मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
२०७७ असोज ८ बिहीबार १४:०२:००
Read Time : > 2 मिनेट
फिचर डिजिटल संस्करण

बलिउडको लागुऔषध कनेक्सन : यी चर्चित कलाकार पनि कुनै वेला दुर्व्यसनमा थिए

Read Time : > 2 मिनेट
२०७७ असोज ८ बिहीबार १४:०२:००

नायक सुशान्तसिंह राजपुतको आत्महत्यासँगै बलिउडमा फेरि एकपटक लागुपदार्थ ‘ड्रग्स’बारे बहस चलेको छ । बलिउडका नायक–नायिकाको ‘ड्रग्स’सँगको सम्बन्धको चर्चा निकै पुरानो हो । कहिलेकाहीँ केही साम्य भए पनि चलचित्रकर्मीले प्रतिबन्धित लागुऔषध सेवन गरेको समाचार वा घटना भारतीय सञ्चारमाध्यममा हटकेक बन्ने गरेका छन् । 
यसअघि बलिउड र ड्रग्सबीचको कनेक्सन त्यत्तिकै सेलाएर जान्थे, तर यसपटक त्यत्तिकै सेलाउने छनक देखिँदैन । सुशान्तको पोस्टमार्टम रिपोर्टले उनी लामो समयदेखि लागुऔषध प्रयोगकर्ता रहेको खुलाएको छ । यद्यपि मानसिक तनावबाट मुक्त हुन उनले लागुऔषध सेवन गरेको प्रेमिका रिया चक्रवर्तीको भनाइ छ । सुशान्तलाई लागुऔषध उनकी प्रेमिका रियाले नै उपलब्ध गराउने गरेको पनि खुलेको छ । प्रहरीसमक्ष रियाले सुशान्तलाई ड्रग्स उपलब्ध गराएको बयान दिएकी छिन् । अहिले सिबिआईले सुशान्तको आत्महत्यासँग सम्बन्धित शंकास्पद व्यक्तिहरूलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । 

सुशान्तको मृत्युसँगै बलिउडमा ‘नातावाद र कृपावाद’ चल्ने बहस नायिक कंगना रनौटले निकालिन् । कंगनाले यतिसम्म भनिन् कि बलिउडका ९० प्रतिशत व्यक्ति ड्रग्सको कुलतमा छन् । सुशान्तकी पे्रमिका रियाले पनि ८० प्रतिशत बलिउडकर्मी ‘ड्रग्स एडिक्स’ रहेको दाबी गरेकी छिन् ।

भारतीय मिडियाहरूको रिपोर्टअनुसार यसअघि पनि बलिउडमा लागुऔषध लिने यी नायक–नायिकाको नाम पटकपटक चर्चा हुन्थ्यो :

सञ्जय दत्त : आमाको निधनपछि लागुऔषधको सहारा

बलिउडमा ड्रग्सबारे चर्चा हुँदा सञ्जय दत्तको नाम अग्रसूचीमा आउँछ । सन् १९८० को दशकमा उनी एकपटक ड्रग्ससहित पक्राउ नै परेका थिए । आमाको निधन तथा फिलिम नचलेपछि उनको साथी नै लागुऔषध बनेको थियो । केही वर्षअघि उनको जीवनीसँग सम्बन्धित भएर बनेको सिनेमामा सञ्जयले यसको बयान पनि गरेका छन् । सञ्जयले लागुऔषधबाट मुक्त हुन भारतमा उपचार नभएपछि अमेरिका पुगेको बताएका छन् । साथीहरूको भनाइ मान्ने हो भने सञ्जयले संसारमा प्राप्त हुने सबै किसिमका ड्रग्स चाखेका छन् । अहिले सञ्जय भारत लागुऔषधमुक्त राष्ट्र हुनुपर्ने संस्थाका सक्रिय सदस्य छन् । 

फरदिन खान : प्रयोगकर्तादेखि एजेन्टसम्म

सन् २००१–१० सम्म फरदिन खान बलिउडमा चलेका कलाकारमा गनिन्थे । फिल्मी क्षेत्रमा सफल भइरहे पनि निजी जीवन भने खासै राम्रो थिएन । सिनेमासँगै लागुऔषध सेवनमा फरदिन फसेका थिए । बिस्तारै लागुऔषध सेवनको मात्रा बढाएका फरदिन यसको कारोबार गर्ने एजेन्टसमेत बनेका थिए । सन् २००१ मा एक ग्राम कोकिनका साथ उनलाई जुहुको एटिएम बुथमा नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले पक्राउ ग¥यो । एनसिबीले फरदिनलाई कोकिन बिक्री गरिरहेको अवस्थामै पक्राउ गरेको थियो ।
उनको खल्तीबाट थप १५ ग्राम कोकिन बरामद भएको थियो । एनसिबीले फरदिनलाई एनडिपिएसअनुसार सेक्सन २१ ए र २८ सी अनुसार गिरफ्तार गरी मुद्दा चलायो । सन् ०१२ मा अदालतले फरदिनको पक्षमा आदेश सुनायो । त्यसपछि फरदिन ड्रग्स कुलतबाट छुटकारा पाउन विभिन्न संस्थामा आबद्ध भए । 

ममता कुलकर्णी : पतिसँग मिलेर ड्रग्स कारोबार 

सन् १९९० की बोल्ड एन्ड ब्युटी नायिक ममता कुलकर्णीले ड्रग्स ¥याकेट नै चलाएको खुलासा भएको थियो । ममतासँग दुई हजार करोडको ड्रग्स ¥याकेट मुद्दा चलिरहेको छ । सन् २०१६ मा केन्यामा आयोजना हुन लागेको ड्रग्स स्मलिङ मिटिङमा ममता पति बिक्की गोस्वामीसँगै भाग लिन पुगिन् । भारतमा बिक्कीको ड्रग्स स्मलिङ कारोबार ठूलो मानिएको छ । यद्यपि ममताले अहिलेसम्म आपूm कुनै पनि लागुऔषध कारोबार गर्ने समूहसँग नहिँडेको दाबी गर्दै आएकी छिन् । 

पूजा भट्ट : प्रयोगकर्ता भएको ट्विटरमै स्वीकार

 

चर्चित निर्माता महेश भट्टकी छोरी पूजा भट्टले सामाजिक सञ्जाल ट्विटरमै लागुऔषध सेवन गरेको खुलाएकी छिन् । ‘मानिस किन लागुऔषधनजिक हुन्छन् र किन यसलाई छाड्न नसकिने टिप्पणी...’ भनेर पूजाले सामाजिक सञ्जालमा लेखेकी छिन् । ‘जब जीवनमा केही बाँकी रहँदैन अन्तिम विकल्प भनेकै लागुऔषध सेवन गर्नु हो,’ पूजाले ट्विट गरेकी छिन् । 

विजय राज : गाँजासहित एयरपोर्टमै पक्राउ

हास्यकलाकार विजय राज सन् २००५ मा गाँजासहित युएईको अबुधाबीस्थित विमानस्थलमै पक्राउमा परे । त्यस समयमा विक्रम भट्टले आबुधाबीमा ‘दिवाना हुवे पागल...’ फिल्मको सुटिङ गरिरहेका थिए । उनी यसै फिल्मसँग आबद्ध थिए ।
विमानस्थलका प्रहरी अधिकारीलाई गाँजा कसरी लगेजमा आएको थाहा नपाएको विजय राजले जनाए । प्रहरीले उनको लगेजबाट ६ ग्राम गाँजा बरामद गरेको थियो । सबै पक्षको अनुसन्धानपछि अबुधाबी प्रहरीले उनलाई रिहा ग¥यो । प्रहरीबाट मुक्त भए पनि विजय राज ड्रग्सको प्रयोगकर्ता भएको दाबी गर्नेहरू धेरै छन् । 

प्रतीक बब्बर : लागुऔषध सेवन स्वीकार 

बलिउडमा सन् १९७०–९० सम्म राज बब्बर खुबै प्रसिद्ध कलाकार थिए । उनका छोरा प्रतीक बब्बर पनि बलिउडमै थिए, तर जम्न सकेनन् । बरु उल्टै नराम्रो काण्डमा प्रतीकले चर्चा पाए । प्रतीकले एक अन्तर्वार्तामा भनेका थिए, ‘मैले १३ वर्षदेखि नै लागुऔषध सेवन गर्दै आइरहेको छु ।’ यो अन्तर्वार्तापछि पिता राज बब्बरको होसहवास नै उड्यो । प्रतीकले सुरुमा गाँजा सेवन गरेको र पछि अन्य लागुऔषधको लत बसेको बताए । 

–एजेन्सीको सहयोगमा