१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका
२०७७ असोज ९ शुक्रबार ०६:१९:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

नेपाली श्रमबजारमा शोषित नर्स

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२०७७ असोज ९ शुक्रबार ०६:१९:००

पछिल्लो तथ्यांकअनुसार नेपालमा ९५ हजारको हाराहारीमा नर्स छन् । अनमी ३४ हजार र नर्स ६१ हजार हाराहारीमा छन् । नर्सिङ अध्ययनमा महिलाको आकर्षण घटेको छैन । छोरीलाई पढाउन र स्वतन्त्र रूपमा पेसा अँगाल्न दिन नेपाली समाज राजी भएको धेरै भएको छैन । थोरै सहरियामा यसले ७० वर्षको समय पार गरेको होला, गाउँमा यसको फैलाव निकै पछि भएको हो ।

गएका २५ वर्षयता भने यसले बिस्तारै फड्को मार्दै गएको छ । यसको मुख्य कारण पढेर जागिर खान सके अलि सुबिस्तासँग जीवन बिताउन सकिन्छ भन्ने मान्यता बढ्दै जानु, महिलाले आत्मनिर्भरता र स्वाभिमानको बाटो पहिल्याउन शिक्षा मुख्य सहयोगी बन्नु पनि हो । सँगै पहिलेजस्तो पुरुषले मात्र जागिरे कमाइ गरेर परिवार पाल्न कमसेकम सहरिया निम्नमध्यम र मध्यम वर्गलाई असम्भव हुँदै जानु पनि यसको कारण हो । 

अहिले महिला सबैजसो पेसा तथा व्यवसायमा प्रतिस्पर्धा गरेर अघि बढिरहेका छन । तर, सहज र सुविधाजनक पेसामा पहुँच पुग्ने गरी उच्च शिक्षा हासिल गर्नेहरू भने अहिले पनि कम छन् । श्रमबजारमा आफूलाई सहज रूपमा रोजगारी मिलोस् भनेर पढाइको विषय रोज्ने महिलाका लागि अहिले पनि नर्सिङ आकर्षणको विषय रहेको छ ।

तर, यो आकर्षणको पिसाइमा परेर दुःख व्यहोर्ने नर्सको संख्या निरन्तर बढ्दै गएको छ । श्रमबजारमा यस्तो पेसाका लागि माग कति छ, सुविधा कति उपलब्ध हुन्छ भन्नेबारेमा राम्ररी अध्ययन नगरी यता फाल हाल्नेको संख्या बढेको र यो पढाइको माग पूरा गर्न नर्सिङ कलेज खोल्ने व्यापारीहरूको संख्या बढेकाले पनि यस्तो भएको हो । 

सरकारी अस्पतालमा नियुक्ति पाएर सेवा गर्नेका लागि श्रमअनुसार उचित पारिश्रमिक र सेवा–सुविधा नभइरहेको समयमा निजी अस्पतालले त नर्सको हुर्मत लिइरहेका छन् । निजी क्षेत्रले निरन्तर गरिरहेको नर्सहरूको श्रमशोषणको अन्त्य गर्न स्वास्थ्य मन्त्रालयले तत्काल हस्तक्षेप गरोस् ।

यतिवेला नर्सिङ पेसा सहरमा सबैभन्दा सस्तो श्रम बेच्नुपर्ने पेसामा बदलिँदै गएको छ । सरकारी अस्पतालमा नियुक्ति पाएर सेवा गर्नेका लागि समेत श्रमअनुसार उचित पारिश्रमिक र सेवा–सुविधा नभइरहेको समयमा निजी अस्पतालले त नर्सको हुर्मत लिइरहेका छन् । मासिक ६ हजारमा काममा लगाउने, १२ घन्टासम्म ड्युटी गर्ने नर्सलाई आवश्यक पर्ने पिपिईलगायत सुरक्षा उपकरण उपलब्ध नगराई काममा लगाउने गरिरहेका छन् ।

अस्पतालमा काम गर्दागर्दै, कोरोना संक्रमण हुँदासमेत उक्त अस्पतालमा बसेर उपचार गर्न नपाउने, संक्रमणका कारण आइसोलेसनमा बसेको समयको तलब कट्टा गर्ने, जागिरबाट हटाउने, सुत्केरी भएको तेस्रो सातामै काममा बोलाउनेजस्ता अमनवीय शोषणको सिकार भएको भनेर नर्सहरू आन्दोलित छन् । 

उनीहरूको मुद्दाको सम्बोधन गर्ने त कता हो कता, कसैले उनीहरूको कुरा पनि सुनेका छैनन् । बजारमा नर्सको मागभन्दा आपूर्ति बढी हुँदा यो समस्या उत्पन्न भएको हो भन्ने प्रस्टै बुझ्न सकिन्छ । अर्कोतिर हामीकहाँ नाफाखोरीमा लिप्त निजी क्षेत्र र निजी क्षेत्रप्रति अनगृहीत मानसिकताले ग्रस्त राज्यका कारण श्रमबजारमा श्रमिकको न्यूनतम पारिश्रमिकको व्यवस्था र श्रमशोषण गर्न नदिने काममा सरकार पूरै गैरजिम्मेवार छ ।

महामारीका समयमा नर्सिङ सेवामा रहेर खटिरहेका नर्समाथि भएको अत्याचार मात्र होइन, निजी क्षेत्रले निरन्तर गरिरहेको नर्सहरूको श्रमशोषणको अन्त्य गर्न स्वास्थ्य मन्त्रालयले तत्काल हस्तक्षेप गरोस् ।