । कोरोना परीक्षण गराउँदा नेगेटिभ आयो, अन्य कुनै समस्या नदेखिए पनि अस्पतालबाट प्रशस्त औषधि लिएर आइन् । उनलाई चिकित्सकले साइक्याट्रिकसँग परामर्श लिन सल्लाह दिए । मनोविद् प्रधानका अनुसार ‘आफूलाई पनि संक्रमण हुने हो कि भन्ने डरका कारण अनिद्राको समस्या बढ्दै गएको थियो । व्यापार व्यवसाय ठप्प हुँदा संक्रमण भएमा के गर्ने र बच्चामा पनि संक्रमण हुँदा के गर्ने भन्ने मानसिकता बढ्दै गएपछि सिभिएर एन्जाइटी देखिएको पाइयो । एक महिनाको काउन्सिलिङपछि हाल उनी सामान्य अवस्थामा फर्किसकेकी छन् ।’

संक्रमितको संख्या दिनदिनै बढिरहे पनि बिस्तारै कोरोना भाइरसप्रतिको डर हट्दै गइरहेको छ । तर चिकित्सकहरूले अब्सेसिभ कम्पल्सिभ डिसअर्डर अर्थात् केही कुराको शंका लाग्ने वा डराउने व्यक्तिहरू महामारीमा बढी प्रभावित भएको बताएका छन् । कतिपयमा संक्रमणको शंकाका कारण मानसिक समस्या देखिएको पाइन्छ । यस्ता व्यक्तिमा एन्जाइटी र डिप्रेसनका कारण मुटुको धड्कन बढ्ने, डराउनेजस्ता लक्षणसँगै अन्य शारीरिक समस्या पनि देखिने गरेको बताउँछन्, मनोविद् प्रधान । उनी भन्छन्, ‘तौल बढेर आउने, ग्यास्ट्रिक हुने, कब्जियत, एसिडिटी बढ्नेजस्ता शारीरिक समस्या पनि देखिने गर्छ । यस्तोमा काउन्सिलिङ गरेर मात्र हुँदैन, खानपानमा ध्यान दिने, सकेसम्म व्यस्त रहने, परिवारको सम्पर्कमा रहनेजस्ता क्रियाकलापले पनि मानसिक समस्यालाई जित्न सकिन्छ ।’

आर्थिक समस्या खेपिरहेका व्यक्तिमा बढी मानसिक समस्या
मनोचिकित्सकहरूका अनुसार पछिल्लो समय संक्रमणको डरका कारणभन्दा पनि आर्थिक समस्या खेपिरहेका व्यक्तिमा बढी मानसिक समस्या देखिन थालेको छ । खासगरी, व्यवसायमा लगानी गरेर लगानी ठप्प भएका, जागिर गुमाएका, काम गर्न नपाएर भोकै बस्नुपरेका व्यक्तिहरूमा एन्जाइटी र डिप्रेसनको समस्या देखिने विभिन्न अध्ययनले देखाएको छ । मानसिक समस्या भोगिरहेका सबै व्यक्ति अस्पताल र चिकित्सकसम्म पुग्दैनन् । मानसिक रोग विशेषज्ञ डा. रितेश थापाको अनुभवमा बेराजगारीका कारण खान–बस्न नै सकस हुने वर्गमा मानसिक रोगको जोखिम बढी देखिन्छ । तर, अधिकांश मानसिक समस्याबारे अनभिज्ञ रहन्छन् । ‘दिनानुदिन मृत्युदर बढ्दै जानु, काम नहुँदा आर्थिक समस्या थपिनु, परिवार पाल्नै मुस्किल हुनु, जागिर खोसिनु, व्यापार व्यवसाय घाटामा पर्दै जानु जस्ता कारण हुन सक्छन् । आजको समयमा अधिकांशमा एन्जाइटी मुख्य समस्याको रूपमा देखिएको छ,’ उनी भन्छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना महामारीको सुरुवातमै यसले निम्त्याएको प्रतिकूल वातावरणका कारण विश्वव्यापी रूपमै मानसिक रोग मुख्य समस्या हुने जनाएको थियो । डा. थापाका अनुसार पछिल्लो समय बिरामीमा देखिएका लक्षणका आधारमा चिन्ता र दिक्दारी बढ्दै गएको छ । कतिपय ठाउँमा आत्महत्या प्रयासका घटना पनि आइरहेका छन् । उनी भन्छन्, ‘यस्ता समस्या निम्तिनुको मुख्य कारण आर्थिक समस्या हो । पुरानै जीवनशैलीमा फर्किन समय लाग्ने हुँदा दैनिक काम गरेर गुजारा गर्ने हरेक व्यक्तिमा आर्थिक समस्या भयावह हँुदै जानेमा शंका छैन । जसले स्वाभाविक रूपमा व्यक्तिमा एन्जाइटी डिसअर्डरको समस्या निम्त्याउँछ ।’

आत्महत्या बढ्नु महामारीको मनोसामाजिक असर
काठमाडौंका २७ वर्षीय एक युवकले गत साता आत्महत्याको प्रयास गरे । परिवारको सहयोगमा उनलाई अस्पताल लगियो, उपचारपछि हाल उनले मनोविद्सँग परामर्श लिइरहेका छन् । उनले मनोचिकित्सकको सम्पर्कमा रहेर औषधि सेवन गरिरहेका छन् । आत्महत्याका प्रयास गरेका यस्ता घटना मनोचिकित्सकहरूसमक्ष प्रशस्त पुग्ने गरेका छन् । ती युवकको उपचारमा संलग्न चिकित्सकका अनुसार लामो लकडाउनका कारण व्यवसाय ठप्प हुँदा ऋण बढ्दै गएपछि उनलाई तनाव थपिँदै गएको थियो । पहिले पनि डिप्रेसनको समस्या भोगिसकेका उनलाई आर्थिक समस्याका कारण सिभिएर डिप्रेसन भएको थियो । नियमित उपचार र परामर्शबाट हाल उनी सामान्य बन्दै गएका छन् ।

लकडाउनपछि आत्महत्याको दर बढ्नुलाई महामारीको मनोसामाजिक असर भएको बताउँछन्, मनोचिकित्सक डा. पुष्पप्रसाद शर्मा । ‘कोरोना भाइरस संक्रमणले आर्थिक, सामाजिक, मनोवैज्ञानिक, व्यापार व्यवसायमा आउने परिवर्तनका कारण मानिसमा मानसिक असर देखिइरहेका छन् । अहिले हामी महामारीको प्रारम्भिक चरणमा छौँ, कोरोनासँगै कसरी बाँच्ने भन्ने सिकिसकेका छैनौँ, जसले आममानिसमा आफू, परिवार र समाजको स्वास्थ्य र आर्थिक सुरक्षालाई लिएर त्रास पैदा गरिदिएको छ । जसको प्रत्यक्ष असर मानसिक स्वास्थ्यमा परिरहेको छ,’ शर्मा भन्छन् ।