१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नवीन प्यासी काठमाडाैं
२०७७ असोज ९ शुक्रबार ०५:४९:००
Read Time : > 4 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

सिनेमा गतिविधि ठप्प, पारिश्रमिक बढाउँदै कलाकार

Read Time : > 4 मिनेट
नवीन प्यासी, काठमाडाैं
२०७७ असोज ९ शुक्रबार ०५:४९:००

प्रदर्शनमा आएका ९० प्रतिशत सिनेमा असफल हुने ‘ट्रेन्ड’ छ, कोरोनाले ६ महिनादेखि सिनेमा बजार लगभग ठप्प छ, तैपनि नाम चलेका कलाकारले माग्न थाले बढी पारिश्रमिक

पछिल्लो समय नेपाली चलचित्र हलमा प्रदर्शन नभए पनि नयाँ चलचित्र घोषणा गर्ने काम भने भइरहेकै छ । निर्देशक दीपेन्द्र के खनालको ‘चिसो मान्छे’, सन्तोष सेनको ‘हुतुतु’, सौरभ चौधरीले निर्देशन गर्ने ‘प्रसाद २’, ‘दानराज’, ‘गोबर गणेश’, ‘बा’, ‘कृष्ण लीला’लगायत आधा दर्जनभन्दा बढी चलचित्र घोषणा भएका छन् । तर, कहिले सुटिङमा जाने भन्ने यकिन छैन । निषेधाज्ञा खुले पनि बढ्दो कोरोना संक्रमणका कारण निर्माता निर्देशक नयाँ सिनेमा घोषणा र सुटिङमा जान डराइरहेका छन् । अघिल्लो वर्ष सुटिङ पूरा भएका तर रिलिज गर्न बाँकी सिनेमाको सूची पनि लामै छ । 

कोरोनाका कारण सिनेमाका गतिविधि त्यति नभइरहेका वेला नाम चलेका कलाकारको पारिश्रमिकबारे चर्चा–परिचर्चा सुरु भएको छ । अहिले बाहिरिएका समाचारलाई आधार मान्ने हो भने चलचित्रको बजेटको करोडनजिकको हिस्सा नै कलाकारको पारिश्रमिकमा जाने देखिन्छ । केही समयअघि अभिनेता अनमोल केसीले एउटा सिनेमा खेलेबापत ४० लाख रुपैयाँ पारिश्रमिक लिएको समाचार बाहिरिएको थियो । तर, यसबारे उनले अहिलेसम्म मुख खोलेका छैनन् । प्रदीप खड्का, दयाहाङ राई, विपिन कार्की, पल शाह, पुष्प खड्का पनि महँगो पारिश्रमिक लिने कलाकारमा पर्छन् । भर्खरै अभिनेता आकाश श्रेष्ठले नयाँ चलचित्र ‘हिँड्दा हिँड्दै’का लागि महँगो पारिश्रमिक लिएको समाचार बाहिरिएको छ । तर, कति लिएको भन्ने उनले पनि खुलाएका छैनन् ।

                                                                            .......

कोरोना महामारीले चलचित्र उद्योग नै डामाडोल भएका वेला चल्तीका कलाकारले महँगो पारिश्रमिक लिँदा चलचित्रको बजेट बढ्ने देखिन्छ । यस्तो महामारीका वेला उद्योग बचाउने कि, दक्ष प्राविधिक पलायन हुनबाट जोगाउने कि कलाकारलाई पारिश्रमिकस्वरूप मोटो रकम दिएको समाचार छाप्ने ? बहस यहाँबाट सुरु गर्नुपर्ने अभिनेत्री स्वस्तिमा खड्का बताउँछिन् । भन्छिन्, ‘यस्तो वेला महँगो पारिश्रमिकको दौडभन्दा उद्योगमा सक्रिय दक्ष प्राविधिक, मेकअप आर्टिस्टलाई कसरी जोगाउने भन्नेतिर हाम्रो ध्यान जोडिनुपर्छ । र, यो महँगो पारिश्रमिकको खेल दुई–चार वर्षका लागि बन्द गरिनुपर्छ ।’

अहिलेको अवस्थामा महँगो पारिश्रमिकबारे कलाकार स्वयंले विचार गर्नुपर्ने निर्देशक केपी पाठक बताउँछन् । धेरै चलचित्र खेल्न अफर आए पनि अहिलेको विषम परिस्थितिलाई कलाकारले बुझिदिनुपर्ने धारणा राख्छन्, उनी । ‘हाम्रोमा कलाकारको महँगो पारिश्रमिकको विषय मिडियामा आइरहँदा के लाग्छ भने कलाकारले आफ्नो स्वार्थलाई मात्र सोचे । उद्योगलाई सोचेको देखिएन । कलाकारले आफूलाई बिक्ने चिज ठानेको मात्र देखियो,’ पाठक भन्छन्, ‘निर्माताहरूमा पनि समस्या छ । कलाकारलाई महँगो पारिश्रमिक किन दिने ? स्क्रिप्टमा दिए हुन्छ नि । कलाकारले चलचित्र चल्ने अवस्था खासै देखिएको छैन । दर्शक त कथा मन परेपछि आउने हुन् ।’

कलाकारका कारण मात्र चलचित्र चल्दैन भन्ने उदाहरण अनमोल केसीको ‘क्याप्टेन’ र प्रदीप खड्काको ‘रोज’ले प्रमाणित गरेको उनी बताउँछन् । दर्शक स्टार हेरेर हलमा खासै नजाने र स्टारडम भए पनि तुरुन्त नचल्ने उनको भनाइ छ । अहिले चलेको अनुहार देखाएर मात्र चलचित्र चल्ने अवस्था नदेखिएकोबारे निर्माता अवगत भए पनि त्यसअनुसार काम नगरेर स्टारडमकै पछि लाग्नाले भोलिका दिनमा यसको मूल्य चुकाउनुपर्ने पाठकको विश्लेषण छ । ‘यस्तो परिवेश बन्नुमा निर्मातालाई आफ्नो कथाप्रति विश्वास नभएर हो,’ पाठक भन्छन्, ‘यस्तो वेलामा पनि महँगो पारिश्रमिक दिएर कलाकार लिने हो भने चलचित्र टेबलमै डुब्छ । यसै पनि ९० प्रतिशत चलचित्र असफल हुने गरेको अवस्थामा चलेको अनुहार देखाएर चलचित्र चलाउँछु भन्ने सोच नै बेकार हो ।’ 

                                                                                 ......

लकडाउनको सुरुवाती चरणमा अभिनेता तथा निर्माता दीपकराज गिरी नयाँ चलचित्रको स्क्रिप्ट लेखिरहेका थिए । लकडाउन नभएको भए यतिवेला उनको टिमको चलचित्रको सुटिङ सकिएर प्रदर्शनका लागि पालो कुरेर बसेको हुन्थ्यो । कोरोनाकै कारण गिरीले स्क्रिप्ट लेखनको गति घटाएका छन् । अहिले उनलाई लागेको कुरा हो, अब चलचित्र बनाउन हतार गर्नुहुन्न । ‘भोलि के हुन्छ थाहा छैन, चलचित्रको ट्रेन्ड परिवर्तन हुन सक्छ । हामी सामाजिक कथामा चलचित्र बनाउने भएकाले समाज कसरी अगाडि बढ्छ, आकलन गर्न गाह्रो छ,’ गिरी भन्छन्, ‘अहिले गर्ने भनेको केही खाका तयार गरेर बस्ने नै हो । चलचित्र बनाइहाल्ने हतार छैन ।’

अहिले जसरी कलाकारको पारिश्रमिकलाई लिएर समाचार आइरहेका छन्, यसको कारक निर्माता नै रहेको उनी बताउँछन् । पहिलो कुरा त, नेपाली चलचित्रको सफलताको दर एकदमै न्यून छ । ९० प्रतिशतभन्दा बढी चलचित्र असफल हुने गरेका छन् । यस्तो हुनुको कारणबारे गिरी भन्छन्, ‘चलचित्रबारे केही थाहा नहुने निर्माता दुई करोड लिएर आउँछन्, दुई लाख लिएर जान्छन् ।’ यस्तै परिवेशमा मात्र कलाकारले पारिश्रमिक महँगो लिने गरेको उनको भनाइ छ । भन्छन्, ‘नत्र कलाकारले राम्रो निर्माता र निर्देशकसँग महँगो पारिश्रमिक लिन्छन् जस्तो लाग्दैन ।’

गिरीको बुझाइ छ, कलाकारले चलचित्रमा दुईवटा कुरा हेर्छन्– एउटा जुनुनले बनेका निर्माता र अर्को स्वार्थले बनेका निर्माता । सही पारिश्रमिक हुनलाई निर्माता कति व्यावसायिक हो भन्ने विषय प्रमुख रहने उनको निष्कर्ष छ । ‘निर्माताले यस क्षेत्रमा भविष्य देखेर आउनुपर्छ । चलचित्र बुझेर आउनुपर्छ । कुनै चलचित्रले १६ करोड कमायो भन्ने सुनेर लोभिएर अउने होइन,’ गिरी भन्छन्, ‘कसैकसै निर्मातालाई भने नाम मात्र चाहिएको हुन्छ । टेलिभिजन र पत्रपत्रिकामा आउने अन्तर्वार्ताका लागि लगानी गरेका हुन्छन् । यस्तो उद्देश्यका साथ चलचित्रमा लगानी गरेपछि त कलाकारले जति पनि पैसा लिन्छन् नि । राम्रो कलाकार, निर्देशकले ४० लाख त लिइहाल्छ नि !’ 

                                                                                       ......

अहिले पारिश्रमिकलाई लिएर जति पनि विषय आइरहेका छन्, यो नयाँ नरहेको अभिनेत्री स्वस्तिमा खड्का बताउँछिन् । महामारीअघि पनि उद्योग ‘जिरो लेभल’मै रहेको, त्यस्तो भयंकर अवस्था नरहेको उनको भनाइ छ । अहिले जति पनि चलचित्र घोषणा भएका छन्, सबैको सुटिङ कोरोनाको कहर सामान्य भएपछि नै हो, यसमा द्विविधा छैन । तर, बजेटकै विषय चलचित्रको कथाअनुसार भए पनि पारिश्रमिक पहिला पनि महँगो लिने अवस्था नभएको खड्काको तर्क छ । ‘पहिला पनि पारिश्रमिक महँगो लिने अवस्था थिएन, झनै अहिले त छँदैछैन । पहिला पनि कसैले २० लाख लिएको समाचार प्रकाशित गरे अर्कोले २१ लाखको समाचार आइहाल्थ्यो । बढी पारिश्रमिकले ठूलो स्टार बनाउँछ भन्ने संस्कृति आफैँमा खराब हो,’ खड्का भन्छिन्, ‘तर, अहिले त कलाकारलाई पारिश्रमिकभन्दा पनि चलचित्र क्षेत्रको दक्ष प्राविधिकलाई कसरी बचाउने भन्ने कुरा ठूलो हो । उहाँहरूको काम छैन, आर्थिक अवस्था खराब छ । यो वेला हामीले पारिश्रमिकको लफडा छाडेर सकेको सहयोग उहाँहरूलाई गर्नुपर्छ ।’ पारिश्रमिक धेरै लियो भनेकै आधारमा कसैलाई स्टार मान्नु आफैँमा समस्या रहेको खड्काको मत छ । धेरै लियो भने स्टार र कम लियो भने केही नहुने भन्ने मान्यता गलत रहेको 
उनी बताउँछिन् ।