१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असोज ८ बिहीबार १९:३०:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले बेंसीसहर–चामे सडक अवरुद्ध

Read Time : > 1 मिनेट
२०७७ असोज ८ बिहीबार १९:३०:००

हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेंसीसहर–चामे सडक पहिरोले अवरुद्ध भएको छ । निरन्तरको वर्षाले लमजुङतर्फका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । बेंसीसहर नगरपालिका– ६ को खरखरेभिर, मर्स्याङ्दी गाउँपालिका– ४ को घोप्टेभिरलगायतको ठाउँमा पहिरो गएको छ ।

डुम्रे–बेंसीसहर–चामे सडक आयोजनाका सबइन्जिनियर सुमन अधिकारीले बुधबार बिहानदेखि निरन्तर परेको वर्षाका कारण बेंसीसहर–चामे सडक अवरुद्ध भएको बताए । उनका अनुसार खरखरेभिरमा पहिरो खसेर सडक अवरुद्ध हुँदा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । निरन्तर पानी परेकाले पहिरो झरिरहेको छ । पानी नरोकिएसम्म बाटो खुलाउन  सकिँदैन । 

मर्स्याङ्दीको घोप्टेखोलामा बेलिब्रिज राख्ने तयारी गर्दा माथिबाट पहिरो खसेकाले काम रोकिएको अधिकारीको भनाइ छ । पहिरोका कारण मनाङ र लमजुङको मर्स्याङ्दी गाउँपालिकाका नागरिक समस्यामा परेका छन् । 

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी गंगाबहादुर थापाले निरन्तर वर्षाका कारण ठाउँठाउँमा पहिरोले सडक पुरिँदा सडक अवरुद्ध भएकोे बताए । उनले भने, ‘बुधबार बिहानदेखि निरन्तर पानी परिरहेकाले पहिरो पन्छाउन सकिएको छैन । बेसीसहर र मनाङ सदरमुकाम चामे जोड्ने सडक निर्माण भएको २४ वर्ष पुग्दा पनि नागरिकहरूले सधैँको सास्ती व्यहोर्नुपरेको छ ।’ 

सडक विभागमातहतको उक्त सडक डिभिजन सडक कार्यालय दमौलीले हेर्दै आएको छ ।  नेपाली सेनाले १९ वर्ष लगाएर बनाएको सडक विभागलाई जिम्मा लगाएको थियो । लमजुङको सदरमुकाम बेसीसहरबाट मनाङको चामेसम्म ६५ किलोमिटर दूरी रहेको सडक पार गर्न सवारीसाधनलाई ६ घन्टा लाग्छ ।

सडक विभागले आर्थिक वर्ष २०५१–०५२ मा बेसीसहर–चामे सडक निर्माण थालेको थियो । द्वन्द्वका कारण सडक निर्माणमा कठिनाइ भएपछि ०५७ मा तत्कालीन शाही नेपाली सेनालाई जिम्मा लगाएको थियो । निर्माण सुरु भएको १९ वर्षपछि तीन वर्षअघि मात्र सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको हो । यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर रहेको छ ।