मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असोज ९ शुक्रबार ०७:५६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोरोनाको जोखिम बढ्दै गएपछि नगरपालिका लकडाउन

Read Time : > 1 मिनेट
२०७७ असोज ९ शुक्रबार ०७:५६:००

बर्दियाको बारबर्दिया नगरपालिकाले असोज ९ गते रातिदेखि १४ गते रातिसम्म लकडाउनको घोषणा गरेको छ । कोरोना संक्रमणको दर बढ्दै गएपछि नगरपालिकाले लकडाउनको घोषणा गरेको हो । 

बारबर्दिया नगरपालिकाको कोभिड संकट व्यवस्थापन केन्द्रको शुक्रबार बिहान बसेको बैठकले लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउन अवधिभर सरकारी तथा गैरसरकारी कार्यालय, पसल व्यवसाय, बैंक तथा वित्तीय संस्था, शैक्षिक संस्थाहरू र यातायातलगायतका क्षेत्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ । 

अत्यावश्यक सेवा प्रवाह गर्ने दैनिक उपभोग्य पसलहरू, दूध, हरियो तरकारी, पानी, फलफूल र ग्यासलगायतका पसलहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म खुला गर्ने निर्णय गरेको छ । 

लकडाउनलाई प्रभावकारी बनाउन नगरपालिकाले वडाध्यक्ष र वडावासीलाई समेत जानकारी गराई प्रचारप्रसार गर्ने बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारूले बताए  । उनले कोरोनाको जोखिम बढेको कारणले  पुनः लकडाउन गरिएको बताए । 

त्यसैगरी नगरपालिकाले लक्षण नदेखिएका कोरोना संक्रमितहरूलाई अंशुवर्मा मावि जयनगरमा राख्ने र भारतलगायत तेस्रो मुलुकबाट आउनेलाई नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड प्रयोग गरी होम क्वारेन्टाइनमा बस्न लगाउनेलगायतका निर्णय गरेको छ । 

जिल्ला प्रशासन कार्यालय बर्दियाले बारबर्दिया नगरपालिकामा असोज १० गते बिहान ५ बजेदेखि असोज १४ गते मध्यरातसम्म निषेधाज्ञा जारी गरेको छ । नगरस्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र बारबर्दियाको अनुरोधमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । 

बारबर्दिया नगरपालिकामा हालसम्म ६५ जना कोरोना संक्रमित फेला परेका छन् । उनीहरूमध्ये ३१ जना कोरोना जितेर घर फर्किएका छन् भने एकजनाको कोरोनाका कारण मृत्यु भएको बारबर्दिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिल्लीराज शर्माले बताए   । 

गत मंगलबार बारबर्दिया नगरपालिका– ३ का वडाध्यक्ष ३९ वर्षीय सूर्यबहादुर थारूको कोरोना संक्रमणको कारण मृत्यु भएको थियो  ।